संर्घष र सफलता : विद्यालय खोल्ने स्वीकृति पाउन गाह्रो भयो

सिर्जना बुढाथोकी

सुर्खेत,१२ मंसिर ।

कठिनाइमै बितेको बाल्यकाल

मेरो जन्म वि.सं. २०११ साल भदौ ८ गते हालको सुर्खेतको पञ्चपुरी नगरपालिकामा भएको हो । हामी तीन भाई चार बहिनी हौ । सात भाई बहिनीमध्यको कान्छो सन्तानको रुपमा मेरो जन्म भएको हो । मेरो बुवा पेशाले इण्डियन आर्मी तर जागिरकै शिलशिलामा लडाईमा हुँदा भागेर आउनुभएको मेरो बुवाले जागिर बीचमै छोड्नुभयो ।

गाउँमा जन्मिएकोले खेतीपातीमै दिन बित्थ्यो । गाउँघरमा पहिला कामकै लागि धेरै संख्यामा छोराछोरी जन्माउने हुन्थ्यो । बाल्यकाल कठिनाईमै बितेको हो मेरो । विद्यालय हुदैन थिए र पढ्नै पर्छ भन्ने हुदैन थियो त्यो समयमा । त्यस्तो समयमा जन्मिएको म अलि भिन्न चाहि थिए। जसका कारण पढ्नेदेखि विद्यालय खोल्नेसम्मको काम मैले गर्ने सौभाग्य पाएँ ।

मैले आफ्नो बाल्यकाल बुवाआमा दाईदिदीलाई घरको काममा सघाएरै बित्यो त्यसैले त मैले १३ वर्षको उमेरबाट मात्रै पढ्ने अवसर पाएँ । पहिले एस.एल.सी गर्नेपनि ठूलै मास्टर हुन्थे । १३ वर्षको उमेरमा गाउँकै विद्यालयमा कक्षा १ मा पढे र कक्षा ५ सम्म पढे । त्यसपछि मैले बुवालाई म धेरै पढ्न चाहेको कुरा सम्झाएर वीरेन्द्रनगर आएर कक्षा ६ मा भर्ना भएँ । मलाई वीरेन्द्रनगर पढाउन ल्याउने मेरा आदर्णीय गुरु लक्ष्मीनाथ आत्रेय हुनुहुन्थ्यो ।

उहाँ पहिला त्यहाँको कविराज पनि हो । उहाँले मलाई  साह्रै  सहयोग गर्नुभएको हो । उहाँले आफ्नो सैना (मितिनी) लगाएको दिदीको घरमा मलाई राखेर पढाउनुभयो । गाउँबाट आएकोले मलाई पढ् नपनि निकै सकस भयो । पढ्दै जाँदा मैले राम्रोसंग पढ्न नसकेर बजेडीचौरबाट एस.एल.सी दिएको  हु ।

बजारभन्दा गाउँमा अलि केहि सहज होला भनेर मैले फर्म त भरे तर दुई पटक सम्म एस . एल . सी फेल भएँ । प्रयास गर्दै जाँदा तेश्रो पटकमा मैले त्यहिंबाट पास गरे । अनि लोकसेवा तयारी गरेर दिए र पास भएँ । अनि तालिम लिनका लागि काठमाण्डौं गएँ ।

यसरी जन्मियो इगरब्रिज

आर्थिक रुपमापनि कमजोर भएकाले मैले आफै कमाउनुपर्ने अवस्था थियो । अब मैले पढ्नभन्दा पनि जागिर गर्ने योजना बनाएँ । किनकी अभावले मलाई कमाउन सिकायो । काठमाण्डौंमै जागिर गर्दै पढ्दै गरेर यसरी मैले बी.एडसम्म पढे त्यो भन्दामाथि पढ्न सकस भयो ।

त्यसपछि वि.सं. २०३१ सालमा मैले सुर्खेतकै राधाकुमारी कँडेलसंग विवाह गरे । विवाहपछि पनि म काठमाण्डौंमै जागिर गरेर बसे । त्यसपछि मैले वि.सं. २०३९ सालमा वीरेन्द्रनगरमा फर्किए। म सुर्खेत आउँदा यहाँ केहि साथीहरुले उषा बालवाटिका स्कुल खोलिसक्नु भएको थियो र दार्जिलिङ्गबाट केहि शिक्षकहरु ल्याएका रहेछन् ।

बीचमा केहि समस्या आएपछि दार्जिलिङ्गका साथीहरुले अर्को स्कुल रोज ल्याण्ड नामक विद्यालय खोलेका थिए । मैले पनि सुर्खेतको भविष्यलाई मध्यनजर गर्दै अग्रजहरुको सल्लाह लिएर केहि गर्नुपर्छ भन्ने योजना बुन्न थाले र ट्युसन सेन्टर खोले । संग संगै त्यसपछि वि.सं. २०४२ साल फागुन २ गते इगरब्रिज बोर्डिङ्ग खोले ।

विद्यालय खोले पनि त्यो समयमा ३० जना विद्यार्थी थिए । विद्यार्थीहरु कमै हुन्थे । पचास रुपैयाँ थियो पढेको पनि एउटा कक्षाको मासिक शुल्क । यसरी मलाई विद्यालय चलाउन निकै सकस भयो । बडो मुश्किलले मैले विद्यालय चलाएँ । त्यसपछि खोलेको केहि समयमै माओवादी जनयुद्धको प्रभावमा म पनि परे ।

वि.सं. २०५८ सालमा विद्यालयहरु सबै बन्द गरे जुन प्राइभेट विद्यालयहरु थिए । शिक्षक पनि धेरै नहुने भएपनि अनुभवी खासै नहुने भएकाले मैले काठमाडौं बुढानीलकण्ठ विद्यालयमा पढाउने एक जना शिक्षकलाई मैले मेरो विद्यालयमा ल्याएर आएँ । मेरा तीन वटा छोराछोरीले पनि आफ्नै विद्यालयमा पढेर सके । मेरो विद्यालयको पहिलो ब्याचको हो मेरो माइलो छोरो ।

जुन बेला ५ जना थिए विद्यार्थी कक्षा १० मा । तर राम्रो पक्ष राम्रो अंक ल्याएर ती ५ जना नै एस.एल.सी पास गरेर विद्यालयको मान राखेका थिए । जसले मलाई केहि गर्ने हौसला प्रदान गरेको थियो ।

स्थापित हुँदाको संघर्ष

यो पेशामा स्थापित हुन मैले निकै दुःख गरेको थिएँ । जुन समय प्राइभेट विद्यालय बन्द गरे माओवादीले मैले उनीहरुको कार्यक्रममा सहभागी भएर अवलचिङ्गमा गएको थिएँ, किनकी मलाई मेरो कमाई खाने भाँडो मेरो विद्यालय खुलाउनु थियो । उनीहरुको माग आफ्ना जेलमा परेका कार्यकर्तालाई छुटाइदिनुपर्ने माग थियो तर त्यो पहुँचमा हामी थिएनौ । त्यो समयमा एउटा विद्यार्थीको चार सय मासिक शुल्क थियो । त्यो शुल्कपनि घटाउनुपर्ने पनि माग थियो ।

उनीहरुको माग पूरा नभएपछि विद्यालय एक वर्ष बन्द भयो । बन्द भएपछि रोजीरोटी नै गुमेकाले हामीले पुरानो विद्यालयको नामबाट पुनः उषा बालवाटिका विद्यालय खोल्यौ । म त्यो समयमा प्याब्सनको जिल्ला अध्यक्ष थिएँ । एक वर्ष पछि फेरि विद्यालय खुले अनि सहज रुपमा विद्यालय चलाउन शुरु गरे ।

विद्यालय चलाउँदै जाँदा पढाईको हिसाबले नतिजाको हिसाबले मेरो विद्यालय अब्बल सावित भयो । पहिलो विद्यालयको रुपमा स्थापित भयो र दोस्रोमा रोजल्याण्ड विद्यालय थियो । बीचमा कहिकतै राजनीतिक पाटोमा पनि जोडिने अवसर आयो । पार्टीमा पनि एउटामा हुँदा अर्को रिसाउने समस्या पहिलेदेखिनै हो ।

खास मैले आस्था राखेको पार्टी भन्दा फरक पार्टीका व्यक्ति विद्यालय दर्ता गर्ने ठाँउमा  भनेको समयमा मैले विद्यालय दर्ताको लागि समर्थन पाएनँ । निकै सकसपूर्ण तरिकाले मैले विद्यालय खोल्न संघर्ष गरे । यो बीचमा अनेकौं समस्या आए, भोगियो तर जीवनमा पाठ सिकाएर गए आउने हरेक समस्याले । जीवन जिउन सिकाए । संघर्षनै जीवनको मुख्य पाटो रहेछ भन्ने चिनायो ।

समग्रमा भन्नुपर्दा म जे छु मेरो विद्यालय जुन स्थानमा छ सबै मेरो कर्मको फल हो । मलाई चिनाउने मेरो विद्यालय र विद्यालय प्रतिको संघर्ष हो । म यसमा खुशी छु। विद्यालय संगै म सुन्दर नेपाल संस्थासंग पनि जोडिने अवसर पाएँ ।

तपाईको प्रतिक्रिया