फ्रान्स नकआउट चरणमा

दोहा,११ मंसिर ।

फ्रान्स विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । केलियन एमबाप्पेप्रेरित फ्रान्सले शनिबार डेनमार्कलाई २–१ ले पराजित ग¥यो । लगातार दोस्रो खेलमा विजय हात पारेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स समूह चरणको एक खेलअगावै अन्तिम १६ मा पुगेको हो ।

फ्रान्सले अन्तिम खेल ट्युनिसियाविरुद्ध खेल्नेछ, जसले फ्रान्सका लागि समूह विजेताको खेलको अर्थ राख्नेछ । पहिलो हाफको गोलरहित बराबरीलाई चिर्दै एमबाप्पले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई ६१ औं मिनेटमा अग्रता दिलाएका थिए ।

एन्ड्रेज क्रिस्टियन्सेनले हेडमा गोल गरेपछि डेनमार्कले ६८ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । तर एन्टोइन ग्रिजमनको लामो पासमा २३ वर्षे एमबाप्पेले नजिकको दूरीबाट गोल गरेर फ्रान्सको विजय निश्चित गरेका थिए ।

अस्ट्रेलियाको पहिलो विजय

अस्ट्रेलियाले अन्तिम १६ मा पुग्ने आशा जीवितै राख्नेक्रममा शनिबार ट्युनिसियाविरुद्ध १–० को विजय हात पारेको छ । विश्वकप इतिहासमै टोलीको यो तेस्रो जित हो । स्ट्राइकर मिचेल डुकले २३ औं मिनेटमा गरेको हेड गोल अस्ट्रेलियालाई विजय दिलाउन पर्याप्त बन्यो ।

ट्युनिसियाका बाक्लो समर्थकको हुटिङमाझ गोल गरेका डुकले उक्त गोल छोराप्रति समर्पित गरे । विश्वकपका लागि अस्ट्रेलियाली टोलीमा परेपछि उनले आफ्नो छोरालाई भनेका थिए । त्यसपछि छोराले उनलाई राम्रो खेल्न प्रेरित गरेका थिए । डुकले विश्वकपमा गोल गरे छोराको नाममा खुसी मनाउने प्रतिबद्धता जनाएका थिए ।

पहिलो खेलमा अस्ट्रेलिया फ्रान्ससँग ४–१ ले पराजित भएको थियो । अन्तिम खेलमा डेनमार्कलाई पराजित गरेमा अस्ट्रेलिया नकआउट चरणमा पुग्नेछ ।

लेवान्डोस्कीको पहिलो गोल

रोबर्ट लेवान्डोस्कीले विश्वकपमा पहिलो गोल गरेपछि पोल्यान्डले शनिबार साउदी अरेबियामाथि २–० को विजय हात पारेको छ । यस नतिजाले समूह ‘सी’ सबैका लागि खुला भएको छ । साउदीले पहिलो खेलमा दाबेदार अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको थियो ।

मेक्सिकोसँग पहिलो खेलमा पोल्यान्ड गोलरहित बराबरीमा रोकिँदा बार्सिलोनाका स्ट्राइकर लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, ८२ औं मिनेटमा गोल गरेपछि उनी विश्वकपकै आफ्नो पहिलो गोल भएका कारण भावुक हुन पुगेका थिए । लेवान्डोस्कीकै पासमा पियोटर जिलिन्स्कीले पोल्यान्डलाई ३९ औं मिनेटमा अग्रता दिलाए ।

मध्यान्तर हुनु ठीकअगाडि क्रिस्टियन बिलिकले सालेह अल सेहरीलाई लडाएपछि साउदीले पेनाल्टी पाएको थियो । तर सलिम अल–दावसारीको पेनाल्टी प्रहार पोल्यान्डका गोलरक्षक विज्सिएच स्जेस्नीले बचाउ गरेका थिए । सन् १९८६ यता पहिलोपल्ट नकआउट चरणमा पुग्ने आसमा रहेको पोल्यान्डले त्यसका लागि अन्तिम खेलमा अर्जेन्टिनालाई पन्छाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया