विद्युत अभावले सताएको दुनाटपरी उद्योग

पुनम वि.सि.

सुर्खेत,८ मंसिर ।
सालको पातमा आधारित भएर नेपालमा थुप्रै लोकगीतहरु रचिएका छन, गाइएका छन् । गीतमा समेत स्थान पाउने भनेपछि सालको पात र नेपाली ग्रामीणजको सम्बन्ध निकै बलियो र पुरानो रहेको सजिलै बुझन सकिन्छ । किनपनि भने सालको पात र त्यसबाट बनेका दुनाटपरी बिना हिन्दू नेपालीहरुको जन्मदेखि मृत्युसम्मका संस्कार पूरा हुँदैनन् । न्वारनदेखि श्राद्धसम्म, व्रतवन्धदेखि बिहेसम्म र दशैंदेखि हरेकजसो चाडपर्वसम्मका संस्कारमा दुना टपरी अनिवार्य नै हुन्छ, नेपाली समाजमा ।

 गाउँघरतिर भोज भतेरमा सालको पातले बनेका दुना टपरी नै प्रयोग हुन्छ । दशैंमा टीका थापेपछि सालका दुनाटपरीमा सेल÷फिनी रोटी, छिप्पिएको काँक्रोको खाँदेको अचार र केरा राखेर दिइन्छ । तिहारमा दिदी बैनीले भाईटीका लगाइदिएपछि ठूलो टपरीमा रोटीका परिकार, मसला, फलफूल राखेर दिँदाको रौनक नै अर्कै हुन्छ ।

कसैका घरमा बिहे, व्रतवन्ध र चाडपर्व आउनु महिना दिनअघि वन जंगलबाट मुठाका मुठा सालका पात ल्याइन्छ । घरका महिला एकै ठाउँमा बसेर दुःख सुखका गफ गर्दै बाँसका मसिना छेस्काले दुना र टपरी बुन्नेगर्छन् । परम्परागत यहि सीपलाई व्यवसायिक रुप दिनका लागि मशिनबाट दुनाटपरी बनाउने उद्योगपनि अहिले सुर्खेतका स्थापना भएको छ । ‘

जंगलमा सालका पातहरु यसै झर्दै, मर्दै खेर गइरहेका छन्, समुदायमा समेत रोजगारीको अभाव छ ।’ यहि कुरालाई मनन् गर्दै वीरेन्द्रनगर–४ मा महिलाहरुको समूह बनाएर दुनाटपरी उद्योग सञ्चालनमा ल्याउने योजना बन्यो । कर्णालीको बजारमा दुना टपरीको माग कायमै छ, यो अवस्थामा उद्योगका लागि बजारको पनि समस्या पर्ने अवस्था थिएन ।

वीरेन्द्रनगर–४ स्थित भैरम सामुदायिक वन उपभोक्ता समितिले समुदायमा महिलालाई स्वरोजगार बनाउने उदेश्यका साथ ‘भैरम महिना दुना टपरी उद्योग’ सञ्चालनमा ल्याउने योजना बनायो । विभिन्न संघसंस्था तथा स्थानीय तहको सहयोगमा उद्योगले दुला टपरी मेशिन पनि अनुदानमा पायो । स्थानीय इन्द्रा चालिसेको संयोजकत्वमा उद्योग सञ्चालन हुने भयो ।

समुदायका करिव १५ जना महिला उद्योगमा प्रत्यक्ष रुपमै सहभागी भए । नजिकै रहेको सामुदायिक वनमा सालका पात प्रशस्तै थिए । पातको छनौट, टपरीको खेस्रा निर्माण तथा मेशिन सञ्चालनका लागि महिलाहरुले तालिम पनि लिए। तर अहिले पनि यो उद्योग सञ्चालनमा आउन सकेको छैन । यसको मुख्य कारण हो, उद्योगलाई ऊर्जा संकट ।

उद्योगमा टुनाटपरी मेशिनका लागि आवश्यक विद्युत आपूर्ति नहुँदा महिलाहरुले अहिले सो व्यवसायलाई निरन्तरता दिन सकेका छैनन् । ‘अहिले जडान भएको विद्युतले मशिनको डाई समेत तात्तिदैन। यसैकारण महिला समूहले उद्योग सञ्चालन गर्न नसकेको हो’, भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले भने ।

समूहसँग रहेको दुना टपरी मेशिनको हाल बजार मुख्य पाँच लाख रुपैयाँ हाराहारी छ । यस मेशिनको सहायताले महिलाहरुले दैनिक एक हजार सम्म दुना–टपरी सजिलै उत्पादन गर्न सक्छन् । कार्कीले भने, ‘उत्पादनको बजारका लागि हामीलाई समस्या पनि छैन । वडामै पार्क पनि सञ्चालनमा छ । सोहि पार्कमा रहेका चाट व्यवसायीलगायतले उत्पादन प्रयोग गर्न सक्थे ।

’ साना उद्योगलाई ‘ट्रान्सफर्मर’ खरिद गर्ने भन्झट नेपाल विद्युत प्राधिकरणको सुर्खेत कार्यालयसँग भैरम सामुदायिक वन उपभोक्ता समितिले आवश्यक वमोजिम क्षमताको विद्युत आपुर्तीका लागि अनुरोध पनि गरेको थियो । तर प्राधिकरणले हालसम्म पनि उक्त अनुरोधमा कुनै काम गरेको छैन । कार्कीले भने, ‘हामी ५–७ पटक विद्युतमा पनि गयौं । तर समस्या सुनुवाई भएन ।’

उद्योगलाई आवश्यक वमोजिमको विद्युत आपूर्ति गर्न उक्त क्षेत्रमा रहेको ‘ट्रान्सफर्मर’ क्षमता बढाउनुपर्ने हुन्छ । प्राधिकरणले आफै ट्रान्सफर्मर क्षमता थप गर्न नसकिने जनाउँदै उद्योगले आफै खरिद गरे जडान गर्न सकिने बताएको कार्कीले जानकारी दिए । ‘यहाँ हाम्रो समुदायको लागि समेत ट्रान्सफर्मर आवश्यक हो । यहाँको क्षेत्रमै कम भोल्टेज आएर समस्या छ ।

यसका साथै उद्योगले समेत आपूmलाई मात्रका लागि ट्रान्सफर्मर खरिद गर्न सक्ने अवस्था छैन ।’ कार्कीका अनुसार उक्त क्षेत्रमा उद्योग आफैले नजिकै ट्रान्सफर्मर जडान गर्नुपरे २२ लाख रुपैयाँ लगानी लाग्ने प्राधिकरणले जनाएको थियो । ‘माग छ, उत्पादन छैन’ वीरेन्द्रनगर–६ स्थित ज्ञान ट्रेडर्स एण्ड सप्लायर्सले दुना टपरी समेत बिक्रि वितरण गदै आएको छ ।

तर सप्लायर्सलाई भने एउटा समस्या छ, नियमित रुपमा आपूर्तिकर्ताको अभाव । सप्लायर्सका सञ्चालक ज्ञानबहादुर वीसीले भने, ‘अहिले यहाँ कम मात्रामा दुना टपरी पाइन्छन् । अहिले हातले बुनेका टपरी बिक्रि गरिरहेका छौँ । सामान कम भयो भने फोन गर्छौ, गाउँबाट टपरी बुनेर पठाइदिन्छन् ।

’ यो प्रक्रियामा सप्लार्यलाई भने नियमित रुपमा दुना टपरी उपलब्ध भने हुँदैन । अलि धेरै मात्रामा तत्काल टपरी मगाउनु परे सम्भव नहुने उनी बताउँछन् । ‘यहाँ सुर्खेतमा मात्रै धेरै माग छ । तर हामीले नै दुना–टपरी कर्म मात्रामा पाउँछौँ । नियमित आपुर्ती पाएमा हामीले मात्रै मासिक १० हजार बढी टपरी बिक्रि गर्न सक्थ्यौँ ।’

दुनाटपरीका फाइदा बेफाइदा

अचेल शहरीकरण र आधुनिकताका कारण शहर बजारमा हुने साना ठूला भोजभतेर र कार्यक्रमहरुमा चम्चादेखि थालप्लेट र गिलाससमेत प्लाष्टिकका आउने गरेका छन् । प्लाष्टिकबाट बनेका यस्ता वस्तुहरु एक पटक प्रयोगमा आइसकेपछि फेरि प्रयोग गर्न नमिल्ने भएका कारण यसलाई जथाभावी फाल्ने र जलाउने गर्नाले वातावरणमा नै नकारात्मक प्रभावपार्ने निश्चित छ ।

प्लास्टीकमाथिको हाम्रो निर्भरता बढ्दैछ । सालको पातको संस्कृतिलाई विस्थापित गर्दै गाउँघरमा पातला प्लास्टिकका कप र प्लेटको प्रयोग भरमार छ । आयुर्वेदका अनुसार केराको पातमा भोजन गर्दा चाँदीको भाँडोमा भोजन गरेभन्दा बढी लाभ हुन्छ । रक्त अशुद्धी र पाचनतन्त्रमा गडबडी भएमा पलाँसको पातबाट बनेका दुना टपरीमा भोजन गर्दा लाभ हुन्छ ।

सालको पातमा त झन धेरै औषधिय गुण छन् । ‘पातको थालमा खाने अभ्यासले जुन स्पर्श अनुभूति गराउँछ, त्यसले मनमा सवै संवेगी अंगलाई जगाउँछ । भोजन स्वस्थ र पुष्टीदायक हुन्छ’, चरक संहितामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया