सम्पादकीय, बालश्रमः लज्जाशरणम

सुर्खेत,२७ कात्तिक ।

सभ्य, शिक्षित र सचेत भनिएको अहिलेको समाजमा अझैंपनि बालश्रम कायम छ भन्ने समाचारहरु सार्वजनिक भईरहँदा यो समाजका हरेक सदस्यले लज्जावोध गर्नैपर्छ । बाआमाको काखमा लुटुपुटिदै, विद्यालयमा पढाई लेखाइसंगै साथी दौतरीसंगै खेल्दैउफ्रिदै लाउँलाउँ खाउँखाउँ भन्ने उमेरका बालबालिकालाई उनीहरुको मानसिक र शारीरिक क्षमताभन्दा बोझिलो काममा लगाउनेहरु वास्तवमै सभ्य समाजका वाधक हुन, सामाजिक कलंक हुन् ।

कलिला र अवोध बालबालिकालाई काम गरेको साटो खान लाउन दिएर उल्टा गुन लगाई दिएको दिग्भ्रमित सोच लिएर बस्ने यस्तै ढोंगीहरुका कारण समाज दूषित भइरहेको छ, दुर्गन्धित भइरहेको छ । बालबच्चाको पहिलो जिम्मेवारी उसका अभिभावकको नै हो । अशिक्षाका कारण धेरै सन्तान जन्माउने, जन्माई सकेपछि उचित लालनपालन गर्ननसक्ने, पढाई लेखाइका लागि मात्र नभई पेटभर खाना र जिऊभर नाना दिन नसक्नु कुनै अभिभावकका कमजोरी होलान् ।

त्यस्ता अभिभावकहरुको त्यहि कमजोरीको फाइदा उठाउँदै तिनका बालबच्चाको भोको पेट भर्ने र नांगो शरीरर ढाक्ने बहानामा उनीहरुको बालापन खोसिने गरी घरधन्दा र उद्योग व्यवसायको काममा लगाउनेहरु कानूनी रुपले त अपराधी हुन नै नैतिकरुपले पतित्, मानसिक रुपले भ्रमित र सामाजिक रुपले भ्रष्ट हुन् ।

यसरी काममा लगाइएका कलिला बालबालिकाको ईच्छा रहर मार्दै भोक पेट र बाध्यताको गलत फाइदा उठाउँदै कामा लगाउने र तिनले सकिनसकी काम गर्ने क्रममा जानी नजानी भएका गल्तिकमजोरी वापत कथित घरधनी र साहूले दिने सजायहरुका बारेमा सुन्ने देख्ने हो भनेपनि आङै सिरिड्ड हुन्छ, मुटु काँप्छ । बाल श्रमिक र शोषणका कयौँ कारणहरू छन् जसमा गरिबी, सामाजिक असमानता, रोजगारको अवसरहरूमा कमि हुनु मुख्य रहेको छ

। कयौँ यस्ता परिवारहरू छन् जहाँ आमाबाबु रोजगारविहीन छन् जसको कारणले गरिबीको चरम अवस्थामा पुग्दा आफ्ना साना बच्चालाई बाल श्रमिकको रूपमा काम गर्न पठाउन बाध्य हुन्छन्। गरिबीले प्रताडित आमाबाबु बच्चालाई पाठशालामा पढ्न पठाउनुभन्दा बढी परिवारको आयको निम्ति जोखिमपूर्ण ठाउँमा काम गर्न पठाउन बाध्य हुन्छन्। व्यावसायिक क्षेत्र होस् वा घरमा सबैले नै सस्तो मूल्यमा काम गर्ने खोज्छन्।

सस्तो मूल्यमा धेरै काम गराउन सानो बालक वा बालिका मात्र सम्भव हुँदा सबैको पहिलो रोजाई यिनीहरू नै हुन्छन् । बाल श्रमिक राख्नु अमानवीय साथै कानुनी अपराध हो भन्ने थाहा हुँदाहुँदै पनि यसलाई कसैले वास्ता गर्दैनन् । उल्टै घरमा काम गर्ने ‘केटो’ या ‘केटी’ राखेकोमा गर्व गर्ने ढोंगीहरुको जमातपनि उत्तिकै छ । यो ढोंगीहरुका जमातमा पढेलेखेका शिक्षित वर्ग, सरकारी जागिरमा भएका जिम्मेवार व्यक्ति र धनसम्पत्तिको तुजुकमा अरुलाई दास बनाएर  ‘मालिक’ खुट्टिन चाहने सामन्ति सोच र संस्कार भएका व्यक्तिहरु नै बढि देखिन्छन् ।

यस्ता व्यक्तिहरुलाई कानूनले पनि भेट्दैन । किनकी देशको कानून पालना गर्ने गराउने निकायको सामथ्र्य र क्षमता त्यत्ति छँदै छैन् । तर कानूनी व्यवस्था देखाएर मात्र पनि यो समस्या समाधान हुँदापनि हुँदैन । अवोध बालबालिकालाई दास बनाएर मालिक बन्न चाहनेहरुलाई सामाजिक रुपमापनि बहिष्कार नगर्दासम्म यो समस्या समाधान हुनेवाला नै छैन् । र जबसम्म यो समस्या हाम्रो समाजमा रहन्छ तबसम्म बालश्रम हामी सबैका लागि लज्जाशरणम् हुनेछ ।

तपाईको प्रतिक्रिया