मैनबत्तिले उज्यालो बनाएको रामकृष्णको जीवन

सुर्खेत,१५ कात्तिक ।

   मेरो जिवनमा  मेैनबत्तिले उज्यालो दिएको हो । पहिले आम्दानीको स्रोतस्रोत दियो, कहिले बत्ति नहुँदा उज्यालो दियो त अहिले सफल उद्यमीको नाम दियो । जे होस् सफलता दियो । मेरो नाम रामकृष्ण लामिछाने । वि.स. २०२० साल माघ १६ गते भक्तपुरमा मेरो जन्म भएको हो ।

मैले मेरो बालापन भक्तपुरमै बिताएँको हु। जब एस.एल.सी पास गरे मैले आइ ए पढ्दै गर्दा घरेलुमा जागिर गर्ने अवसर मिल्यो । वि.सं.२०३९ सालमा जागिरको शिलशिलामा म सुर्खेत आइपुगे । त्यो समय म अविवाहित थिएँ । तर सुर्खेत आएको केहि महिनामै मैले मागी विवाह गरे ।

एकातिर पढाई अर्कोतिर जागिर भ्याई–नभ्याई दिनचर्या बन्यो । तरपनि महिनाभरि काम गरेर, प िर्खएर आएको तलबले खर्चनै नपुग्ने । त्यसपछि आफ्नै केहि सानोतिनो व्यवसाय गर्ने योजना बनायौ बुढाबुढी मिलेर । बिहानै उठेर क्याम्पस जान्थे फर्किएर खाना खाएपछि अफिस जान्थे अनि अफिसको काम सकेपछि पसलमा हुन्थे । दिनभरी मेरी जीवनसाथीले पसल हेर्थिन् ।

जीरा मसलादेखि ल्वाङ्ग, सुकमेल, नरिवल, मेथी, ज्वानोजस्ता मसलाको प्याक बनाएर बेच्ने गर्थिम् पसलमा । यसरीनै चल्दै थियो । तर वि.सं. २०४३ सालमा मेरो जुम्ला सरुवा भयो । घरव्यवहार, बालबच्चा अनि पसल छोडेर जुम्ला जानसक्ने अवस्था नदेखेपछि मैले जागिरबाट राजीनामा दिए ।

जागिर छोडेपनि घरेलु सम्बन्धि तालिम दिन भने गईरहन्थे । त्यसपछि व्यवसायलाईनै अगाडि बढाउने योजना र अठोटका साथ पिठोबाट बन्ने दाम्लो मिठाई (एैंठैं ) जस्ता खानेकुरा उत्पादन गरेर पसल पसलमा सप्लाई हुन थाल्यो । वीरेन्द्रनगरमा पहिलो पटक मैले निर्मल एैंठे उद्योग भनेर मैले व्यवसाय स्थापना गरे वि.सं. २०४४ सालमा । एैंठैं को माग एकदमै बढ्यो पसलहरुले बिक्रि गर्नका लागि लग्न थाले ।

एैंठैं उद्योग भएको हैसियतले मलाई घरेलुले जनप्रतिनिधि, उद्यमीहरुको भेला बोलाएर छलफल गर्दा मैनबत्ति बनाएपछि यहाँ चल्छ भन्ने कुरा आयो । अनि दश क्विन्टल मैनबत्ति उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ मलाई उपलब्ध गराईयो । कच्चा पदार्थ त ल्याएँ न तालिम लिएको न केहि जानकारी भएको, तरपनि मैनबत्ति बनाउने साँचो जुटाएर बनाउने प्रयास गरे । बनाउन नजानेर बट्वा धागो किनेर मैनबत्तिको साँचोमा नाप्दै गाँठो पारे ।

ठीक त्यसै बेला मेरो आमापनि सुर्खेत आएको मौका परेकाले आमाले यसरी त हँुदैन भनेर आमा आफैले आप्mनो सामान्य अनुभव र अन्दाजको भरमा धागो फिट गर्दा भयो । त्यसैले जन्म दिएर संसार देखाउने पनि मेरी आमा अनि यो उद्योगलाई शुरुवातमा बाटो देखाउने पनि मेरी आमा हुनुभयो ।

आमाको त्यहि अन्दाजीले गरेको काम मेरो लागि तालिम बराबर सावित भयो, अनि मेरो व्यवसाय शुरु भयो, बन्दै गए मैनबत्तिहरु। मैले व्यवसाय शुरु गर्दा आपूmसंग भएको दुई चार हजारको सामान ल्याएर सकियो । त्यो समयमा वाणिज्य बैकं र नेपाल बैंक मात्र थिए । वाणिज्य बैकंमा सदन बैकिंङ्ग कार्यक्रम आएको रहेछ । बिना धितोमा उद्यम गर्न चाहने युवाका लागि दश हजारसम्म ऋण दिने कार्यक्रम रहेछ त्यो सदन बैकिंङ्ग कार्यक्रम ।

मैले पनि फर्म भरे अनि दश हजार ऋण लिए । त्यो बेला दश हजार भनेको ठूलै रकम हो । अनि विवाह गर्नेबेला बनाएको एक तोला सुन थियो त्यो पनि बैकमै राखेर मुश्किलले बाह्र सय पाएको थिएँ, त्योपनि राखे अनि व्यवसाय शुरु गरे । व्यवसाय गर्दै गर्दा सम्पर्क पनि बढ्यो र उधारो पनि पत्याउन थाले साहुले । व्यवसाय चलिरहेकै थियो राम्रै व्यापार पनि भयो ।

एकदिन नेपाल बैक लिमिटेडका हाकिमसंग भेट भएपछि कुराकानी गर्दै जाँदा पच्चीस हजार ऋण दिने कुरा भएपछि वाणिज्यको दश हजार चुक्ता गरेर मैले नेपाल बैक लिमिटेडबाट पच्चीस हजार ऋण लिए । जसले मेरो व्यापारमा थप टेवा पुग्यो । मैले उद्योगमा १२ जनालाई रोजगारीमा राखेको थिएँ ।

मेरो व्यवसाय संगसंगै बाह्र जना अन्य स्थानीय युवाहरुले रोजगारी पनि पाएका थिए । हाम्रो निर्मल मैनबत्ति उद्योगमा उत्पादन भएका मैनबत्ति कर्णालीका जुम्ला, हुम्ला, जाजरकोट, दैलेख, मुगु, सल्यान यस्तै सुर्खेतका पश्चिम तिरका व्यापारीहरु आफै उद्योगमा आएर विक्रि वितरणका लागि लैजान थाले ।

व्यवसाय गर्नका लागि लिएको घर भाडा मैले महिनाको तीन सय रुपैया तिर्थे । भाडा तिर्नकै लागि मैले दिनको दश रुपैयाँ खुत्रुकेमा राख्ने गर्थे । दिनको दशले महिनाको तीन सय हुन्थ्यो अनि हरेक महिना त्यसरी तिर्थे । केहि समयमा व्यवसाय राम्रो हुँदै गएपछि दिनको एक सय रुपैया बैकंमा जम्मा गर्न थाले ।

केहि महिनापछि कोहि कसैले धितोमा राखेको जग्गा निकाल्न नसकेको १४ हजारको एक कठ्ठा जग्गा मैले त्यहि बैकंमा जम्मा भएको ७ हजार र पसलमा टाक्कटुक्क गरेर ७ हजार गरेर त्यो जग्गा लिन सके । मैनबत्तिको माग बढ्दै गयो यता मेरो व्यवसाय फष्टाउँदै गयो । समयसंगै अहिले विजुली धेरै जाँदैन मैनबत्ति किन चाहियो भन्ने होइन अहिले पनि मैनबत्तिको माग उत्तिकै छ ।

हरेक शुभ कार्य गर्दा मैनबत्ति बाल्ने गरिन्छ, बत्ति कुनै बेला गैहाले पनि खोज्ने मैनबत्ति नै हो अनि गाउँ गाउँमा अहिले पनि बिजुलीको पहुँच पुगेको छैन त्यहाँसम्म पुग्छ मेरो उद्योगको मैनबत्ति । मैले संघर्ष गर्दा कहिल्यै आत्तिएन र गलत बाटो रोज्ने गल्तिपनि गरिन मैले । सायद यसकै आर्शीर्वादले म आज सफल भएको अनुभूति भएको छ ।

मानिसले दुःखमा नआत्तिएर धैर्य गर्दै संघर्ष गर्ने र सधै सत्यको बाटो हिडे अवश्य सफल भइन्छ भन्ने मेरो भनाई हो । सफलता हात पार्न समय अवश्य लाग्छ तर दुःखपछिको सुखले छुट्टै आनन्द दिन्छ । अहिले मलाई सबै कुरा मिलेको छ । सबैभन्दा ठूलो नाम मिलेको छ अनि इमान जोगिएको छ, छोराछोरी लाईनमा लागेका छन्, बाँचुञ्जेल पुग्ने धन सम्पत्ति कमाइयो, स्वास्थ्य राम्रो छ र सबैभन्दा ठूलो खुशी मिलेको छ । म सबै युवालाई यहि भन्न चाहन्छु, विदेश जानुस् बस्नुस त्यहाँका राम्रा कुरा सिक्नुस् तर आफ्नै देशमा फर्किएर यहि मेहेनत गर्नुस् । मेहेनत गर्न सके आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया