दलहरुका घोषणापत्रमा कर्णाली : कर्णाली करिडोर प्राथमिकता

पुनम वि सी
सुर्खेत,१५ कात्तिक ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सोमबारसम्म वाम गठवन्धन दलले चुनावी घोषणा जारी गरिसकेका छन् । वाम गठवन्धन दलका घोषणापत्रमा खासगरी कर्णाली करिडोरको विषयलाई चासोका रुपमा प्रतिवद्वता जनाइएको छ ।

आईतबार नेपाली कांग्रेसले ‘कोखदेखि शोकसम्म’ नामक कार्यक्रम चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको छ । जसअन्र्तगत सुरक्षित मातृत्व, प्रजनन् तथा स्वास्थ्य अधिकार, गर्भावस्था, बालविकास, स्वास्थ्य, रोजगारी र श्रम, वृद्वावस्था तथा मृत्यु संस्कारसहित काँग्रेसले विभिन्न राष्ट्रिय कार्यक्रमहरुको घोषणा गरेको छ ।

कांग्रेसको घोषणापत्रमा कर्णाली प्रदेशलाई छुट्याएर हेर्दा भने रुपान्तरणकारी आयोजनाका रुपमा पाँच वर्षमा भेरी करिडोर र कर्णाली करिडोर सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसैगरी सुर्खेत–रानीघाट–भुरीगाउँलगायतका सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण शुरु गर्ने लक्ष्य छ । भेरी–बबई तथा बबइ सिँचाई आयोजनाहरु समयमै सम्पन गर्नेलगायतका योजना कांग्रेसका छन् ।

तिला–कर्णालीलगायतका ठूला राजमार्गका नदीमा थप पुलहरु निर्माण गर्ने, नदी किनाराका तटवन्धलाई सम्भव भएका ठाउँमा वैकल्पिक सडकको रुपमा विकास गर्नेलगायतका प्रतिज्ञा कांग्रेसको छ । सोमबार घोषणा पत्र सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले समेत विभिन्न विषयमा राष्ट्रिय तहका प्रतिवद्धताहरु अघि सारेको छ ।

कर्णाली प्रदेशका विषयमा भने भेरी– बबई डाईभर्सन आयोजनाको निर्माण, ग्रामिण क्षेत्रमा निर्माण गरिएका सडकलाई कृषि सडकमा रुपान्तरण गर्ने कार्य अन्र्तगत सल्यान र सुर्खेतलाई समेत समेट्ने गरी कृषि तथा औद्योगिक करिडोर निर्माणमा जोड दिने, सुर्खेत विमानस्थललाई अन्र्तराष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गर्ने प्रतिवद्वता जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले समृद्धिका लागि क्रमभंगताको नारासहित कर्णालीको सबै जिल्ला जोड्ने प्रदेश–चक्रपथ निर्माण गर्ने, कर्णालीलगायतका प्रमुख नदी प्रणालीमा जलमार्गको विकासका निम्ति आवश्यक योजना निर्माण गर्नेलगायतका कार्यक्रमहरु घोषणा पत्रमा समावेश गर्दै प्रतिवद्वता व्यक्त गरेको छ ।

एमालेको घोषणापत्र आज नेकपा एमालेले मंगलबार प्रतिनिधि सभा तथा प्रदेश सभा लक्षित आफ्नो घोषणा पत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच घोषणा पत्र सार्वजनिक गर्न लागिएको हो । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले आआफ्ना घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

मंगलबार दिउँसो साढे एक बजे होटल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गर्ने तय भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रि जालले जानकारी दिए । उनका अनुसार घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपीशर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ ।

प्रदेश संरचना खारेजतर्फ राप्रपा

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपाले आफ्नो घोषणा पत्रमा प्रदेश संरचना खारेज गर्ने उल्लेख गरेको छ ।सोमबार घोषणा पत्र सार्वजनिक गरेको राप्रपाले प्रदेश संरचना खारेज गरेर केन्द्रीय तथा स्थानीय तहलाई बलियो बनाउनु पर्ने लक्ष्य राप्रपाले लिएको छ ।

यसका साथै राप्रपाले आफ्नो घोषणापत्रमा उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने र अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था लागू गर्ने उल्लेख गरेको छ । आफू बरु नष्ट हुने तर भ्रष्ट नहुने प्रतिवद्धता गर्दै राप्रपाले भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहारमा लागू गर्ने उल्लेख गरेको छ । घोषणापत्रमा राप्रपाले ‘नेपाल बन्द’ कहिल्यै नगर्ने र नेपाल बन्द सधैँका लागि बन्द गर्ने समेत उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया