जुम्ला विमानस्थल ः आकाशमा उड्न धर्तीमा युद्ध !

बाल गोपाल  देवकोटा
जुम्ला,१ कार्तिक ।

झट्ट हेर्दा कुनै मेला, महोत्सव र जात्रा चलिरहेको जस्तै भीड देखिन्छ । कुनै नेता तथा राजकीय व्यक्तित्वको सवारी भएको जस्तो लाग्ने गरी मानिरहरू तँछाड मँछाड गरिरहेका छन् । एकजना मानिस जता गयो अरू मानिसहरू पनि त्यतैतिर दौडधुप गरिरहेका छन् । ती मानिसहरू कुनै चर्चित सेलिब्रेटी वा नेताको पछि लागिरहेका छन् ।

तर, त्यस्तो सोच्दै हुनुहुन्छ भने हजुर गलत हुनुहुन्छ । यो भीड न त जात्राको हो, न त मेला– महोत्सवको, या त कुनै राजनीतिक दलका नेताहरुको आगमनको लागि । अन्ततः यो भीड वा दृश्य हो, जुम्ला एयरपोर्टको । जहाजको टिकेट नपाएर भौतारिरहेका जुम्लीहरूको हो ।

निरन्तरको अविरल वर्षाका कारण कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो खसेर बाटो बन्द हुँदा दसैँ मनाउन जुम्ला पुगेका जुम्ली जनताले आफ्नो कर्मथलो फर्किनको लागि जहाजको टिकट पाउन ठुलै युद्ध गर्नु परे जस्तै भएको छ । भीड, कहिले जिल्ला प्रशासन कार्यालयतिर लाग्छ त कहिले जुम्ला एयरपोर्टतिर ।

त कहिले निजी एयरलाइन्सका स्टेसन म्यानेजरहरूको घरतिर त कहिले टिकट दिने ट्राभल एजेन्सी चलाउँछु भन्दै कालोबजारी गर्नेहरूतिर । जब भीड एयरपोर्टदेखि टिकटकै लागि जिल्ला प्रशासन कार्यालयतिर लाग्छ, तब कसैलाई लाग्न सक्छ जुम्लामा कुनै ठूलो कार्यक्रम या त नारा जुलुस या चुनावमुखी नेताहरुले भोट माग्दै जुलुस गर्दै हिँडेका छन् ।

तर, वास्तविकता भने फरक छ । बाहिरी जिल्ला एवम् विभिन्न ठाउँबाट हेर्दा लाग्छ होला आहा ! कति रमाइलो । तर, पीडा के हो जहाजको टिकट नपाएर उज्ज्यालो नहुँदै एयरपोर्ट धाउने जुम्ली जनता एवम् जुम्ला–रारा घुम्न भनी गएका र टिकट नपाएर एयरपोर्टमै अलपत्र परेका पर्यटकलाई मात्र थाहा छ ।

 

दसैं÷तिहार लाग्दा निजी विमान कम्पनीहरुका जहाजहरू पूर्व जाँदा र भएको एउटा नेपाल वायुसेवा निगमको जहाजले पनि नियमित सेवा नदिँदा र कर्णाली राजमार्ग बाढी पहिरोले बन्द हुँदा जुम्ली एवम् कर्णालीवासीहरुले दुःख खेप्नु परिरहेको छ । जुम्लाको लागि दैनिक एउटा मात्र जहाजको एउटा मात्र उडान भएको र त्यो उडानमा पनि ठूलाबडा आफ्ना आफन्त आसेपासेहरूले मात्र टिकट पाउने गरेका छन् ।

बाँकी रहेको टिकट कहिले प्रशासन त कहिले एयरपोर्टको टावर त कहिले एयरलाइन्सका कर्मचारी त कहिले ट्राभल एजेन्सी चलाउँछु भन्ने भनाउदा दलालहरुले आफ्ना आफन्तहरुलाई मात्र जहाजको टिकट दिन्छन् । यता सुरक्षाकर्मीहरुले पनि सुरक्षा कडा गरेर एयरपोर्टभित्र टिकटको लागि जान नदिँदा असली समस्या परेका विरामी र परीक्षा दिन हिँडेका विद्यार्थीहरु धेरै मारमा पढेका छन् ।

एयरपोर्ट भित्रैबाट फोनको सहायताले टिकट बाँड्ने चिने जानेका ठूला वडा आफ्ना आफन्तहरुलाई मात्र एयरपोर्टभित्र बोलाउने र टिकटको लिस्ट तयार पार्नेजस्ता विकृतिहरु पहिलेदेखि जुम्ला एयरपोर्टमा मौलाइरहेका छन् । वर्षको एकदिन आउने नेपालीहरूको महान चाड दसैँ पनि अविरल वर्षाका कारण यो वर्ष उल्लासमय हुन सकेन ।

करिब एक हप्ताको अविरल झरीले साविकको कर्णालीका जिल्लाहरूमा ठुलो जन धनको क्षति भयो । दसैं मनाउन घर गएकाहरुको बर्से झरीले गर्दा ओडार र त्रिपालमा बास भयो । करिब एक साताको अविरल वर्षाका कारण कर्णाली एवम् जुम्लामा बाढी पहिरो गएर बाटो अवरुद्ध, अन्धकार, खानेपानीको समस्याका साथै सञ्चारविहिन, डिजेल पेट्रोलको हाहाकार एवम् दैनिक उपभोग्य सामाग्रीको अभाव भएको छ ।

साविकको कर्णाली एवम् जुम्ला जिल्ला करिब १० दिनपछि सञ्चार माध्यममा जोडिएको छ । बाढी पहिरोले साविकको कर्णाली एवम् जुम्ला जिल्लामा तहसनहस भएर आपत् विपत पर्दा पनि राज्य उदासिन देखिएको छ । कर्णाली एवम् जुम्लाबाट निर्वाचित भएर गएका संघ, प्रदेश र स्थानीय तहका नेताहरु कानमा तेल हालेर बसिराखेका छन् ।

विकट कर्णालीलाई परापूर्व कालदेखि राज्यले र नेताहरुले त हेपा र सौतेनी व्यवाहार गरे तर अहिले आएर लाग्छ सञ्चार माध्यम र पत्रकारहरुले पनि साविकको कर्णाली एवम् जुम्ला जिल्लालाई सौतेनी व्यवहार गरिरहेका छन् ।

कसैले खाएको, हिँडेको, नाचेको, बोलेको, भाषण, भ्रमणमा गएको हेडलाइन बनाएर समाचार प्रसारण गर्ने सञ्चार माध्यम र पत्रकारहरु कर्णालीलाई समस्या पर्दा, बाढी पहिरोले तहस नहस गरी भयावह स्थित आउँदा पनि चुपचाप लागि बसिरहेका छन् ।

सञ्चार माध्यम र पत्रकारहरुले समाचार बनाएर प्रसारण गरी राहतको लागि हात फैलाएर सहयोग पु¥याइ बाढी पहिरो र वर्षाले तहसनहस गरेको भिडियो प्रसारण गरी राज्यको ध्यान कर्णालीतिर केन्द्रित गर्नुपर्ने बेला कर्णाली एवम् जुम्लाका जिल्लाका समाचारहरू सुन्न र हेर्न पाइएको छैन् ।

दसैंको खुसी आफ्ना आफन्तजनसँग साँट्न नपाउँदै कर्णाली एवम् जुम्ली जनताका दुःख सुरु भए । साविकको कर्णालीमा बाढी पहिरो मात्रै आएन सुखी र खुसीका साथ दसैँ मनाउला भनेका जुम्ली जनताहरूको लागि दुःखको बाढी नै आयो । दसैं त राम्रोसँग मनाउन नपाएका जुम्ली जनताहरुले सजिलै कर्मथलो समेत फर्किन पाएका छैनन् ।

दैलेख, कालीकोट र जुम्ला खण्डको दर्जनौं स्थानमा पहिरो जाँदा कर्णाली राजमार्ग एक सातादेखि अवरुद्ध छ । हवाई सेवा भएका जुम्ला, हुम्ला र डोल्पामा नियमित उडान भएको छैन । दसैँ सकेर कर्मथलो फर्केनेहरू पैदलयात्रा गर्दै कालिकोटको डिल्लीकोट हुँदै महावुलेक काटेर दैलेख सुर्खेतसम्म पुग्नुपर्ने भए पनि पहिरोले समस्या थपेको छ ।

यस्तो कर्णालीको नाजुक स्थिति हेर्दा लाग्छ कर्णालीमा विकास होइन विनास को बाढी नै आइरहेको छ । अन्ततः यस्तो विषम परिस्थितिमा कर्णालीतिर केन्द्रीय र प्रदेश सरकारको साथै विभिन्न मन्त्री र नेताहरुको जतिसक्दो चाँडो ध्यान जानुप¥यो । बाढी पहिरोले क्षति पुराएका जनताहरुलाई राहतको बेवास्ता जतिसक्दो चाँडो गरिदिनु प¥यो । कर्णाली राजमार्ग खुलाउने काम सरकारसँग जतिसक्दो चाँडो गरिदिनु प¥यो ।

नेपाल एयरलाइन्स एवम् निजी वायुसेवा कम्पनीका जहाजहरूले पनि कर्णाली एवम् जुम्लामा दैनिक उडान गरिदिनु प¥यो । नेपाली सेनाले पनि आफ्ना विमान तथा हेलिकप्टरहरूको सहायताले जतिसक्दो चाँडो राहत तथा यात्रु ओसारपोसार गरिदिनु प¥यो र कर्णालीमा यस्तो आपत् विपत पर्दा सेवा सुविधा दिनबाट जो कोही पनि पछि नहटेर अधि सरेर कर्णालीलाई दुःख, चोट र समस्या पर्दा मलमपट्टी लगाइ सहयोग गरी मानवता देखाइ दिनुप¥यो ।

तपाईको प्रतिक्रिया