कर्णाली प्रदेश : चार्डवाडको छेकोमा दुर्घटनाको जोखिम

पुनम वि.सी.
सुर्खेत, १४ असोज ।
गाउँघरमा चाडपर्वको हर्ष र रौनकले छपक्कै छोप्दै लगेका बेला तीन दिनअघि एकाबिहानै सल्यानमा जीप दुर्घटनामा हुँदा आठ जनाको मृत्यु भएको खबरले झिसमिसेमै सबैलाई निराश बनायो । जन्ति लिएर बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप बुधबार विहान कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै भीरबाट खस्यो ।

दशैंको मुखमा जीप दुर्घटनामा परेर एकै गाउँका सात जनाले ज्यान गुमाएपछि अहिले कपुरकोट गाउँपालिका–६ जलबाङका पूरै गाउँले शोकमा डुबेका छन् । सोहि दिन जुम्लाबाट स्याउ लिएर सुर्खेततर्फ आईरहेको ट्रक दुर्घटनामा प¥र्यो । जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहिमा वागमती प्रदेश ०३००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना भएको हो ।

करिव सात सय कार्टुन स्याउँ लिएर हिडेको ट्रक दुर्घटना हुँदा मकवानपुर घर भएका ट्रक चालक अविनाश लामाको मृत्यू भयो भने उनका सहयोगी हरि न्यौपाने घाइते छन् । टाउकोमा गम्भिर चोट लागेका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

वर्षेनी चाडपर्वका बेला सडक दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले चेकजाँचसंगै सक्रियता बढाएको भन्दै बढि हल्लाखल्ला गरिने बेला नै सडक दुर्घटना र मानवीय क्षतिका झन् धेरै घटना दोहोरिरहन्छन् । २०७९ को दशैं समयमा मात्र होइन यस अघिका वर्षहरुमा समेत कर्णालीमा दशैं तिहार लगायतका चाडपर्वको समयमा सडक दुर्घटनाहरुको संख्या बढेको देखिन्छ ।

गत वर्ष २०७८ को असोज महिनामा मात्र कर्णालीमा २३ वटा दुर्घटनाहरु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । यीमध्ये २१ दुर्घटना त दशैंका छेकोमा नै भएको देखिन्छन । कर्णाली प्रदेश प्रहरीको तथ्यांक अनुसार गत वर्ष दशैं अवधिमा कर्णालीमा दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाएका थिए ।

गत वर्षको असोज २६ गते नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छाँयानाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाए, १३ जना घाइते भएका थिए । कर्णालीमा चाडपर्वमा समयमा दुर्घटना जोखिम बढ्न जान्छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतको तथ्यांक हेर्ने हो भने विगत तीन आर्थिक वर्षमा एक सय ६४ वटा सडक दुर्घटनाहरु भएका छन् ।

चाडपर्वको समयमा खासगरी असोज र कार्तिक महिनाको अवधिमा सो संख्यामा दुर्घटना भएको हो । यसैगरी प्रत्येक आर्थिक वर्षमा दुर्घटनाको संख्यामा समेत वृद्वि हुदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ को असोज महिनामा कर्णाली प्रदेशमा ३३ वटा सडक दुर्घटना भएका थिए । यसैगरी २०७७/०७८ को असोज महिनामा १८ वटा र २०७८/०७९ मा २३ वटा सडक दुर्घटना भएका छन् । तीन आर्थिक वर्षको असोज महिनामा मात्र कुल ७४ दुर्घटना घटेको देखिन्छ ।


कार्तिक महिनामा २०७६/०७७ मा २० वटा, २०७७/०७८ मा २९ वटा र २०७८/०७९ मा ४१ वटा गरी कुल ९० वटा दुर्घटना घटेका छन् । चाडपर्वका बेला गाउँघर फर्किनेहरुको संख्या बढ्ने भएकाले सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढि यात्री बोक्ने र तीव्र गतिमा हाँक्ने गर्दा नै बढिजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको विश्लेषण छ ।

प्रदेशका ५३ स्थानमा सवारी चेकजाँच
ट्राफिक प्रहरीको राजस्व संकलन अवस्थालाई हेर्दा अन्य समयका तुलनामा चाडपर्वका समयमा ट्राफिकले धेरै राजस्व संकलन गर्छ । यस अर्थमा ट्राफिक प्रहरीले सडक सुरक्षाका चाडपर्वका समयमा चेकजाँचमा समेत सक्रियता जनाइरहेको बुझिन्छ । गत आर्थिक वर्ष २०७८/०७९ को असोजमा प्रहरीले २६ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी कार्तिक महिनामा भने ३९ लाख दुई हजार पाँच सय रुपैयाँ संकलन भएको देखिन्छ ।

अघिल्ला वर्षहरुमा झै कर्णाली प्रदेश प्रहरीले चाडपर्वका समयमा हुने सडक दुर्घटना जोखिम न्युनिकरणका लागि नागरिक सहायता कक्ष, नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही, ट्राफिक सहितको संयुक्त चेकजाँचलगायतका कार्यक्रमहरु अघि सारेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरीको चाडपर्व सुरक्षा कार्य योजना–२०७९ मा सवारी दुर्घटना जोखिम न्यूनिकरणका लागि प्रहरीले कर्णालीका ५३ स्थानमा ट्राफिक प्रहरी सहित संयुक्त चेकजाँच सञ्चालन गरिने भएको छ ।

यसका साथै ३१ स्थानमा नियमित चेकजाँच, आवश्यकता अनुसार आकस्मिक चेकजाँच, १८ स्थानमा लामो दूरिका सवारी चेकजाँच (दुई जना चालकको व्यवस्था) गर्ने प्रहरीको योजना छ । यसैगरी प्रदेशका २६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

चाडपर्वका समयमा सवारी साधनमा यात्रुसँग बढी असुल गर्ने, दुव्र्यहार गर्ने, क्षमता भन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने प्रहरीको कार्ययोजना छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार