विषयगत संकेत अभावले पठनपाठनमा समस्या

पुनम वि.सी.
सुर्खेत, ८ असोज ।
वीरेन्द्रनगस्थित शिद्व बहिरा बाल विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् । १० कक्षासम्म अध्यापन भईरहेको यस विद्यालयमा बोल्न र सुन्न नसक्ने बालबालिकाहरु विशेष शिक्षाका माध्ययमद्वारा अध्ययन गर्छन् ।

अध्ययन–अध्यापन सञ्चालन भईरहेपनि विद्यालयमा विषयगत संकेत अभावका कारण विद्यार्थीको पठन–पाठनमा समस्या हुने गर्छ । खासगरी माथिल्लो कक्षाका विद्यार्थीको पठनपाठनमा प्रयोग हुने सांकेतिक संकेत अभावले समस्या हुने गरेको छ ।

विद्यालयमा ८, ९ र १० कक्षामा जम्मा २६ जना विद्यार्थी छन् । जसमध्ये कक्षा ८ मा ११ जना, ९ कक्षामा आठ जना र १० कक्षामा सात जना विद्यार्थी छन् । ‘साना कक्षाहरुमा सांकेतिक संकेत अभावले खासै समस्या दिदैन । विद्यालयका प्राध्यानाध्यापक चिन्तामणी कँडेलले भने, माथिल्ला कक्षामा भने यसबाट विद्यार्थी प्रभावित बन्ने गर्छन् ।’

खासगरी गणित, विज्ञान, वातावरण शिक्षा लगायतका विषयहरुमा शिक्षकलाई अध्यापनमा समस्या हुन्छ । कक्षा १० सम्म अध्यापन गराईरहेका शिक्षकहरुमा विषयगत संकेत अभाव देखिने प्रधानाध्यापक कँडेल बताउँछन् ।

उनले भने, ‘संकेत अभावले गर्दा शिक्षकले बुझाउन खोजेको शब्द विद्यार्थीले प्रष्ट बुझ्दैनन् । अथवा बुझाइएको शब्दले अर्को अर्थ लगाउन सक्ने जोखिम हुन्छ ।’ विषयगत संकेत अभावले प्रष्ट अर्थ जनाउन शिक्षकलाई गाह्रो पर्छ । यस अवस्थामा विद्यार्थीले पनि वास्तविक अर्थ बुझ्न नसक्ने समस्यामा कँडेलले चिन्ता व्यक्त गरे ।

यो समस्या शिद्व बहिरा बाल विद्यालयको मात्र होइन, देशव्यापी रुपमा नै यो समस्या छ । कँडेलका अनुसार नेपालमा विषयगत संकेतका लागि कार्यक्रम सञ्चालन तथा अध्ययन अनुसन्धान शुरु भएका छैनन् ।

‘पुराना शिक्षकलाई विज्ञान विषय अध्यापन गराउँदा समस्या उत्पन्न हुन्छ । यस विषयमा हामी शिक्षकहरुले प्रयास पनि गरेका छौँ । उनले भने, सांकेतिक भाषाका लागि तालिम सञ्चालन गरेका थियौँ । शिक्षकहरुलाई विषयगत संकेतका लागि थप तालिमहरुको आवश्यक छ ।’

विषयगत संकेतका विषयमा नेपालमा पुस्तकहरुको पनि अभाव छ । प्रधानाध्यापक कँडेलका अनुसार अन्य मुलुकहरुमा विषयगत संकेतहरुको व्यवस्था गरिएको छ । तर नेपालमा भने अन्य मुलुकको संकेतले काम गर्दैन ।

उनीहरुको सांकेतिक भाषामा भिन्नता हुन्छ । यस समस्यामा सम्बन्धित विभागले नै पाठ्यक्रमका अनुसार सांकेतिक संकेत चिन्हहरुको विकास तथा अनुसन्धानमा ध्यान दिनुपर्ने उनको धारणा छ । विद्यालयमा कुल १० जना शिक्षक कार्यरत छन् । जसमध्ये ६ जना शिक्षक विशेष शिक्षा परिषद्बाट नियुक्त भएका हुन् । चार जना हेरचाहकर्ता र तीन जना कार्यालय सहयोगी गरी कुल १७ जनाको जनशक्ति विद्यालयमा उपलब्ध छ ।

नयाँ भवनले ल्याएको खुशी
वि.सं. २०३७ सालमा स्थापना भएको शिद्व बहिरा बाल विद्यालयमा यस अघिसम्म पूर्वाधार अभाव थियो । केही वर्ष पहिले विद्यालयले पुरानो जिर्ण भवनबाटै शैक्षिक क्रियाकलाप सञ्चालन गर्न बाध्य थियो । तर अघिल्लो आर्थिक वर्षदेखि विद्यालयमा १८ कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

‘पूर्वाधारयुक्त विशेष कार्यक्रम’ अन्र्तगत नेपाल सरकारले विद्यालयमा पूर्वाधार निर्माण प्रक्रियालाई क्रमागत योजनामा राखेपछि अहिले विद्यालयले पूर्वाधारमा सुधारको बाटो महशुस गरेको छ । प्रधानाध्यापक कँडेलले भने, ‘अहिले एउटा भवन बन्दैन । तीन तल्लाको यो भवनमा १८ कोठा छन् । यसैगरी दुई वटा अरु भवन पनि क्रमै अनुसार बनाउने योजना छ ।’

यसअघि विद्यालयका लागि गुरुयोजना निर्माण गरिएको थियो । गुरुयोजना अनुरुप २२ करोड लागतमा विद्यालयलाई पूर्ण पूर्वाधारयुक्त विद्यालय बनाउन सकिन्छ । नेपाल सरकारले पञ्चवर्षीय योजना अनुरुप विद्यालयका लागि १० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । जसअन्र्तगत हाल तीन करोड रुपैयाँ बजेट विद्यालयका लागि विनियोजित भएको हो ।

कुल ९६ जना अध्ययनरत यस विद्यालयमा ८१ जना बालबालिकाहरुले आवासीय सुविधासहितको शिक्षा लिईरहेका छन् । यसका साथै शैक्षिक सामाग्री खरिदका लागि सरकारले प्रति विद्यार्थी मासिक पाँच सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

विद्यालयमा हाल कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, सल्यान जिल्लाका साथै अन्य प्रदेशका जिल्लाहरु बाँके, बर्दीया र कैलालीका विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया