कर्णालीका एक सय जना मध्य १० जनामा अल्जाइमर

पुनम वि.सी.
सुर्खेत, ६ असोज ।
नेपालमा अल्जाइमर रोगका वारेमा विषेश अनुसन्धान भएको छैन । तर अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको तथ्यांक हेर्दा यसको प्रारम्भिक संक्रमण अवस्था पहिचान गर्न सकिन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा स्वास्थ्य परीक्षण गर्न आउने ६० वर्ष कटेका नागरिकको तथ्यांक अनुसन्धानका आधारमा विद्यार्थीको सोधले एक सय जना मध्य ११ जनालाई ‘एल्जाइमर डिमेन्सिया’ भएको देखिएको छ । यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका नागरिकमा समेत एक सय जना मध्य १० जनामा यो रोग पुष्टि भएको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक अनुसार विश्वमा प्रत्येक तीन सेकेण्डमा एक जनालाई अल्जाइमर हुने गरेको छ । डब्लुएचओको २०१९ को तथ्याङ्क अनुसार विश्वभरि ५० बिलिएन भन्दा बढी ६० वर्षमाथिका मानिसलाई अल्जाइमर रोगको सिकार बनेका छन् ।

जसमध्ये ६८ प्रतिशत भन्दा बढी नेपाल जस्तो मुलुकका मानिसमा यस्तो समस्या देखिने गर्छ । ६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ । तर, ४० वर्षपछि मानिसको नसाहरू सुक्दै जाने हुँदा बिस्तारै यो रोगको सिकार हुने गरेको चिकित्सकको भनाइ छ ।

बिरामीले आफन्त र निकटका मानिसहरूलाई समेत चिन्न सक्दैनन् । आफ्नो वरिपरिका गतिविधिसंगसमेत मतलब नहुने, विभिन्न मानसिक समस्याका रोगहरु देखिने गर्छन् । दिसापिसाब बारेको चेतना समेत हराउँदै जाने हुन्छ र बिरामीको कपडामै दिसापिसाब छुट्ने समेतका लक्षण देखिन्छन्, ‘अल्जाइमर’ रोगको अन्तिम अवस्था यिनै लक्षणहरु हुन् ।

प्रदेश अस्पतालका मनोचिकित्सक डा. शुशिल समदर्शी भन्छन्, ‘मासिक रुपमा ५–६ जना बिरामी हामीकहाँ उपचारका लागि आईरहनुभएको छ ।’ अल्जाइमर’रोगका कारण बिरामीको खाने शैलीमा पनि अस्वाभाविक बदलाव आउने र समय बित्दै जाँदा बिरामीले खाना खाने तरिकासमेत बिर्सने हुनसक्ने उनले बताए ।जसका कारण बिरामी मात्र नभएर बिरामीको हेरचाह गर्ने निकटका व्यक्ति पनि समस्यामा पर्ने गर्दछन् ।

सामान्य रूपमा भन्ने हो भने अल्जाइमर बुढ्यौलीसँगै स्मरण शक्ति तथा मनमस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो । स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमा आएर जँचाएकाहरूमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर देखिन्छ ।

नेपालमा भने अल्जाइमरका बिरामीको यकिन तथ्यांक नभए पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यस रोगका बिरामी पनि देखा पर्ने क्रम बढ्दो अवस्थामा रहेको डा. समदर्शी बताउँछन् ।

अल्जाइमर रोग रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रूपमा निको पार्न पनि सकिँदैन । अल्जाइमर रोग एउटा दीर्घरोग हो, जसले मष्तिष्कमा विस्तारै क्षय गराउने गर्दछ । जसका कारण बिरामीमा स्मरण शक्तिका साथसाथै सोच्ने क्षमता, समस्या समाधान गर्ने क्षमता र बिस्तारै बोली र भाषामा पनि समस्या आउने गर्छ । बुढ्यौलीसँगै मष्तिष्कमा विभिन्न रसायनमध्ये ‘एसिटाइल कोलिन’ भन्ने रसायनको कमीले स्नायुहरूमा हुने क्षतिका कारण यो रोग लाग्ने डा. शमदर्शीले बताए ।

अल्जाइमर रोगको मुख्य जोखिमका रूपमा मानिसको बढ्दो उमेर नै रहेको छ । ६५ वर्षको उमेरपछि यो रोग लाग्न सक्ने जोखिम हरेक पाँच वर्षको अन्तरालमा दुई गुणाले बढ्दै जान्छ । सुरुवाति अवस्थामा यस रोगमा बिस्तारै कुरा बिर्संदै जाने, मान्छे र स्थानका नाम बिर्संदै जाने, चिजबिजका नाम बिर्संदै जाने र तत्काल गरेका कामसमेत बिर्सनेलगायतका लक्षण देखिन्छन् ।

त्यसपछि क्रमिक रूपमा बोली र भाषाको प्रयोगमा असहजता महसुस हुने, पहिले सहज रूपमा गरिआएका काम गर्ने तरिकासमेत भुल्दै जाने, योजना बनाउने र निर्णय लिने क्षमतामा कमजोरी देखिँदै जाने र दैनिक जीवनका सबै पक्षमा असहजता र अस्पष्टता बढ्दै जाने हुन्छ ।

अल्जाइमर रोग पूर्णरूपमा विकसित भएपछि यसको पूर्ण उपचार सम्भव नहुने हुँदा सुरुआतकै अवस्थामा यसको निरूपण गर्न सकेमा केही औषधिहरूको सहायताले यस रोगको विकासको गतिलाई केही मात्रामा कम गर्न सकिन्छ । यसका साथसाथै बिरामीको जीवनयापन सहज बनाउने उद्देश्यले यो रोगसँगै देखिने अन्य समस्यालाई लक्षित गरी विभिन्न औषधिहरूको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

अल्जाइमरको औषधीय उपचारसँगै बिरामीको हेरचाह र बिरामीलाई सेवा गर्ने परिवारका सदस्य र आफन्तहरूको सहजतासमेत यस रोगको महत्वपूर्ण पक्ष हो । यस रोगको मध्यम तथा अन्तिम अवस्थातिर दैनिक रूपमा बिरामीको सेवा गर्न दिनरात बिरामीको आफन्त खटिनुपर्ने हुनाले उनीहरूमा पनि शरीरिक तथा मानसिक थकान बढ्दै जाने र त्यसको समयमै निदान नभएमा त्यो आफैंमा प्रत्युत्पादक हुनेसमेत खतरा रहन्छ ।

तपाईको प्रतिक्रिया