प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी

पुनम वि.सी.
सुर्खेत, ३ असोज ।
वीरेन्द्रनगर ४ कालागाउँमा रहेको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने प्रक्रिया थालनी भएको छ । सोहिअनुरुप प्रदेश अस्पतालले प्रदेश अस्पताललाई ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउनका लागि बनाइएको ऐनको मस्यौदामाथि छलफल शुरु गरेको छ ।

कर्णाली प्रदेश सरकारले पनि आ.व २०७९/०८० को बजेटमा समेत ‘प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने’ लक्ष्यसहित प्राथमिकतामा राखेको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच सय शैयाको अस्पताल बनाउने प्रदेश सरकारको लक्ष्य छ ।

प्रदेश अस्पतालले अहिले दुई सय ९७ शैयासहितको स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । प्रदेश सरकारको मुख्य र संघीय सरकारको केहि आर्थिक सहयोगमा विशेषज्ञ सेवासहित सञ्चालन भईरहेको यो अस्पताल तत्कालिन मध्यपश्चिम क्षेत्रीय अस्पतालबाट २०७५ कार्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रुपान्तरण भएको हो ।

अस्पतालमा हालको जनशक्ति क्षमता, भौतिक पूर्वाधार, सेवाग्राहीको चाप, सेवाप्रवाहको अवस्था तथा भावी योजनाले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सम्भावना बढाएको अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्काको भनाई छ ।

‘भौतिक पूर्वाधार रहेको तथा थप पूर्वाधार विस्तारका लागि पर्याप्त जग्गा अस्पतालसँग छ । कर्णाली प्रदेशलगायत छिमेकी प्रदेशबाट समेत अस्पतालमा सेवा लिन आउने विरामीको चाप छ । ’ उनले भने, ‘दक्ष जनशक्ति उपलब्ध छन् । कर्णाली प्रदेशलाई स्वासथ्य तथा शैक्षिक क्षेत्रलगायतमा समृद्व बनाउन अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न आवश्यक छ ।’

कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न तथा सेवा क्षेत्रलाई विस्तार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवश्यकता परेको भन्दै उनले दक्ष स्वास्थ्यकर्मीको उत्पादन तथा विकास, स्वास्थ्य अनुसन्धान तथा त्यसका नवीनता र स्वास्थ्य सेवा क्षमता सुदृढिकरण गर्न प्रतिष्ठानको आवश्यकता औल्याए ।

प्रदेश अस्पतालमा अहिले तीन सय २५ जनाको दरवन्दी छ । तीमध्ये ९१ दरबन्दी पूरा भएका छा् । अस्पताल विकास समितिमार्फत ६२ र अन्य स्रोत मार्फत दुई सय ८१ जनशक्ति अस्पतालसँग छन् । चार सय ३९ जनशक्ति अस्पतालसँग रहेको अस्पताल निर्देशक डा. खड्का बताउँछन् ।

अस्पतालले एक सय ५० शैयाका लागि सरकारबाट अनुमति पाएको छ । तर अस्पताल विकास समितिमार्फत थप एक सय ४७ गरी कुल दुई सय ९७ शैयामार्फत अस्पतालले सेवा प्रवाह गरिरहेको छ ।

अस्पतालको क्षेत्राधिकारमा २० विगाह जमिन पर्छ । यो जमिन स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि पर्याप्त रहेको डा. खड्काले जानकारी दिए । अस्पतालसँग ६ वटा भवनहरु अस्पताल मापदण्डका छन् ।

अस्पतालमा सेवाग्राहीको चाप पनि बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ५२ जना सेवाग्राहीले दैनिक सेवा लिएको अस्पतालबाटा हालको अवस्थामा बढेर २०७८÷०७९ मा अस्पतालमार्पmत दैनिक पाँच सय २५ जना सेवाग्राहीले सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

एक वर्षभित्रै अस्पतालमा मृगौला प्रत्यारोपण सेवा समेत शुरु गर्ने अस्पतालको तयारी छ । यसका साथै ‘क्याथल्याव’को स्थापना, विद्युत तथा वैकल्पिक उर्जाको पर्याप्त व्यवस्था, थप एमआरआई मेशिनको जडान, डायलासिस सेवामा विस्तार र बर्थिङ सेन्टर सञ्चालन गर्ने अस्पतालको तयारी छ ।

‘हालको अवस्थाले यस अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सम्भावना देखिन्छ छ । डा. खड्काले भने, यसका साथै आगामी तीन वर्षभित्र हामी पाँच सय शैयाबाट अस्पताल सेवाप्रवाह गर्ने तयारीमा छौ ।’

प्रतिष्ठान स्थापना प्रक्रिया
‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थानपनाका लागि प्रदेश सरकारले छुट्टै ऐन ल्याउनुपर्ने हुन्छ । यसका साथै प्रतिष्ठान स्थापनाका लागि नेपाल सरकारको पूर्व स्वीकृती र नेपाल मेडिकल काउन्सिलबाटसमेत यसको मान्यता चाहिन्छ ।

नेपाल सरकारले समेत अनुमति दिनु पूर्व काउन्सिलसँग परामर्श माग गर्ने र काउन्सिलले सो बमोजिमको मापदण्ड तथा पूर्वाधार पूरा गरे नगरेको जाँचबुझ गरी मात्र स्वीकृतिका लागि परामर्श दिने नेपाल मेडिकल काउन्सिल ऐन, २०२० मा उल्लेख गरिएको छ ।

नेपालका सबै प्रदेशमा मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु छन् । ती सबै प्रतिष्ठानले प्रदेशका राजधानीबाट शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेका छन् । कर्णालीमा समेत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेको छ । तर अन्य प्रदेश झै कर्णालीको प्रदेशको राजधानीबाट मेडिकल कलेज तथा प्रतिष्ठानहरुको सेवा अभाव यहाँ महशुस गरिएको छ ।

ऐनको मस्यौदामाथि छलफल
प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउनका लागि आवश्यकपर्ने मस्यौदामाथिको छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा भगवान कोइरालाले अस्पताललाई स्वतन्त्र शैक्षिक प्रतिष्ठानका विकास गर्न आवश्यक रहेको औल्याउँदै यसका लागि कर्णाली प्रदेश सरकार र संघिय सरकारबीच तालमेल मिल्नुपर्ने बताए ।

‘आपूmलाई आवश्यक पर्ने जनशक्ति यहि उत्पादनको लक्ष्य लिएर काम गर्नुप¥र्यो ।’ आइतबार वीरेन्द्रनगरमा भएको कार्यक्रममा उनले भने, ‘स्वतन्त्र शैक्षिक प्रतिष्ठान बनाउनका लागि प्रदेश र संघीय सरकारबीचको सम्बन्धमा एकरुपमा आउन जरुरी छ ।’ प्रतिष्ठानका रुपमा विकास गर्न सो प्रकारको शैक्षिक वातावरण निर्माण गर्दै लैजानपर्ने सुझावपनि उनले दिए ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. वोधनाथ मरहट्ठाले, प्रदेश अस्पतालको हालको सेवाप्रवाह स्थितिले नै अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न मद्दत मिल्ने उल्लेख गरे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. अर्जुन कार्कीले प्रदेश अस्पताल हालको अवस्थामा आईपुग्नुनै प्रतिष्ठानका रुपमा विकासका लागि बाटो खुलेको टिप्पणी गरे ।उनले भने, ‘अस्पताललाई प्रतिष्ठानका रुपमा लैजान ऐन निर्माण हतियार मात्र हो, त्यतिले मात्र पुग्दैन । अस्पताललाई कस्तो बाटोमा लैजाने भन्ने योजना गरेरै अगाढी बढ्नु आवश्यक छ ।’

प्रतिष्ठानका रुपमा विकासको गतिविधिलाई बढाउन प्रक्रियागत कामकाजका लागि समिति गठन गरेरै अघि बढ्न उनले सुझाव दिए । यसमा सबै राजनैतिक दल, शिक्षाप्रेमी, समुदायलगायतको सहयोग आवश्यक रहने उनी बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रमेशनाथ अधिकारीलगायतका विज्ञले प्रदेश अस्पताललाई स्वतन्त्र शैक्षिक प्रतिष्ठानका रुपका विकास गर्नुपर्ने विज्ञहरुको भनाई थियो । छलफल कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाही, मध्यश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्वर ढकाललगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया