कर्णालीमा मानव वेचविखनको डरलाग्दो पासो

सृजना बुढाथोकी
सुर्खेत, २२ भदौं ।
अघिल्लो आर्थिक वर्षमा बाँकेको नेपालगञ्जमा रहेको माईती नेपालको कार्यालयमा हराईरहेका बालबालिका तथा महिला गरी ७ सय १२ जनाको खोजतलाशका लागि निवेदन पर्यो । तीमध्ये २ सय ८५ जनाको फेला परे, बाँकी ४ सय २७ जनाको अहिलेसम्मपनि कुनै अत्तोपत्तो न माईती नेपालले लगाउन सकेको छ न त तिनका आफन्तले नै ।

यसरी हराएका भनेर निवेदन दिनेमा कर्णालीका विभिन्न जिल्लाका महिला र बालबालिकाको संख्या ३ सय ५९ रहेको माईती नेपालको तथ्यांकमा उल्लेख छ । यसरी हराउनेमा सबैभन्दा बढि सुर्खेतका १ सय १९, जाजरकोटका ६१, दैलेखका ५८, रुकुमका ४१, सल्यानका ३७, कालिकोटका २३, जुम्लाका १६, मुगु २ र डोल्पा तथा हुम्लाका समान १– १ जना रहेको जनाइएको छ ।

सुर्खेतका २ जना, दैलेख र रुकुमका १–१ जनालाई भारत तथा खाडी मुलुकबाट उद्धार गरी फर्काएको माईती नेपालका केशव कोइरालाले जानकारी दिए । ‘तीन तहको सरकार, मानव बेचविखन विरुद्धको सरोकार’ भन्ने मूलनाराका साथ यस वर्षको मानव बेचविखन विरुद्धको दिवस मनाइरहँदा मानवबेचविखनको पासो कर्णाली प्रदेशमा पनि फैलदैं गएको यिनै डरलाग्दो तथ्यांकहरुले दर्शाउँछन् ।

कर्णालीमा व्याप्त गरिबी लगायतका विभिन्न कारणले महिला तथा पुरुष दुबै वैदेशिक रोजगारीमा जानेको पनि संख्यामा बढेको र विदेशमा एउटा काममा भनेर अर्को काममा लगाएरपनि बेचविखनमा पर्ने गरेको कोइराला बताउँछन ।

जानी–नजानी, झुक्याइएर या थाहै नदिई सीमा कटाउन लागिएकामध्ये सोधपुछ र केरकार गर्दा शंकास्पद अवस्थामा जोखिमपूर्ण यात्रामा रहेका कर्णालीका विभिन्न जिल्लाका २ सय ९६ महिला र बालबालिकालाई माईती नेपालको आवधिक गृहमा राखिएको छ ।

जसमा सुर्खेतका १ सय ११, जाजरकोटका ४७, दैलेखका ४६, सल्यानका ४४, रुकुमका २८, कालिकोटका ८, जुम्लाका ७, मुगुका ४ र डोल्पाका १ जना रहेको माइती नेपालले जानकारी दिएको छ । यसरी मानव बेचविखनमा परेका महिला, पुरुष तथा बालबालिकालाई परिवार र समाजमा पुनःस्थापना गराउन निकै समस्या नै हुने गरेको अधिकारकर्मी कोइरालाको भनाई छ ।

‘परिवारका सदस्यले पनि अब के गर्ने ? समाजमा हाम्रो लाज भयो भन्ने सोचले गर्दा समाजमा फर्काउन सकस हुने गरेको छ ।’ उनले भने,‘यसरी बेचविखनमा परेका परिवारलाई बोलाएर मनोसामाजिक परामर्श र समस्यामा परेकोहरुलाई कानूनी सहायता दिने गरेका छौं ।’

तीमध्येपनि पढ्ने ईच्छा भएकालाई शिक्षामा सहायता र काम गर्न चाहनेका लागि सीपमूलक तालिम दिएर सहयोग गर्ने गरेको पनि उनले जानकारी दिए । सरसफाई लगायतका घरायसी काम र उस्तैपरे यौन शोषणमा गर्नसमेत सहज हुने भएकाले पुरुषको तुलनामा महिला तथा बालबालिकालाई उच्च जोखिममा रहेको उनको भनाई छ ।

स्थानीय, प्रदेश तथा संघिय सरकारहरुले यस विरुद्ध कडा नीति बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै कोइरालाले आफ्नो प्रदेशका नागरिक कुनै पनि समस्यामा नपरुन भन्नका प्रदेश सरकारपनि अग्रसर हुनुपर्ने औल्याए ।

यता कर्णाली प्रदेशको जोखिम उच्च रहेको कर्णाली प्रदेशमा भने मानववेचविखन नियन्त्रण गर्ने, जोखिममा परेका नागरिकको उद्धार, संरक्षण या पुनःस्थापनाका लागि प्रदेश सरकारको कुनै संयन्त्र र संरचना भने देखिंदैन ।

मानव बेचविखनको चपेटामा अधिकांश महिलाहरु पर्ने गरेको बताउने सामाजिक विकास मन्त्रालयकी महिला तथा बालबालिका शाखाकी अधिकृत अनिता ज्ञवालीले महिलापछि बालबालिकाहरु बढि जोखिममा पर्ने गरेको बताइन ।

‘मानवलाई बेच्ने प्रकृतिले एक ठाउँबाट अर्को ठाउँमा लैजाने, मानव अंग बेच्ने, बालबालिकाको अंग बेच्नका लागि लैजाने समस्या छ’ भन्दै उनले कर्णालीमा पनि मानव वेचविखनको जोखिम रहेको सुनाइन । त्यसको रोकथामका लागि भने मन्त्रालयले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका बालगृहमा अनुगमनसम्म गर्ने गरेको उनले जानकारी दिईन ।

तपाईको प्रतिक्रिया