पुँजीगत खर्च कम

मुगु,२१ भदौ  ।

मुगु जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयले समयमै कार्यक्रम सञ्चालन नगरिदिँदा आव २०७८र७९ मा आधा मात्रै पुँजीगत खर्च भएको छ । कर्णाली प्रदेश सरकारका मन्त्रालयले जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयलाई समयमै कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि नदिँदा विनियोजित पुँजीगत बजेटको ५५ प्रतिशत मात्रै खर्च भएको हो ।

यस जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिका–७ को लिब्रुखोला भालु सिँचाइ उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर शाहीले कर्मचारीको काम गर्ने तौरतरिका पुरानै हुँदा काम गर्न गाह्रो भएको बताए  । उनले सम्बन्धित निकायले समयमै सम्झौता गरी काम सम्पन्न भएपछि भुक्तानी गरिदिनुपर्ने माग गर्नुभयो । प्रदेश मन्त्रालयको कार्यविधिको ढिलाइका कारणले गत वैशाखमा मात्र योजनाको सम्झौता गरिएको थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजीव रिमालले प्रदेश मन्त्रालयको कार्यविधिको ढिलाइले सबै योजना समयमै सम्झौता हुन नसकेको र समयमै भुक्तानी पनि हुन नसकेको बताए  । “असारमा भुक्तानी हुन नसकेका योजनाको रकम अबको केही दिनमा भुक्तानी हुनेछ,” उनले भने  । उपभोक्ता समितिले समयमै काम सम्पन्न गरे पनि नेटवर्कका कारण मसान्तभित्र भुक्तानी हुन नसकेको उनले जानकारी दिए ।

जनशक्ति अभावका कारण समयमै काम सम्पादन गर्न र उपभोक्ता समितिसँग समयमै योजना सम्झौता हुन नसकेको कृषि विकास कार्यालयका प्रमुख खेमराज शाही बताए  । उनका अनुसार जिल्लाका सबै प्रादेशिक कार्यालयमा यस्तै समस्याले गर्दा समयमै काम सम्पादन हुन नसकेको हो ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानबहादुर वलीले आव २०७८र७९ मा प्रदेश मातहतका कार्यालयको चालू बजेटको ६१ करोड २८ लाख ७४ हजार रुपियाँ विनियोजन भएकामा ४५ करोड ८९ लाख ९३ हजार रुपियाँ खर्च भएको बताउनुभयो । उहाँले कर्मचारीको तलबभत्ता, कृषि र स्वास्थ्यलगायत क्षेत्रमा कुल बजेटको ७४ प्रतिशत खर्च भएको जानकारी दिए  ।

त्यसैगरी पुँजीगततर्फ एक अर्ब २३ करोड ९६ लाख ३५ हजार रुपियाँ विनियोजन भएकामा ६९ करोड १२ लाख छ हजार रुपियाँ मात्र खर्च भएको बताइएको छ, जुन कुल विनियोजित रकमको ५५।७५ प्रतिशत हो ।

गाेरखापत्र

तपाईको प्रतिक्रिया