नगर विकास र विस्तारको एकिकृत योजना बनाउनुपर्नेमा जोड

सुर्खेत,२० भदाै‌ ।
वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा विकास र विस्तारका लागि एकिकृत योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । फोहोरमैला विर्सजन, सडक, फुटपाथ, पार्किंग तथा ट्राफिक व्यवस्थापनमा बेग्ला बेग्लै निकायले बेग्ला बेग्लै तौरतरिकाले काम गरिरहेको हुँदा अपेक्षित उपलब्धि हासिल नभएको औंल्याउँदै यस्तो जोड दिइएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले सबै क्षेत्रको सक्रिय सहभागितामा वीरेन्द्रनगरलाई विस्तारित र व्यवस्थित बनाइने बताइन् ।

नगरपालिका एक्लैले चाहेर मात्र पनि फोहोरमैला व्यवस्थापनदेखि सडक विस्तार, पार्किंग तथा ट्राफिक व्यवस्थापन गर्न नसक्ने भन्दै उनले यसमा नगरवासीसंगै, निजी क्षेत्र र गैरसरकारी संस्थाबीच सहकार्य गरिने नगर प्रमुख ढकालको भनाई छ ।

सरकारी जग्गा सस्तो भाडामा लिएर पसल व्यवसायका लागि फेरि तेश्रो पक्षलाई चर्को भाडामा दिइएको बारेमा अध्ययन् भईरहेको बताउँदै नगरप्रमुख ढकालले त्यस्ता जग्गा ढिलो चाँडो खाली गराएरै छाड्ने प्रतिवद्धतापनि जनाइन ।

फोहोर मैला व्यवस्थापन नगरपालिकाको जिम्मेवारी भएपनि नागरिकको दायित्व समेत भएको भन्दै उनले नगरवासीको सक्रिय सहभागिता र सहयोगबिना नगरपालिकाले चाहेर मात्रैपनि फोहोर व्यवस्थापन गर्न नसकिने जिकिर गरिन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले फोहोर व्यवस्थापन नागरिकको नैतिक जिम्मेवारी र सभ्यताको विषय भएकाले हरेकका पछाडि प्रहरी लगाएर साध्य नहुने टिप्पणी गरे । सरसफाई अभियन्ता एवं बालरोग विशेषज्ञ डा. नवराज केसीले ईच्छा शक्ति भए धेरै ठूला साधन उपकरण बिनापनि आप्mनो गाउँठाउँलाई स्वच्छ, स्वस्थ र सफासुग्घर राख्नसकिने भन्दै नगरपालिकालाई विभिन्न सुझाव दिए ।

यस्तै संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार वस्नतेले पिपलचौतारीदेखि भानुपार्क हुँदै गणेशचोकसम्म पैदलमार्गका रुपमा विकसित गरी सडक छेउमा नाचगानसहित स्ट्रिटफुड फेस्टिबल गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृत नरहरि तिवारीले सरसफाई नीति एवं कार्यविधि, एसएनभीका पार्वती दंगालले फोहोरमैला तथा सरसफाई व्यवस्थापन, अन्तरनिर्भर समाजका विवेक शाहीले व्यवस्थित ढल,नाला एवं हरित सडक तथा ट्राफिक, पार्किंग तथा सडक व्यवस्थापनबारे ट्राफिक प्रहरी उपरीक्षक भुवेनश्वर तिवारीले आ आप्mनो कार्ययोजना प्रस्तुत गरेका थिए ।

वीरेन्द्रनगर नगरपालिकाका समन्वय, ६ नंं वडा कार्यालयको सहआयोजना, एसएनभी नेपाल र अन्तरनिर्भर समाजको सहयोग तथा सुन्दर नेपाल र मित्र समाजले सहजीकरण रहेको कार्यक्रम सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कंडेलको अध्यक्षतामा भएको हो ।

तपाईको प्रतिक्रिया