जिवनशैली : पुरुषको कपाल काट्ने महिला !

सृजना बुढाथाेकी

सुर्खेत,२० भदाैँ ।

पछिल्लो केही वर्षयता महिलाहरू पनि पुरुष सरह हरेक क्षेत्रमा जमेरै काम गरिरहेका छन् । उनीहरू कुनै काममा पनि पछि छैनन् भन्ने देखाउँदै गएका छन् । वीरेन्द्रनगरमा हेयर मास्टर सैलुन छ । सैलुन भन्ने बित्तिकै कपाल काट्ने ठाउँ जहाँ पुरुषले नै पुरुषका जुंगादार्ही र कपाल काट्छन् । तर यस सैलुनमा  पुरुषहरुको कपाल महिलाले काटेको देख्न सकिन्छ । झट्ट सुन्दा अनि देख्दा जो कोहिलाई अचम्म लाग्न सक्छ । सुदूरपश्चिमको महेन्द्रनगर घर भएकी कविता बोगटी रोजगारीकै शिलशिलामा सुर्खेत आएकी हुन् ।

उनी सुर्खेतमा एकमात्रै महिला हुन जसले पुरुषको कपाल काट्ने गरेकी छिन् । आमाबुवा र भाईबहिनीको जिम्मेवारी बोकेकी कविताको परिवारमा कमाउने कोहि छैन् । बिरामी बुवा आमा र पढ्दै गरेका भाईबहिनीका लागि उनले आफ्नो पढाई एसइई सकेर पूर्णविराम लगाईन् । उनले पुरुष, महिला तथा बालबालिका सबैको कपाल काट्छिन् । उनी हेयर मास्टर सैलुनकी अलराउण्डर कर्मचारी हुन् । उमेरले २० वर्ष मात्रै पुगेकी कविता जिम्मेवारीले परिपक्क भएकी छिन् ।

उनले बुटवलमा गएर कपाल काट्ने काम सिकेको बताइन् । घरपरिवारको जिम्मेवारीले उनलाई जिम्मेवार बनाएको उनले बताइन् । काम सिक्दा निकै मेहेनत र लगनले सिकेको हुदाँ अहिले कुनै पनि ग्राहकको गाली खानु नपरेको उनले सुनाइन् । कविता जस्तै अर्की गंगा विष्ट पनि  यहि सैलुनमा काम गर्छिन् । धनगढीकी गंगा पनि सबैको कपाल काट्न सिक्दैछिन् । धनगढीमै ब्याचलर तेस्रो बर्षमा अध्ययनरत् गंगा परीक्षाको समयमा मात्रै विद्यालय जान्छिन्, बाँकी समय सुर्खेतमा यहि काम गर्छिन् ।

करिब ५ वर्ष पहिला बुवाको मृत्यु भएपछि आमा र दाई मात्रै उनको परिवारमा छन् । दाईको पनि कुनै रोजगारी नहुदाँ घर चलाउनै मुश्किल भएपछि उनले काम गर्ने योजना बनाइँरहदा यतातिर ध्यान गएको उनले बताइन् । काम सिक्नकै लागी उनी धनगढीबाट सुर्खेत आएकी हुन् । अब लगभग काम सबै सिकिसकेको उनले बताइन् । उनीहरु जस्ता यस सैलुनमा ३ जना महिला र २ जना पुरुष गरेर ५ जना कर्मचारी छन् । समाजको भावना र बुझाइलाई चिर्दै फरक पेशा अँगालेका महिला हुन् महेन्द्रनगरकी कविता र धनगढीकी गंगा बिष्ट ।

उनीहरूले केही फरक काम गरौं भन्ने सोचले कपाल काट्नेदेखि पुरूषको दाह्री मिलाउनेसम्मको काम गर्न शुरू गरिरहेका छन् । कविता र गंगाले पनि यस सैलुनका अल राउण्डर काम सिक्दै छिन् । कविताले मासिक ३५ हजार कमाउछिन् । कविताले ग्राहकको रोजाई अनुसारका स्लोभ, हाफ स्लोभ, मग जस्ता हरेक किसिमका कपाल काट्ने गर्छिन् । सैलुनमा आउने ग्राहकहरु मध्ये अधिकाशंले स्लोभ मै कपाल काट्न लगाउने गरेको कविताले बताइन् ।

काम गर्दै गर्दा सधै एकनास त हँुदैन तर गरेको काममा कहिले पनि नराम्रो प्रतिक्रिया आएको छैन, उनले भनिन् । आफ्नो कामदेखि आफु  सन्तुष्ट भएको  उनको भनाई छ । कहिलेकाहि कोहि पुरुष ग्राहकले दाँया बाँयाको ख्यालै नगरी सुन्नै नसक्ने अश्लिल शब्दहरु बोल्ंिदा भने उनीहरुलाई अप्ठेरो लाग्ने मात्र हैन नराम्रोपनि लाग्छ । त्यसबाहेक काम गर्दा कुनै समस्या नभएको कविता र गंगाको अनुभव छ ।

सुरुसुरुमा चाहिँ केटा मान्छेको कपाल, दाह्री काट्दा असजिलो लागेको पनि उनीहरुले सुनाए। ‘भारतीय दाजुभाइहरुले नेपालीको कपाल काटेर करोडौं लैजानुहुन्छ तर, नेपाली युवा–युवतीहरु रोजगारीका लागि विदेश जाने गरेका छन्’ गंगाले बताइन् । ‘शुरूशुरूमा त मानिसहरू आउने, कपाल काट्न कुर्सीमा बस्नुस् भनेर काट्न जाँदा हिच्किचाएर मुखमा हेर्ने
गर्थे । मलाई पनि शुरूमा काम गर्न केही असहजजस्तो लाग्थ्यो । अहिले त्यस्तो  कुनै समस्या छैन,’ कविता भन्छिन्, ‘ क्षमता र सीप भए जे काम गर्न पनि सकिन्छ, सक्नुपर्छ/गर्नुपर्छ । कपाल काट्ने र दाह्री मिलाउने काम पुरूषको हो भन्ने समाजको सोचाइ तोडिएको छ ।’

हेयर मास्टर सैलुनमा कपाल काट्न पटक–पटक पुग्ने वीरेन्द्रनगर ८ का विबेक खड्का भन्छन्, ‘उहाँहरुले कपाल काट्ने राम्रो सेवा दिनुभएको छ ।’ पुरुषको कपाल, दाह्री काट्ने, हेयर वास, फेस क्लिजिगं गर्ने काम सबै काम उनीहरुले राम्रो गर्ने गरेको नेपालगञ्जका आशिब खानले बताए । सलुनमा महिलाको कपाल मिलाउनेदेखि  शृंगारका काम गर्छन् यिनै आशिब  खानले । उनलाई पनि शुरूमा केही अप्ठ्यारो नलागेको पनि हैन तर अहिले हरेक काम सजिलो भएको छ ।

सैलुनका संचालक पार्वती विष्टका अनुसार हेयर मास्टर सैलुन नाम गरेरै बुटवल, सुर्खेतको छिञ्चु र वीरेन्द्रनगरमा गरी ३ वटा सैलुन खोलिएको हो । करिब १२ लाखको लगानीमा वीरेन्द्रनगरमा संचालन गरिएको सैलुनमा ३ जना महिला र २ जना पुरुष गरी ५ जनालाई रोजगारी दिइएको छ । तर ३ वटा सैलुनमा १८ जनालाई रोजगारी दिइएको छ । उनका अनुसार
सिजनमा ४५ हजार देखि ५० हजार रुपैयाँभन्दा बढीको कमाई हुने गरेको
छ ।

अफ सिजनमा पनि न्यूनतम भनेकै ३० हजार त कहिल्यै नटुट्ने उनले बताइन् । एकपटक आएका ग्राहकनै कामलाई राम्रो मानेर दोहोरिने गरेको उनको भनाई छ । दैनिक जसो २० देखि २५ जना ग्राहक आउने गरेको उनको भनाई छ । चुलोचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि पार्वतीले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय काम बन्न पुगेको छ ।

पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उनले हेयर कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाउँछिन् । कपाल काट्ने, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्ने लगायतका सबै काम कविता र गंगा संगै आफुले पनि गर्ने संचालक पावर्तीले गर्वका साथ भनिन् ।

तपाईको प्रतिक्रिया