काठमाडाैँले चिन्न नसकेकाे कर्णाली

बाल गाेपाल देवकाेटा

सुर्खेत, १९ भदाै ।

विकसित राष्ट्रका नागरिक र नेपालीको तौलको अन्तर चन्द्रमा र पृथ्वीको जस्तै छ । काठमाडौं र कर्णालीवासीका कथाव्यथा र अवस्थाको अन्तर पनि उस्तै छ । त्यसैले केवल आदेश र उपदेशले मात्र मुलुकलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न कसरी सम्भव हुन्छ? हरेक नागरिकले नेपाली हुन पाएकामा गर्वानुभूति गर्ने अवस्था कसरी सिर्जना गर्ने? यो सत्ता चिन्तनमा देखिनुपर्ने हो । यो चिन्तन अहिलेसम्म नदेखिएको मात्र होइन, सोच्नुपर्छ भन्ने सोचसम्म पलाएन । एउटै देशको विभिन्न भूमिमा जन्मेका कारण कोही लाभैलाभको पोखरीमा नुहाउने त कोही मगन्ते बन्ने अवस्थाले वास्तविक भावनात्मक एकता फलामको चिउरा सावित हुँदै गएको छ ।

सवाल कर्णाली र काठमाडौंको मात्र होइन, उत्पीडक वर्ग र उत्पीडित वर्गबीचको अन्तर पनि कम कहाली लाग्दो कहाँ छ र!जीविकाका लागि मृत्युलाई चुनौती दिँदै रगत सुकाउँदै हड्डी गर्दै कालापहाड धाउनु कर्णालीवासीको नियती बन्यो अनि  बनाइयो । लाग्छ यहाँका बासिन्दासँग केवल नागरिकताको प्रमाणपत्र बेगर के छ र काठमाडौंले दिएको? सो प्राप्त गरेबापत कर र दस्तुर टक्र्याइ रहेकै छन् । साधनस्रोतको वितरण र राज्यको उपल्लो निकायमा केवल फड्के किनाराको साक्षीको रुपमा चित्त बुझाइरहेका छन् । तर पनि नेपाली हुनुमा गर्व गर्छन् ।

मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि धावाको त कल्पना नगरौं, औँलासम्म पनि उठाएका छैनन् । योभन्दा अर्को धैरे र महानता के  हुनसक्छ? भोको पेट र नाङ्गो शरीरले यो राष्ट्रियता र शासन व्यवस्थालाई कति  बोकिरहन सक्ला? नागरिकलाई राज्यले गर्ने विभेदको चरमोत्कर्ष योभन्दा अर्को के हुन सक्छ? मुलुकलाई भाषा सभ्यता र संस्कृति दिनु कमजोरी हो? नागरिकताको प्रमाणपत्र उनीहरुका लागि केवल बोझ अनुभूति नहोस् ।  एकातर्फ एक्काइसौं शताब्दीमा मंगलग्रहमा मानव बस्तीको तयारी भइरहेछ भने अर्कोतर्फ कर्णालीलाई उपेक्षा गरेर
मानवरहित भूगोलमा फेर्ने कोसिस गरिँदै छ ।

आफ्नै देशको भूगोललाई नर्कको दर्जा  दिएर जन्मभूमि त्याग गर्न उक्साउनु शासकीय नालायकी मात्रै होइन, जनताप्रति गरिएको घोर अपराध पनि हो । कर्णाली जस्ता क्षेत्रले उत्पीडनको मार खेपिरहनु पर्यो । कर्णालीले नेपाललाई भाषा, संस्कृति र सभ्यता दियो । राजनीतिक परिवर्तनको विशिष्ट मोडलमा उल्लेख्य योगदान गर्यो । केही सपना टोपीधारी राजाहरूका दरबारले किचे, केही सपना अपर कर्णाली सम्झौताले बगायो । केही सपना जनसेना शिविरसँगै भत्किए ।


केही सपना कोमामा छन्, केही सपना खाडीमा संघर्ष गर्दै छन् । केही सपना हिमाचल प्रदेशका जाडोमा कठ्यांग्रिएका छन् । बाँकी सपना कर्णालीका पुत्रको काँधमा कर्णालीमै बिलाएर, जलेर खरानी भएका छन् । कर्णालीका जंगलमा हरियो डलर कुहिरहेको छ । नदीमा पानीसंगै डलर बगिरहेको छ । रारा र फोक्सुण्डो जस्ता प्रकृतिका अमूल्य उपहारको पिँधमा डलर थेँग्रिएको छ । तर, त्यसकै छेउका जनता गरिबीको भिमकाय पहाडले थिचिएका छन् । राज्य भने उदासिन छ ।

स्वर्गकी परी स्विजरल्याण्डको पनि  स्विट्जरल्याण्ड भनेर परिभाषित नेपालको  सर्वाधिक ठुलो ताल रारा, नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो, सबैभन्दा लामो निर्मल पानीकी खानी कर्णाली नदी, सुन भने पनि हुने बहुमूल्य जडीबुटी यार्सागुम्बाको भण्डार ,नेपाली भाषाको जन्मकर्ता कर्णाली । तैपनि सुन सिरानीमा राखेर नुन खोज्न कणाली विवश छ । कर्णालीको गर्भमा रहेका असीमित सम्भावनालाई पूर्ण उपयोग गर्ने हो भने कर्णाली नेपालको स्विट्जरल्याण्डमा अनुवाद हुने निश्चित छ ।

विदेश तथा स्वदेशका विभिन्न बस्तीबाट यस क्षेत्रमा अवसरका लागि आउने प्रतिस्पर्धा चल्नेछ । सिंगो कर्णालीलाई पनि अभावको प्राय ठान्ने गरिन्छ, अभावको प्राय नभएर समृद्धिको अर्को नाम कर्णाली/कर्णाली नदी बनाउने महान राष्ट्रिय संकल्प नेपाली म ा ट ा े क ा े अ ा व श् य क त ा हो । यो नदीले जलविद्युत उत्पादन मात्र होइन, खानेपानी र सिँचाइको आवश्यकता
परिपूर्ति गर्ने छ । जलमार्ग बन्न सक्ने सम्भावना पनि उत्तिकै छ । पेट्रोल, डिजेलको विद्युतको विकल्प छ तर पानीको विकल्पको कल्पनासमेत गर्न सकिँदैन । तेल पिएर प्यास मेटिँदैन । भलै तेल नै महँगो हुन्छ पानीभन्दा ।

कर्णालीको कञ्चन पानी बोतलमा भरेर विश्वलाई निर्यात गर्ने सपना पनि अंकुराउनुपर्छ । हजारौं मेगावाट विद्युत् र खर्बौँ लिटर पानी निर्यात गर्न सकिनेछ । राष्ट्रिय अर्थतन्त्र मजबुत हुनेछ । राष्ट्रिय पुँजी, श्रम र विज्ञताको एकीकृत र केन्द्रीकृत परिचालन गरिएको  नमूना योजना बन्नेछ यो । विदेशी भूमिमा सुन फलाउन कम्मर कसेका नवजवानहरुलाई स्वदेशमा नै मोती फलाउन प्रेरित गर्नेछ । सुतेका ब्युँझिने छन् , ब्युँझेका हिँडने छन्, हिँडेका दौडिने छन् । लौरो बोकेका
वृद्धसमेत लौरो फ्याँकेर कुटो, कोदालो बोकेर यो राष्ट्रिय गौरवको परियोजनामा हाम फाल्ने छन् ।

लगानीका लागि सिंगो मुलुकलाई अपिल गर्न सकिने छ । जोसँग पैसा छैन, उनीहरूको श्रमलाई नगद शेयरमा परिणत गर्न सकिनेछ । श्रम बैंक स्थापित हुनेछन् । उनीहरुको विशुद्ध श्रमिक होइनन्, लगानीकर्ता हुनेछन् । अस्ताउँदै गरेका आशाका किरणहरू उदाउने छन् । मर्न थालेका चाहनाहरु सल्बलाउने छन् । यो एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो, पर्यटन, जडीबुटी, कृषिलगायतका क्षेत्रमा पनि प्रचुर सम्भावनाहरु छन् । कर्णाली सम्भाव नै सम्भावनाको सरोवर हो, हरियो चश्माले रातो गुलाफ हेरे  त्यो कालो धब्बा नदेखिए के देखिएला र ! यो वास्तविकतालाई न्याय गर्नसके कर्णाली नेपालको गौरव बन्ने छ ।

सम्पन्न कर्णाली, विकसित कर्णाली, उत्तम कर्णाली, सु–संस्कृत कर्णाली र नमुना कर्णाली सम्भव
हुनेछ । कर्णाली नेपालको समृद्धिको साँचो हो । यो बिना समृद्धिको ढोकामा लागेको भोटेताल्चा खुल्दैन । त्यसैले अहिलेसम्म खुलेको छैन । कर्णालीको शिरमा थोपरिएको उत्पीडन, अपहेलना, विभेद र शोषण पनि साँचो हो । सत्य हो । तसर्थ कर्णाली साँचो हो सिंगो मुलुकको ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार