अागलागी नियन्त्रणमा छैन पुर्व तयारी

सृजना बुढाथाेकी

सुर्खेत, १९ भदौ।

सुर्खेत बसपार्कमा रहेको चेतन स्टोर्समा ३ महिनाअघि आगलागी हुँदा आठ लाख रुपैयाँ बराबरको धनमाल जलेर खरानी भयो । २०७९ जेठ २ गते राति विद्युतको ‘लाइन सर्ट’ भएर पसलमा लागेको आगोले पुर्याएको क्षतिको पूर्तिे पसल सञ्चालकले कसैबाट पाएनन । त्यसअघि २०७४ साल पुष ८ गते राति अस्थायी बसपार्क नजिकै रहेका पूजा सब्जी मण्डीलगायतका पसलमापनि यसैगरी आगो लाग्दा १ करोडभन्दाा बढिको नोक्सानी व्यहोर्नपर्यो ।

पूजा सब्जी मण्डीबाट सुरु भएको आगो सल्किंदै संगैको गंगामाला फेन्सी हाउसमा समेत आगोले ३५ लाखभन्दा बढिको क्षति पुर्यायो भने अन्य पसलहरुमा पनि उस्तै हानी नोक्सानी भयो । बत्ति नभएका बेला बालेको मैनबत्ति निभाउन भूल्दा, धूपबत्ति, ग्याँस, र कतिपय अवस्थामा विद्युतको लाइन सर्ट हुँदापनि आगलागीका घटनाहरु हुने गरेका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लामा भएका १६ वटा आगलागीका घटनामा ६२ लाख ८८ हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।

आगलागीमा एक महिलाको मृत्यु हुनुका साथै नौं वटा घर, चार वटा गोठका साथै ३१ वटा पशुचौपाया समेत खरानी भएको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

सरकारि निकाय समेत बेपर्वाह

वर्षेनी आगलागीका घटना हुने गरेपनि सम्भावित दुर्घटनाको क्षति न्युनिकरणका लागि सुर्खेतलगायत प्रदेशभर नै पूर्वतयारी भने गरेको देखिंदैन । आगलागीका घटनाबाट हुने मानवीय तथा धनमाको क्षति न्यूनिकरणका लागि स्थानीय तहलगायत प्रदेश सरकारले कुनै पनि योजना बनाएर कार्यान्वयन गरेको देखिदैन । शहरी क्षेत्रका रुपमा हेर्दा वीरेन्द्रनगर नगरपालिकामा आगलागीको सम्भावना बढी छ । बढ्दो जनघनत्व, साँघुरिएका संरचनालगातले यहाँ आगलागी भईहाले बढी क्षति हुने उच्च जोखिम छ ।

तर यसप्रति वीरेन्द्रनगर नगरपालिकाले भने ध्यान दिएको देखिदैन । सुर्खेत जिल्लामा भएका विद्यालय, अस्पताल, होटल, रेष्टुरेण्टलगायत मान्छेको धेरै भिडभाड हुने ठाउँहरुमा अनिवार्य रुपमा राखिनुपर्ने अग्नि नियन्त्रणका यन्त्र र उपाय अपनाएको पाइँदैन । खासगरि साना बालबालिका पढ्ने मन्टेश्वरीका साथै विद्यालय र कलेज क्याम्पसहरुमा सम्भावित आगलागीबाट हुनसक्ने क्षति कम गराउन अग्नि नियन्त्रण यन्त्रको सबैभन्दा बढि आवश्यक्ता देखिन्छ । खाना पकाउने ग्याँसका गोदाम, पेट्रोल पम्प र प्रज्वनशील पदार्थको प्रयोग हुने उद्योगहरुमा सरकारले अग्नि नियन्त्रण यन्त्र राख्न अनिवार्य नै गरेको छ ।

तर अग्नि नियन्त्रण यन्त्र राखिएका ठाउँमा पनि म्याद कटेर कामै नलाग्ने अवस्थामा छन भने कतिपय ठाउँमा अग्नि  नियन्त्रण यन्त्र चलाउने जान्ने मान्छे नहुँदा देखाउनकै लागि मात्र राखेजस्तो पाइएको छ । मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा अग्नि नियन्त्रकयन्त्र त छ तर अन्य सबै कार्यालयहरुमा यसको अनिवार्य व्यवस्था नै गरिएको छैन। जिल्ला प्रशासन, मालपोत लगायत नागरिकहरुका अति सम्वेदनशील रेकर्डसहितका कागजपत्र रहने सरकारी
कार्यालयहरु समेत अग्निनियन्त्रण गर्ने यन्त्र राखेको देखिंदैन ।

भवन निर्माण मापदण्ड २०७१ अनुसार दुईतल्ला भन्दा बढिका सभाभवन, शैक्षिक भवन, होटल, अस्पताल, पार्टीप्यालेस आदि लगायतका व्यवसायिक प्रयोजनका भवनहरुमा अग्निनियन्त्रण यन्त्र अनिवार्य गरिएको छ । यस्ता भवनहरुमा अग्निनियन्त्रण यन्त्र

अनुगमन गर्ने निकाय नगरपालिका हो । तर वीरेन्द्रनगर नगरपालिकाकै कार्यालयमा समेत अग्निनियन्त्रण यन्त्र अहिलेसम्म राखिएको छैन । दमकल सञ्चालनमा ल्याएको नगरपालिकाले भने आगलागी घटनाको पूर्वतयारीका कार्यक्रम, साधनको सुनिश्चितता तथा पहुँचलगायतका विषयमा ध्यान दिन सकेको देखिदैन । नगरमा आगलागीका घटनाका लागि पूर्व तयारी सम्बन्धमा कार्यक्रमहरुबारे हालसम्म कुनै योजना नगरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी बताउछन् ।

‘आगलागी भईहाले दमकलदेखि फायर फाइटरसम्म सबै छन् ।’ उनले भने, आगलागीको क्षति न्युनिकरणका लागि दमकल पुग्नु अगावै अपनाउन सकिने सुरक्षा उपायहरुका विषयमा भने काम गरेका छैनौ ।’ मुख्यमन्त्री कार्यालयका उपसचिव कृष्णप्रसाद खरेलले पनि जिल्लका कार्यालयहरुमा अग्नि नियन्त्रक यन्त्र नभएको र भएकोमा समेत म्याद गुज्रिएका हुनसक्ने भन्दै यस विषयमा सम्वन्धित निकायले चासो दिनुपर्ने जिकिर गरे । आगलागी क्षति जोखिम नियन्त्रणका लागि समस्या देखिनसक्ने भएकाले प्रत्येक निकायमा अग्नि नियन्त्रक यन्त्र हुनु आवश्यक भएको खरेल बताउँछन् ।

‘कतिपय कार्यालयमा अग्नि नियन्त्रक यन्त्र राखेको देखिदैन, राखेका पनि म्याद गुज्रियका छन्आवश्यक परेमा काम पनि गर्दैनन्, यसमा ध्यान नदिइएको  देखिन्छ’, उनले भने, ‘यो अत्यावश्यक वस्तु हो भन्ने सबैलाई जानकारी पनि छैन’, उनले भने । धेरै जस्तो आगलागीका घटना विद्युत लाईन सर्ट भएरै हुने भएकाले यस्ता यन्त्र र यसलाई चलाउने जनशक्तिको आवश्यकता औल्याउँदै उपसचिव खरेलले, यो विषयलाई गम्भिरताका रुपमा लिनुपर्नेमा जोड दिए ।

एकैचोटी ठूलो आगलागी हुने नभए सानो आगो नै बढ्दै गएर ठूलो आगलागी हुने भएकाले आगोले ठूलो क्षति पुर्याउनुअघि नै नियन्त्रण गर्न सक्ने सामान्य र सजिलो उपाय हो फायर एक्स्टीङ्गगुईसर । आगलागीको दुर्घटनाबाट जोगाउनका अहिले बजारमा २५ सयदेखि ६५ सयसम्ममा विभिन्न किसिमका फायर एक्स्टीङ्गगुईसर पाइने भएपनि धेरैजसोले बेवास्ता र लापरवाहीकै कारण यो यन्त्र नगरेको पाइएको छ ।

घर भवनहरुलाई आगलागीबाट जोगाउनका लागि वाटर टाइप्स फायर एक्सटीङ्गगूईसर, फोम टाइप, पाउडर टाइप, सी ओ टु र वेट केमिकल फायर एक्सटीङ्गगूईसर गरी पाँच किसिमका अग्नि नियन्त्रण यन्त्रहरु हुने विज्ञहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया