मानव सेवामा लाग्ने याेजना

सुर्खेत,१५ भदाै

जसले जीवनको गन्तव्यलाई गतिशिल बनाएर पढाईमा मेहनत गर्छ । त्यहि व्यक्ति नै सफल बन्छ । लक्ष्य पूरा गर्नतर्फ दत्तचित्त भएर लाग्ने व्यक्ति नै समाजका नेतृत्व र सामाजिक काम गर्ने व्यक्ति हुन । यस्तैमध्येका एक हुन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवाली । उनले आफ्नो पहिलो प्राथमिकता पढाईलाई दिइन । आफुले लिएको सरकारी सेवामा काम गर्ने लक्ष्यलाई पछ्याईरहिन । पढाई पूरा गर्न धेरै चुनौतिहरुको सामना गर्नुपर्यो । तर चुनौतिसंग जुधेर अगाडि बढिन् । अहिले ज्ञवाली अधिकृतसम्म बन्न सफल भएकी छन । आजको राष्ट्रसेवकमा उनै ज्ञवालीसँग हामीले कुराकानी गरेका छौ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:

मध्यम बाल्यकाल 

बुवा मोतीप्रसाद ज्ञवाली र आमा कलावती ज्ञवालीको कोखबाट २०४३ असोज १८ गते सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ आवास क्षेत्रमा अनिता ज्ञवालीको जन्म भयो । उनी घरको कान्छी छोरी हुन । उनका आठ भाइबहिनी छन । बाल्यकाल वीरेन्द्रनगरमै बिताएकी उनले बाल मन्दिर प्राविबाट पढाई शुरु गरेकी हुन । बाल मन्दिरमा ३ कक्षामा पढेकी अनिताले ४ कक्षादेखि भने श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा पढिन ।

उनले त्यहि माविबाट २०५८ सालमा एसएलसी पास गरिन । कान्छी छोरी भएकाले घरको माया त धेरै थियो ।आवास क्षेत्रको बसाई बुवाआमाको कुनै रोजगारी थिएन । कृषिबाट छोराछोरी पढाउनु चानचुने कुरा पनि थिएन । परिवारको मुख्य पेशा भएकाले घरमा घाँस समेत काट्ने काम गर्नुपथ्र्यो अनिताले । उनले भेरीसम्मका जंगलमा गएर घाँस दाउरा लिएर समेत आउँथिन ।  ८ कक्षा पढ्दा घरमा आगलागि भएपछि सबै खाद्यान्न, धनमाल जलेर नष्ट भयो ।

संघर्ष र अभाव

घर आगलागि भएपछि भएको धनमाल नष्ट हुन पुग्यो । उनी र उनको परिवारले साह्रै दु:ख र अभाव झेल्नुपर्यो । त्यतिेबेला अहिलेको जस्तो घर नजिकै सरकार पनि थिएन । राहत दिने कुनै निकाय नभएपछि उनी र उनको परिवारले धेरै संघर्ष गर्नुपर्यो । तैपनि अनिताले भने आफ्नो पढाईलाई निरन्तरता दिइरहिन । सानैदेखि चुनौतिको सामना गरेकी उनले संघर्षलाई जीवन हो भन्ने बुझिन त्यहि अनुसार अगाडी बढिन । आफ्नो पढाईलाई पहिलो प्रथामिकता राखिन ।

 

सधैं पास

अनिता पढाईमा अब्बल थिइन। जस्तोसुकै परिस्थिति आएपनि विद्यालय जान एकदिन पनि छुटाउँदैन्थिन । उनी सानैदेखि साइकल सिकेर यात्रा गर्थिन । ९ वर्षको हुँदा एउटा ट्रकसँग ठोक्किएर उनी ठूलो दुर्घटना परिन । त्यतिबेला उनी तीन महिनासम्म विद्यालय  जानसक्ने अवस्था थिएन । तर डक्टरलाई म कहिले निको भएर विद्यालय जान पाउँछु ? भनेर बारम्बार प्रश्न गर्थिन । पढाईप्रति उनको धेरै चासो थियो । त्यहि भएर होला उनी कुनैपनि कक्षामा फेल भइनन् । पढाईप्रति लगाव सानैदेखि थियो । घरको काम गरेर पनि उनले राती ११ बजेसम्म पनि पढ्थिन ।

जागिर खाने लक्ष्य
उनले जब एसएलसी पास गरिन । जुनसुकै क्षेत्रमा होस सरकारी जागिर खाने लक्ष्य लिएकी थिइन । त्यहि लक्ष्यका साथ उनले वीरेन्द्रनगरमा
रहेको जनमावि प्लस टु भर्ना भइन । पढाईलाई पहिलो प्रथामिकता दिने गरेपनि उनले घरमा आमा बुवालई पनि सबै काममा सघाउँथिन । अनि २०६१ सालमा प्लस टु पास गरिन ।

सहकारीको काम


एसएलसी पासपछि उनले घरबाट पैसा  कहिले मागिनन् । उनी सानैदेखि सिर्जनशिल र आत्मनिर्भर बन्न खोज्थिन । बुवाआमालाई नभनेरै उनले एउटा सहकारीमा बचत उठाउने काम गर्न थालिन । दिउँसो बचत उठाउने, अनि  बिहान क्याम्पस जाने र साँझ बुवाआमालाई सघाउने काम गर्थिन । वृद्ध अवस्थाका आमाबुवासँग पैसा मागेर पढ्ने अवस्था थिएन, त्यसैले आफ्नो पढाई खर्च आफै जुटाएर उनले पढेकी हुन । लैङ्गिक विभेद कमगर्नपनि आफुले केही काम गर्नुपर्छ भनेर उनले बुवाआमालाई नभनेरै सहकारीमा काम गरेकी हुन ।

 

शिक्षक बन्न नसकेपछि लोकसेवाको तयारी
एउटा विद्यालयमा सट्टा शिक्षकको आवेदन मागियो । उनको त्यो शिक्षकका लागि योग्यता पुगेपछि अनिताले पनि आवेदन दिइन । परीक्षा पनि दिइन तर वैकल्पिकमा परिन । राजनीतिक पहुँचको आधारमा अरु नै शिक्षक नियुक्त भएको जस्तो उनलाई अनुभव भयो । अनि उनी लोकसेवाको तयारीमा लागिन् । लोकसेवाको तयारीमा लाग्दै गर्दा कतिखेर जागिर खाउँला र अरु निजामती कर्मचारीहरुले  जस्तै पोशाक लगाएर हिंडौलाझैं हुन लाग्या उनलाईे । अनि उनले क्याम्पसको पढाईसँगै लोकसेवाको तयारी पनि गरिन । व्याचलर तह पनि सकिन, सँगै लोकसेवाको तयारी पनि ।

पहिलो पटकमै उत्तीर्ण

लोकसेवामा नाम निकाल्न धेरै मेहेनत गरिन । पढ्दा पढ्दा कति बज्यो भन्ने पनि उनलाई थाहा हुन्थेन। यसरी दिनरात नभनी तयारी गरेपछि लोकसेवाले लिने अधिकृत तहको पदमा परीक्षामा सहभागी भईन । २०६८ सालमा पहिलो पटकमा नै अधिकृत तहमा नाम निकाल्न सफलपनि भईन । पहिलो पोष्टिंगमा उनी मुगु जिल्लाको महिला तथा बालबालिका कार्यालयमा कार्यालय प्रमुखको रुपमा पुगिन । दुई वर्ष त्यस कार्यालयमा काम गरेकी अनिता महिला तथा बालबालिका कार्यालय जुम्लामा सरुवा भइन ।

त्यहाँ पनि दुई वर्ष काम गरेर उनी एक वर्ष महिला तथा बालबालिका कार्यालय दैलेखमा काम गरिन । संघियतापछि प्रदेश सरकार बन्यो । अनि उनी २०७४ देखि सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सामाजिक विकास महाशाखामा महिला विकास अधिकृतको रुपमा कार्यरत रहेकी छन ।

 

जीवनमा संघर्ष

सामान्य परिवारमा जन्मिएका अनिताले विभिन्न चुनौतिको सामना गर्नुपर्यो । घरको आर्थिक अवस्था मध्यम थियो । परिवारको मुख्य पेशा कृषि भएकाले सबै आवश्यकता पूरा गर्नपनि समस्या थियो । अझै आठ भाइबहिनीहरुले पढाउनुपर्ने बुवा आमालाई हम्मेहम्मे थियो । यस्तो अवस्थामा अनिताले धेरै संघर्ष गर्दै आएकी हुन । काम गर्दै पढ्दै गर्नुपर्ने, घरको काम एकातिर थियो । जस्तोसुकै चुनौती आएपनि उनले हिम्मत हारिनन । त्यहि संघर्षले उनी अहिले अधिकृत तहको पदमा छिन ।  जीवनका अप्ठेरा मोडहरुमा हिम्मत नहारी अनवरत संघर्षशील पाइला चाल्दै अघि बढ्दै आएका कारण होला उनीमा हिम्मत र आत्मविश्वास निकै बढयो । अहिले कार्यालय आउँदा जाँदा सरकारी पोशाकमा मोटरसाइकल हुइँकाउँदै हिंडने एक्ली महिला अधिकृत हुन उनी सुर्खेतमा ।

मानव जीवन भनेको सेवाको लागि हो । उनले सानैदेखि अरुको दु:ख देख्न सक्दिनन । त्यसैले आगामी दिनमा पनि सामाजिक सेवामा नै लाग्ने  योजना बनाएकी छन । अनि सबै व्यक्तिलाई आर्थिक रुपमा मजबुत बनाउने अभियान चलाउने अनि समाजको विभिन्न विभेदहरु कम गर्दै जाने योजना उनको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार