सुर्खेतमा भूमि आयोगबाट बाँडिएका लालपूर्जा मालपोतले चिन्दैन

पुनम वि.सी.
सुर्खेत, १५ भदौं ।
भेरीगंगा नगरपालिका ८ की ‘सगेनी सर्केनी’लाई आफ्नै नाममा रहेको पाँच रोपनी जग्गा क्षेत्रफल खुल्ने जग्गाधनी पूर्जा अर्थात लालपूर्जा पाउँदाको खुशीले शुरुमा त उनका खुट्टा भूइँमै थिएनन् । वि.सं. २०४० साल अघि रुकुमको चौरझारी क्षेत्रबाट सगेनी आफ्नी आमासँगै भेरीगंगा नगरपालिका–८ (तत्कालिन कोटमाझखर्क) मा बसाईसरी आएकी हुन । आमा छोरीले जंगलझाडी फँडानी गरे, जग्गा कमाए र घर बसाए ।

‘आमासँगै आउँदा यहाँ पूरै झाडी थियो ।’ ६२ वर्षीय सगेनी सम्झन्छिन्, ‘सबै फाडेर जग्गा कमायौ, खेति सुरु ग¥र्यौ । निकै दुःख थियो ।’ यसबीचमा उनको बिहे पनि यतै भयो । पाँच भाई छोरा र एक छोरी जन्मिए । तर उनका छोराहरु सबैको अहिले मृत्यु भईसक्यो । विभिन्न समय अन्तरालमा विविध कारणवश उनीहरुको मृत्यु भएको भन्दै उनले भनिन्, ‘यस्तै रहेछ ।  छोराहरु पनि साथमा भएनन् ।’

यसैगरी छविलाल रानाको परिवार सुर्खेतको भेरीगंगा–८ मा वि.सं. २०२२ सालमा बसाईसरी आएको हो । झाडी र झार जंगल फडानी गरेर उनको परिवारले खेतिपाती सुरु गर्यो । सल्यानको वनगाड क्षेत्रबाट वस्ती सरी आएको उनको परिवारले बाँकी जीवन यसै क्षेत्रमा बिताएको हो । छविलालका बुवाको मृत्यु भईसकेको छ । १२ वर्षको उमेरमा बुवासँगै हालको भेरीगंगामा वस्ति सरी आएका छविलालको उमेर अहिले ६६ कटिसकेको छ ।

गत वर्ष चैतमा भोगचलन गरिएको जग्गाको लालपूर्जा पाएपछि भने छविलालको परिवारमा निकै खुशी छाएको थियो । राष्ट्रिय भूमि आयोगले गत वर्षको चैत्र २५ गते भेरीगंगा नगरपालिका क्षेत्रमा लालपूर्जा वितरण गरेको थियो । सोहि अनुसार छविलालको परिवारले समेत ३३ रोपनी जग्गाको लालपूर्जा पाएका थिए ।

जग्गा भोगचलनको करिव ५६ वर्षपछि पाएको लालपूर्जाले दिएको खुशी भने धेरै दिन टिक्न सकेन । अंशवण्डाका क्रममा जग्गालाई पाँच भाग लगाउनुपर्ने थियो । तर भूमिसुधार तथा मालपोत कार्यालय, मेहलकुनाले भने उक्त छविलालको परिवारलाई जग्गा अंशवण्डा गर्न नसक्ने जनायो ।

‘लालपूर्जा पाएर को खुशी हुँदैन र ? बुवाको पालाको जग्गाको अहिले नातीको पालामा लालपूर्जा आएको थियो । हामी पनि धेरै खुशी भयौँ । तर पछि अंशवण्डा गर्न जाँदा त गर्न मिल्दैन पो भने’, उनले भने ।

फोटो क्याप्सनः जग्गाधनी पूर्जा (लालपूर्जा) देखाउदै भेरिगंगा नगरपालिका–८ कि सगेनी सर्केनी । (फाइल तस्विर)

अंशवण्डाका लागि मालपोत कार्यालय पुगेको छविलालको परिवारलाई कार्यालयले लालपूर्जा अंशवण्डा गर्न नमिल्ने जनाउँदै फर्काइदियो । ‘बव त जग्गाको मालिक बनियो भनेर मालपोत पुगेको थियौँ । तर हाम्रोमा विवरण आएको छन भन्दै फर्काइदिए । अहिलेसम्म पनि हाम्रो काम भएको छैन’, दुःखेसो पोख्दै उनले भने ।

अहिले छोरीसँगै बसिरहेकी सगेनीको भोगाई पनि उस्तै छ, उनले भनिन्, ‘छोरीका लागि संस्थाबाट जग्गा राखेर ऋण निकाल्दिन लागेको थिए । मिल्दै मिलेन । लालपूर्जा पाएपनि पहिलेजस्तै भैगो ।’ आयोगको सुर्खेत जिल्ला समिति अध्यक्ष श्रीधर पौडेलले भने स्थानीय निर्वाचन अघि नै आपूmहरुले काम अघि बढाएको बताउँदै यसअघि गठन भएका आयोगहरुको बाँकी कामलाई पनि द्रुत गतिमा अघि बढाइरहेको बताउँछन ।

विभिन्न समयका आयोगहरुले बाँडेका लालपूर्जा मालपोत कार्यालयले स्विकार नगर्दा भने नागरिकले सास्ती भोगिरहेको उनको भनाई छ । आयोगले सुर्खेत जिल्लाभर अझै चार सय पूर्जा वितरण तयारी समेत गरिरहेको अध्यक्ष पौडेलले बताए । आयोगले वितरण गरेका लालपूर्जाहरुका विषयमा मालपोत कार्यालयले समयमै कामअघि बढाउनुपर्ने पौडेलको सुझाव छ ।

गत वर्ष आयोगले कोटमाझखर्कका एकसय ३४ परिवारलाई लालपूर्जा वितरण गरेको थियो । लालपूर्जा पाउने मध्ये भेरीगंगा नगरपालिका–८ का एकसय दुई र गुर्भाकोटका ३२ परिवार छन् । त्यस्तै नेपाल सरकारका नाममा दुईवटा लालपूर्जा दिइएको हो ।

भेरीगंगामा दुईसय तीन कित्ता र गुर्भाकोटमा ५२ कित्ताको लालपूर्जा वितरण गरिएको छ । जसमा भेरीगंगामा कुल ६१ हजार पाँचसय ५८ दशमलव सात वर्गमिटर र गुर्भाकोटमा एकलाख नौ हजार पाँचसय ५३ वर्ग मिटरको जग्गाका धनीलाई प्रमाणपत्र वितरण गरिएको आयोगले जनाएको छ ।

गत वर्ष वितरण गरिएको पूर्जामध्ये भूमि आयोगले गुर्भाकोट नगरपालिकामा १२ पुरुष, २० महिला गरी ३२ जना र भेरीगंगा नगरपालिकामा ३३ महिला, ६९ पुरुष गरी एक सय २ जनालाई जग्गा धनी पूर्जा वितरण गरेको थियो । यी दुई नगरपालिका गरी कुल एक सय ३४ जनाले शुक्रबार जग्गा धनी पुर्जा पाएका थिए ।

वि.सं. २०२८ सालदेखि यस क्षेत्रका नागरिकहरुले जग्गा कमाई भोग चलन गर्दै आएको र मालपोत कार्यालय सुर्खेतले २०४० सालमा नाप नक्सा गरी राखेको कामलाई विभिन्न कालखण्डामा बनेका आयोग तथा समितिहरुले थाँति राखेका थिए । गत वर्षको पुस २३ मा गठित राष्ट्रिय भूमि आयोगको सुर्खेत समितिले माघ १४ देखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम अघि बढाएको छ ।

भेरीगंगा नगरपालिकामा दुई सय ३० कित्तामा ६१ हजार पाँच सय ९८ दशमलव सात वर्गमिटर र गुर्भाकोट नगरपालिकामा ५२ कित्तामा एक लाख नौँ हजार पाँच सय ५३ वर्गमिटर जग्गाको लालपुर्जा वितरण गरिएको थियो । हालसम्म भने कुल उक सय ४७ वटा पुर्जा आयोगले वितरण गरिसकेको छ ।

विभागको आदेश पर्खाइमा छौँः मालपोत कार्यालय
राष्ट्रिय भूमि आयोग र भूमि व्यवस्थापन तथा अभिलेख विभागका बीच लालपूर्जा वितरण विषयमा समन्वय अभाव देखिन्छ । राष्ट्रिय भूमि आयोगले लालपूर्जा वितरण गरेर विवरण पठाएपनि सम्बन्धित विभागले भने कार्यान्वयन आदेश नपठाएका कारण मालपोत कार्यालयले काम अघि बढाउन नसकेको मालपोत कार्यालय मेहलकुनाका प्रमुख विमल आचार्य बताउँछन् ।

‘लालपूर्जाको विवरणसहित हामीले भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पठाएका छौँ ।’ उनले भने, ‘उताबाट कार्यान्वयनका लागि आदेश आएपछि मात्र काम अघि बढ्छ ।’ विभागबाट कार्यान्वयन आदेश कहिले आईपुग्ने विषयमा भने आपूmलाई कुनै जानकारी नभएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया