मानव सेवाबाट खुशी भएकी सञ्जिता

सञ्जिता गौतम, प्रदेश संयोजक, मानव सेवा आश्रम, कर्णाली प्रदेश

मानिसको सोच र व्यवहार परिवर्तनशील हुन्छ । यहि परिवर्तनको चाहनाले गर्दा नै आफ्नो जीवनमा परिवर्तन हुन्छ । केही मानिसहरु आफ्नो जीवनको परिवर्तन मात्र होइन, समग्र समाजको परिवर्तन र रुपान्तरणको लागि संघर्ष गरिरहेका हुन्छन । उनीहरु समाजको नेतृत्व तहमा पुगेका हुन्छन ।

स्तैमध्येकी एक हुन सुर्खेतको मानव सेवा आश्रममा सेवा गरिरहेकी सञ्जिता गौतम । उनले सानैदेखि नै गरिब, दुःखीहरुलाई सहयोग गर्नुपर्छ भनेर सोच्थिन । समाजका सबै व्यक्तिहरु समान रुपमा बाँच्न पाउनुपर्छ भनेर वकालत समेत गर्ने गर्थिन ।

अहिले उनी सडकमा मागेर हिड्ने गरिब दिनदुःखीको सेवा गरिरहेकी छन् । आजको कर्मयोगीका कुरामा उनै गौतमसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

बाल्यकाल
बुवा रामप्रसाद गौतम र आमा भवानी गौतमको कोखबाट २०५४ साल जेठ १६ गते धुलिखेल नगरपालिका ११ काभ्रे डाँडा गाउँमा सञ्जिता गौतमको जन्म भयो । उनी घरको कान्छी छोरी हुन । गौतमका एकजना दिदी एकजना भाई रहेका छन । उनको बाल्यकाल काभ्रेको धुलिखेल ११ डाँडा गाउँमा नै वित्यो ।

उनको बुवा व्यापार गर्थे । अन्य अभाव झेल्नुपर्ने अवस्था उनीलाई थिएन । सानो कक्षा गाउँकै गणपती बोर्डिङ स्कुलबाट प्रारम्भ गरेकी गौतमले ४ कक्षासम्म त्यहि स्कुलमा पढिन । ६ कक्षादेखि कालिदेवी माध्यमिक विद्यालय डाँडागाउँमा पढेकी गौतम त्यहि माविबाट २०६९ सालमा एसएलसी पास भइन ।

विद्यालयमा पढ्दा साथीहरुसँग मिलनसार गौतम सिर्जनशिल थिइन । समाजमा सबै व्यक्तिहरुको हैसियत बराबर हुनुपर्छ भन्ने सोच राख्थिन । तर समाज त्यस्तो अवस्थामा नहुँदा उनलाई धेरै चिन्ता लाग्थ्यो । पढाईप्रति पनि उनको लगाव पनि उत्तिकै थियो ।

सानैदेखि सहयोगी स्वभाव
उनको गाउँका धेरै मानिसहरु गरिबीको रेखामुनी थिए । गाउँमा दलित बस्ती थियो । दलित समुदायका मानिसहरुमाथि विभेद पनि उत्तिकै थियो । कसैका घर थिएनन भने कसैले मागेर खानुपर्ने अवस्था थियो । यस्तो अवस्था देख्दा सञ्जितालाई धेरै दुःख लाग्थ्यो । उनले त्यस्ता व्यक्तिहरुलाई सहयोग पनि गर्थिन ।

त्यति मात्र होइन, पढ्न नपाएका बालबालिकाका अविभावकहरुलाई शिक्षाको महत्वको बारेमा समेत जानकारी गराउँथिन । उनको सहयोगी स्वभाव देखेर गाउँका सबै मानिसहरुले राम्रो अनि असल व्यक्तिको रुपमा चिन्ने गर्थे । समाजमा रहेको विभेद अन्त्य हुनुपर्छ, मानिस मानिस एउटै हो भनेर वकालत समेत उनले गर्थिन । तर उनका कुरा धेरै वास्ता गर्थिनन् ।

व्यवसायी बन्ने लक्ष्य परिवर्तन
गौतम व्यवसायी बन्ने लक्ष्यका साथ प्लस टु मा व्यवस्थापन संकायतर्फ भर्ना भइन । उनी पढ्दै गइन, समाजको हरेक चित्र पनि हेर्दै गइन् । मानिसहरुको दुःख देख्दा उनलाई साह्रै पीडा हुन्थ्यो । उनले व्यवसायी बन्ने लक्ष्य लिएपनि उनको मनले दुःखमा परेका मानिसहरुलाई सहयोग गर्नुपर्छ, सधै यहि सेवामा लाग्नुपर्छ भन्ने गथ्र्यो ।

उनले २०७१ सालमा धुलिखेलबाट नै प्लस टु पास गरिन । प्लस टु पासपछि उनले समाज रुपान्तरणको अभियानमा लाग्ने लक्ष्य लिइन । मानव सेवा नै संसारको सबैभन्दा ठूलो काम हो भन्ने उनलाई लाग्न थाल्यो । यसरी मानव सेवा गर्नुपर्छ भन्ने गौतमलाई किन लागेको हो भने गाउँ समाजमा दुःखी मानिसहरु, विभेदमा परेका मानिसहरु देखेर ।


गुरुको प्रेरणा
उनी प्लस टु पास गरेपछि बीबीएस पढ्न शुरु गरेकी थिइन । गाउँमा सकारात्मक सोच सम्बन्धिको दुई दिने तालिम सञ्चालन हुने थाहा पाएपछि गौतम पनि उक्त तालिममा बसिन । उक्त तालिम दिने व्यक्ति थिए, उनका गुरु रामजी अधिकारी । अधिकारीले सकरात्मक सोच सम्बन्धिको तालिममा मात्रै दिएनन, उनको जीवनमा नै फेरबदल ल्याइदिए ।

तालिममा बसेर जब सञ्जिताले धेरै कुरा सिकिन त्यहि प्रेरणाकै कारण उनी थप मानव सेवामा पूरै समय दिनुपर्छ भनेर सोच बनाइन । उनले एक हप्ताको भ्रमण समेत गरिन अनि त्यसपछि मानव सेवामा नै पहिलो प्राथामिकता र लक्ष्य बनाइन ।

अनि मानव सेवामा
सञ्जिताले आफ्नो लक्ष्य दीनदुःखीहरु जो बेसहारा छ, त्यसकै सेवामा लाग्ने अठोट लिइन । शुरुमा उनले हेटौडामा रहेर मानव सेवा आश्रमबाट आफ्नो सेवा प्रारम्भ गरिन । त्यसपछि गोर्खा मानव सेवा बाल आश्रम हुँदै कास्की पोखरामा रहेको मानव सेवा आश्रममा लामो समय काम गरिन ।

ती आश्रमहरुमा सेवा गर्दा अझैे मासिनहरुको दुःख देख्दा जति नै सेवा गरेपनि नपुगे जस्तो लाग्थ्यो । त्यसपछि त जति नै चुनौति सामना गरेपनि उनले यो सेवामा तल्लिन हुन थालिन । अहिले उनी सुर्खेतमा रहेको मानव सेवा आश्रममा विगत ४ वर्षदेखि असहाय अवस्थामा सडकमा छाडिएको व्यक्तिहरुको सेवा गरिरहेकी छन । उनकै शब्दमा अहिले उक्त आश्रममा ७० जना लक्ष्मीनारायणहरु हुनुहुन्छ ।

सेवा गर्दा खुशी
मानव सेवा गर्दा धेरै चुनौति आउँछन । सहाराविहिन व्यक्तिहरुलाई सहारा दिनु चानचुने विषय पनि होइन । कति व्यक्ति मानसिक सन्तुलन गुमाएका पनि हुने गर्छन, उनीहरुको सेवा गर्नुपर्ने धेरै चुनौति छन । तरपनि सहाराविहीन मानिसहरुलाई जब आश्रय दिएर आफन्तसँग भेट गराइन्छ त्यतिबेला जीवनकै सबैभन्दा धेरै खुशी मिल्ने गर्दछ सञ्जितालाई ।

उनले काम गर्न थालेपछि सुर्खेतमा मात्रै आश्रमबाट एक सय ५० जनाजतिलाई आफन्तसँग मिलन गराइसकिएको छ । जब आफन्तसँग भेट्टाएर खुशी दिइन्छ त्यतिबेला संसार जितेजत्तिकै आनन्द र खुशी उनलाई लाग्ने गर्दछ ।

सेवासंगै पढाईपनि
उनले सबै समय मानव सेवामा दिन्छिन । तर आफ्नो पढाईलाई पनि निरन्तरता दिइरहेकी छन । उनले मानव सेवासँगै आफ्नो पढाईलाई पनि सँगै लिएर गइन । उनी अहिले मास्टर्स पढ्दैछिन ।

जीवनमा संघर्ष
उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । घरपरिवार आर्थिक अवस्थाले मजबुत थियो । आर्थिक अभाव झल्न नपरेपनि उनले जीवनमा भने धेरै संघर्ष गर्नुपर्यो । सानैदेखि सामाजिक चिन्तन गर्ने उनले पढाईमा पनि ध्यान दिन्थिन । जब मानव सेवामा उनी लागिन ।

सडक मानिसहरुलाई ल्याएर आश्रय दिनुपर्ने धेरै संघर्ष गर्नुपर्यो । अर्कोतर्फ आफ्नो पढाईलाई निरन्तरता दिनुपर्ने थियो । मानव सेवा गर्दा भएका संघर्ष जतिबेला आफन्तसँग सडक मानिसहरुलाई मिलन गराइन्थ्यो, त्यति बेलाजस्तो आनन्द र खुशी लाग्थ्यो । सफलतामा पुगेजस्तो लाग्थ्यो । आपूm लागिरहेको अभियानबाट नै मानव सेवा गर्ने र विभेदरहित मात्र होइन सुखी समाज बनाउने उनको योजना छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार