‘भात खानको लागि चाडपर्वनै आउनुपथ्र्यो’

सृजना बुढाथोकी
सुर्खेत, १२ भदौं ।
म नरेश्वर चालिसे । वि.स. २००५ सालमा सुर्खेतको जामुनेडाडाँमा मेरो जन्म भएको हो । मेरो बुवाहरु बाग्लुङ्गबाट आउनुभएको हो । मैले थाहा पाउने बेला वीरेन्द्रनगरलाई चौघानचौरको नामबाट चिनिन्थ्यो । जताततै घना जंगल, सिउँडीकाडा, ढोटीघारी, वयरकट्टी मात्रै थियो । अझ भन्ने हो भने यहाँ औलो लाग्ने भएर सबै सुर्खेतको पहाडी भेगतिर बस्थे ।

२०२३ सालमा राजा वीरेन्द्रको सवारी भएपछि चौघानचौरलाई राजा वीरेन्द्रले निकै मनपराएको भनेर वीरेन्द्रनगर नामाकरण गरी बस्ती बस्न शुरु भएको हो । त्यो भन्दा पहिला त, हरेक बैशाखमा गाईवस्तुलाई ल्याएर छोड्ने गरिन्थ्यो । हामी पनि त्यसै गर्थिम । त्योबेला हाम्रो घरमा धेरै गाईपस्तु, भैसी थिए । हामीसंग ठूलो गाई थियो जसले दिनमा तीन पटक गरेर ४० माना दूध दिन्थ्यो ।

दूध त बिक्रि हुँदैन थियो, त्यति पैसापनि कसैसंग हुँदैन थियो । कहिकतै भयो भनेपनि ५ रुपैयाँ माना बिक्रि हुन्थ्यो । किन्ने भनेको त्यहि लत्ताकपडा, नुन, साबुन हो । त्यहिपनि हाम्रो घरमा धेरै घिऊ बनाउने हुँदा त्यहि घिऊ कन्टरमा जम्मा गरेर वर्षमा एकपटक बोकेरै नेपालगञ्ज लैजाने बेच्ने अनि त्यहि पैसाको सामान किनेर हिडेरै घर आइन्थ्यो ।

अलि हुनेखानेले त सामान खच्चरलाई बोकाउँथे तर धेरैजसोले त बोकेरै ल्याउँथे । सामान बोकेर नेपालगञ्जबाट घर आउन ७ दिन लागेको पनि मलाई अनुभव छ । पढ्नका लागि विद्यालय थिएनन् । अलिकति पढेकालाई घरमै बस्नखानको व्यवस्था गरेर राख्नुपथ्र्यो अनि अलिकति कखरा, वर्णमाला सिक्न पाइन्थ्यो ।

मैले पनि त्यसै गरेर पढे अनि जामुनेडाडाँबाट जर्बुटाको एउटा विद्यालयबाट ४ कक्षा त पास गरे तर ५ कक्षामा फेल भए, अनि पढ्नै छोडे । खर्च गर्नका लागि आम्दानीको स्रोत हँुदैन थियो । भात खानको लागि चाडपर्वनै आउनुपथ्र्यो । किनकी खाना भनेकै मकैको आटो, रोटी, सिन्की, ढेडो, मकैको रोटी हुन्थ्यो ।


त्यतिबेलाका पुरुषहरुले भोटो, कछार, धोती लगाउँथे भने महिलाले चोलो, गुन्यो चोली, लुङ्गी लगाउने गर्थे । सबै सोझासाझा केहि थाहा नभएका थिम् त्यो समयमा । अरुलाई नराम्रो गर्ने कोहिकसैले सोच्दैन थिए । करिब ६०—६५ वर्ष पहिले त पानीको नि निकै समस्या थियो । पानी लिनकै लागि एकदुई घण्टाको ओरोलो उकालो गोरेटोबाटो हिडेर जाने अनि दुई तीन घण्टा त पालोनै कुर्नुपर्ने हुन्थ्यो ।

थोरै थोरै चोबिल्टामा पानी हुन्थ्यो । एैचोपैचो चल्थ्यो जो जसको घरमा गएर नि खान सकिन्थ्यो । हामीले खेल्ने खेलहरुमा काठको डल्लो बनाएर डोरी बेरेर घुमाउने ‐घुँयत्रो), पिङ्ग, लुकि यस्तै खेल खेल्थिम । २०१७ सालको कुरा हो, जहाजको आवाज सुन्नै हँुदैन थियो काँशको थालमा पानी हालेर आँगनमा राख्थिम र छाँया हेर्थिम । साथी दौतरीमा कुनै स्वार्थ हँुदैन थियो ।

सुर्खेतमा २०१७ सालमा एयरपोर्ट बन्यो अनि पहिलो सवारी महेन्द्र राजाको भएको थियो हेलिकप्टरमा अनि एयरपोर्टबाट निस्केर महेन्द्र राजा रातो घोडामा सवार हुनुभयो । हामी पनि पछिपछि दौडिम हेर्नका लागि । पहिला कुन्टी जाने बाटोमा एयरपोर्ट बनाउने भनेर खुल्ला ठाउँमा तयारी गरियो तर हेलिकप्टरनै डुब्यो अनि पछि अहिले भएको स्थानमा बनाइयो ।

हामीलाई घाउचोट लाग्यो भने काठेपात, बेलौतीको पात, आँपको पात, सिम्रीक, सिन्दुर, तीतेपाती थिचेर हाल्थिम, हाम्रो औषधीनै जडिबुटि थियो । हातखुट्टा भाँचियो भने जडिबुटि राखेर काप्रोले बान्ने हुन्थ्यो त्यो समयमा । फेरि सञ्चो पनि हुन्थ्यो, विकल्प अरुपनि थिएन । अहिले त मेरा दौतरी कोहि हुनुहुन्न सबै भगवानको प्यारो भैसक्नुभयो तर मलाई उहाँहरुको निकै सम्झना आउँछ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार