दाईकी सालीसँग माया बस्यो

धेरै व्यक्तिहरुका सम्बन्ध आफन्तको माध्यमबाट हुने गर्दछन । साथीको रुपमा रहेका व्यक्तिहरु जीवनसाथी भईदिन्छन । शुरुमा साथीको रुपमा व्यवहार गर्ने व्यक्तिहरुलाई आफन्तले नै सम्बन्ध जुराइदिन्छन । कतिको त विवाहपछि मात्रै माया प्रेम बस्छ । त्यो माया युगौसम्म बनेर सहज जीवन हुन्छ ।

यस्तै भयो, सुर्खेतका भूपेन्द्र सुवेदी र तुलसी आचार्य सुवेदीको जीवनमा पनि । पहिले साली भिनाजुको नाता पर्ने उनीहरु जिस्किने रमाइलो गर्ने मात्रै गर्थे । पछि घरपरिवाकै सल्लाहमा विवाहको कुराकानी चल्यो । अनि जीवनसाथी बने । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

घरपरिवारमार्फत चिनजान
तिजको बेलामा नाचो हेर्न भूपेन्द्र तुलसीको घरतिर गए । उनी त्यो दिन तुलसीको छिमेकीको घरमा बसे । उनले त्यहाँ तुलसीलाई देखे । तुलसीको बुवासँग भने उनको सानैदेखि चिनजान थियो । अनि त्यहि नाचगान चलिरहेको ठाउँमा उनले तुलसीलाई बोलाए ।

उनीहरुको चिनजान त भयो, तर खासै कुराकानी भएन । सामान्य कुराकानी मात्रै भयो । तिजको बेलामा नाचगान रमाइलो भइरहेको थियो । अन्य कुराकानी गर्ने मौका पनि मिलेन । अनि भोलिपल्ट बीहान तुलसीको घरमा भूपेन्द्रले खाना खाएर घरतिर फर्किए ।

सम्बन्ध बढ्दै गयो
दुबै घरपरिवारको नाता सम्बन्धपनि पथ्र्यो । उनीहरुबीचमा भने सम्बन्ध भने त्यसपछि मात्रै हुँदै गएको हो । कहिलेकाँही भूपेन्द्र तुलसीको गाउँतिर जाने गर्थे भेट हुन्थ्यो । सालीको रुपमा भूपेन्द्रले कहिलेकाँही जिस्क्याउने मात्रै गर्थे । विवाह गर्ने भन्ने सोच दुबैजनामा थिएन ।

जिस्क्याको बेलामा तुलसी लजाउँथिन । उनीहरु ठट्टा रमाइलो गर्थे । दुबै परिवारबीचमा राम्रो सम्बन्ध भएको हुँदा कुराकानी अगाडी बढाउन पनि सजिलो थियो । मेला पर्वमा पनि सँगसँगै रमाइला ठाउँहरुमा जाने रमाइला कुराकानी गर्ने गर्थे उनीहरु । तर विवाह नै गर्ने भन्ने विषयमा दुबै जनाको कुनै चासो थिएन ।

जिस्किएर गरेको प्रस्ताव
एकदिन भूपेन्द्र तुलसीको घरमा गएका थिए । सधै जिस्किने रमाइलो गर्ने उनले तुलसीलाई विवाह गर्नुपर्छ कि ? भनेर तुलसीका बुवा आमासँग जिस्किएर बोले । उनको त्यो कुरालाई तुलसीका बुवाआमाले वास्तविक रुपमा लिएका रहेछन ।

अनि तुलसीका बुवाले भूपेन्द्रको बुवासँग उक्त प्रस्तावको बारेमा भन्नुभएको रहेछ । दुबै परिवारले सल्लाह गरेर विवाह गराइदिने सहमति गरे । तर उक्त सहमतिको बारेमा न त भूपेन्द्रलाई थाहा थियो, न त तुलसीलाई नै । एकदिन भूपेन्द्रको बुवाले अब विवाह गर्नुपर्यो भनेर तुलसीको बारेमा भनेपछि मात्रै भूपेन्द्रले थाहा पाए । जिस्किएर बोलेको कुरा साँच्चिकै विवाहमा परिणत हुने भएपछि भूपेन्द्र र तुलसीले पनि गम्भीररुपमा लिन थाले ।

त्यसपछि विवाह भयो
दुबै जना विवाह गर्ने उमेरमा पुगिसकेका थिए । जिस्किने रमाइलो गर्ने उनीहरुले साँच्चिकै विवाह होला भन्ने सोचेकापनि थिएनन् । तर रमाइलो गर्दा गर्दै घरपरिवारले विवाहको चाँजो पाँजो मिलाइदिएपछि उनीहरु दुबैजना विवाहको लागि राजी भए । भूपेन्द्र भलाद्मी स्वभावका थिए भने तुलसी पनि शुशिल थिइन ।

त्यसैले उनीहरु एकअर्कासँग विवाह गर्न मौनरुपमा राजी नै थिए । उतिबेला मागी विवाहको चलन धेरै हुन्थ्यो । जब विवाहको लागि हात माग्ने काम भयो । त्यसपछि भने उनीहरु जिस्कन छोडे । बरु एकअर्कालाई देखेर लजाउँथे ।

अनि घरपरिवारकै सल्लाहमा उनीहरुको विवाह भयो । विवाह भएर घरमा जाँदा तुलसीलाई केही फरक केही रुपमा फरक अनुभव भइरहेको थियो । नयाँ परिवार, नयाँ साइनो केही फरक भएपनि विस्तारै घुलमिल हुँदै गइन ।

विवाहपछि बसेको माया
उनीहरु एकअर्कामा परिचित भएपनि विवाह हुनुभन्दा अगाडि मायाको कुनै अनुभव गरेका थिएनन । विवाह अगाडि जिस्किने, सँगै जात्रामेलामा जाने गरिएपनि मायाको अनुभव गरेका थिएनन् । जब विवाह भएर घरमा आए अनि बल्ल माया पिरती कुरा हुन थाल्यो ।

एकअर्काको सुखदुःखमा साथ दिने, सँगै खाना खाने, कतै एकैछिन पनि छुट्टै हुन नसक्ने हुन्थ्यो । यतिसम्म कि बुढाबुढी सँगै कुरा गर्दा पनि तुलसी कसैले देख्छ की ? भनेर लजाउने गर्थिन । तुलसी भन्छिन, ‘विवाह अगाडि माया भन्ने केही थाहा थिएन, जब विवाह भएर घरमा गएपछि भूपेन्द्र कतै गएर ढिलो आए भनेपनि कति बेला देखम जस्तो लाग्थ्यो ।’ भूपेन्द्रलाई पनि असाध्यै माया लाग्थ्यो । सधै सँगै हिडौं, खाना सँगै खाउ जस्तो लाग्थ्यो, भूपेन्द्र भन्छन ।

संघर्ष
जीवन भनेकै संघर्ष हो भन्ने बुझेका यो जोडीले संघर्षलाई अगाडि बढाए । घरपरिवारको आर्थिक अवस्था सामान्य नै थियो । दुबैजनाको पढाई पूरा गर्नु बाँकी नै थियो । घरको जिम्मेवारी पनि थपिदै गएको थियो । यी सबै कुरालाई उनीहरुले सँगै अगाडि बढाए । सबै काम सल्लाहमा गर्ने यो जोडीले जीवनमा धेरै संघर्ष गरेका छन ।

दुबैले आफ्नो पढाईलाई पूरा गरे । उच्च शिक्षासम्म पढेकी तुलसीले भूपेन्द्रको उच्च शिक्षा हासिल गराउन भरपूर साथ दिइन । अनि त्यही संघर्षबाट भूपेन्द्र स्थायी शिक्षक बने । निमावि तहको शिक्षकमा नाम निकालेर उनी प्युठानमा पढाउन गए ।

दुई बर्ष प्युठानमा पढाएका भूपेन्द्र अहिले सुर्खेतको चिंगाड गाउँपालिका वडा नम्बर १ गोगनेमा रहेको इन्द्रेणी विद्यालयको प्रधानाध्यापक छन । भने तुलसी आफ्नो घरधन्दा र व्यवसायिक क्षेत्रमा कार्यरत छन । अहिले उनीहरु बसाई सराइ गरेर सुर्खेत वीरेन्द्रनगरमा आएका छन । एकअर्कालाई धेरै माया गर्ने उनीहरु जीवनलाई अहिले खुशीयाली बनाएका छन ।

बाल्यकाल
आमा भक्तिदेवी सुवेदी र बुवा थानेश्वर सुवेदीको कोखबाट २०३८ साल चैत ५ गते दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर ३ मा भूपेन्द्र सुवेदीको जन्म भएको हो । उनी घरको जेठो छोरा हुन । उनका पाँच भाई एक बहिनी रहेका छन । बाल्यकाल गाउँमै विताएका भूपेन्द्रले सानो कक्षा पनि गाउँमै पढे ।

उनले चामुण्डा माविबाट २०५४ सालमा एसएलसी पास गरेका हुन । स्नात्तकोत्तर तहसम्मको शिक्षा उनले शिक्षा क्याम्पस सुर्खेतबाट गरेका हुन । उनी सानैदेखि लगनशिल र संघर्ष गर्थे । उनले आफ्नो पहिलो प्राथामिकता भने पढाईमा दिने गर्थे ।

यता, बुवा तारा आचार्य र आमा मनुकुमारी आचार्यको कोखबाट विस २०४२ साल कात्तिक २७ गते दैलेखको भैरवी गाउँपालिका कुसापानीमा तुलसी आचार्य सुवेदीको जन्म भएको हो । उनी घरकी कान्छी छोरी हुन । उनका ६ भाई दुई दिदीबहिनी रहेका छन ।

सामान्य परिवारमा जन्मिएकी तुलसीले पनि आफ्नो बाल्यकाल गाउँमै बिताइन । सानो कक्षा गाउँमै पढेकी उनले २०६५ सालमा चामुण्डा माविबाट एसएलसी पास गरेकी हुन । सानैदेखि अनुशासित उनी सहयोगी स्वभावकी छन ।

प्रेम अनुभव
उनीहरुको अनुभवमा विवाहपछि माया धेरै लाग्दो रहेछ । अहिलेसम्म झगडाभन्दा धेरै माया नै बाँडेका छन उनीहरुले । उनीहरुको विचारमा दुबैको कुरा बुझ्ने सुख दुःखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बीचमा विश्वासको वातावरण हुनुपर्छ ।

यो जोडी फुर्सदको समयमा विभिन्न ठाउँहरुमा पनि घुम्न जाने, रमाईलो गर्ने गर्दछन । उनीहरु भन्छन शंकाले सम्बन्ध विगार्छ । अन्य जोडिहरुलाइ पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हासिल हुने सुझाव दिन्छन । यो जोडी जुनसुकै काम गर्दा पनि सल्लाहमा गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया