१३ थरी पिज्जाको स्वाद मिल्ने पिज्जा ओलिभ

सिर्जना बुढाथोकी/सुर्खेत
सुर्खेती समाजमा मोःमोः चाउमिनपछि पछिल्लो समयमा खाजाका रुपमा स्थान बनाउँदै गएको खान्की हो पिज्जा । खासगरी साना केटाकेटीदेखि युवायुवतीले पछिल्लो समय बढि रुचाउने मेन्यूमा पर्ने मुख्य परिकार नै यहि बनेको छ ।

पिज्जाको कुरा गर्दा सुर्खेतमा एउटा रेष्टुरेण्ट छ जसको नाम नै पिज्जाको नामबाट राखिएको छ, अर्थात पिज्जा ओलिभ रेष्टुरेण्ट । नामअनुसारकै विशेषता नै पिज्जा भएपछि पिज्जा पारखी खासगरी युवापुस्ताको भिड जम्छ यो रेष्टुरेण्टमा ।

बेलाबेलामा परिवारसंगै आउने र साथीभाईसंग पनि आउने ग्राहको संख्या पनि उत्तिकै छ । पिज्जा खानकै लागि पिज्जा ओलिभमा जान सकिन्छ । यो रेष्टुरेण्टमा खासगरी पिज्जा पारखीका लागि उपयुक्त गन्तव्य हुनसक्छ । किनभने यहाँ १३ थरीका पिज्जाको स्वाद लिन पाइन्छ ।

भेज तथा ननभेजका विभिन्न फ्लेवरमा ब्ल्याकवाटर पिज्जा, सुप्रिम पिज्जा, हवाईन पिज्जा, मिट लभर पिज्जा, भेज लभर पिज्जा, पाईजाना पिज्जा, फायर अनलिप्स पिज्जा जस्ता अनेक स्वाद र फ्लेबरका पिज्जा पाइन्छ, पिज्जा ओलिभमा ।

सुर्खेतका दिलबहादुर ओलीले करिब ६ महिना अगाडि १ करोड बढिको लगानी गरेर यो रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । आफ्नो जीवनको २१ वर्ष भारतमा बिताएका ओलीले विशेष गरी अन्तर्राष्ट्रिय चेन विजनेश भएको पिज्जा हटमै काम गरेको बताए ।

वर्षौ यहि काममा बिताएकाले आफ्नै ठाउँमा फर्किएर आफ्नै व्यवसाय सञ्चालन गर्न आँट गरेको उनले बताए । रेष्टुरेण्टको नाम जुराउने काममा भने उनले रमाइलो जुक्ति लगाए । आफ्नो थर ओली भएकाले पनि रेष्टुरेण्टको नाम पिज्जा ओलीभ राखेको उनले सुनाए ।

भारतबाट नेपाल फर्किएपछि ओलीले पहिला टायल मार्बलको हार्डवेयर पसल खोले र अहिले सुर्खेतमा न्यू सुर्खेत सप्लायर्स अनि पिज्जा ओलिभ गरेर २ वटा व्यवसाय सञ्चालन गरिरहेका छन् । शुरु शुरुमा दैनिक ८० देखि ९० हजार सम्मको व्यापार हुने गरेपनि अहिले यो संख्यामा कमी आएको छ ।

सुर्खेतको अति व्यस्त मानिने यरीचोक नजिकै जुम्लारोडको दक्षिणपट्टी रहेका कारण सडक छेउछाउमा सामान ढुवानी तथा लोडअनलोड गर्ने ठूला गाडीले बाटो छेकिदिंदा सोचेजस्तो व्यापार हुन नसकिरहेको उनको गुनासो छ ।

यो संगै रेष्टुरेण्टबाट निस्किने फोहोरमैलाको व्यवस्थापनमा पनि समस्या भएको उनको भनाई छ । व्यवसायको तर्फबाट मासिक २ हजार नगरपालिकालाई बुझाउँदा पनि फोहोर लिन नआउने जस्ता समस्याले अर्को समस्या पारेको उनले बताए । पिज्जा ओलिभमा वर्थडे, एनिभर्सरी सेलिब्रेशन गर्नका लागी २० देखि २५ जना अट्ने हल पनि रहेको सन्चालकले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा कोरोनाका कारण धरासायी बनेका सबै व्यवसायका कारण बजारमा पैसा नभएकाले पनि सोचे झै व्यवसाय सन्चालन नभइरहेको उनले बताए । तर न्यु जेनेरेशनले पिज्जाको बारेमा बढि जानकारी राखेको र धेरैको स्पेशल परिकारको रुपमा पर्ने भएकाले पनि पिज्जा प्रति आकर्षण बढि रहेको उनले बताए ।

आगामी दिनमा पनि ग्राहकको रोजाईका परिकारहरु बनाएर ग्राहकलाई खुशी बनाउने र भएका कमिकमजोरी सुधारेर लैजाने उनको दृढता छ । अहिले पनि आउने ग्राहकले राम्रो प्रतिक्रिया दिने गरेको उनले बताए । पिज्जा ओलिभमा अहिले १४ जनाले रोजगारी पाइरहेका छन् ।

पिज्जा के हो?
हुन त पिज्जा इटालियन परिकार हो, जो परम्परागत ढंगले भन्ने हो भने रापिलो भट्टीमा सेकाएर बेक गरिन्छ । अहिले यो विद्युतीय भटट्टी वा ओभनमा बनाउने गरिएको छ । ब्रेडमा चिज, गोलभेडा, प्याज, भेडेखुर्सानी, किष्ट, सुगर, साल्ट, ओलिभ व्यल, क्याल्सियम पाउडर, मिल्क, इम्प्रुभल पाउडर, राखेपछि बेस बन्छ अनि ओभनमा राख्ने अनि पिउरी लगाएर बनाइन्छ भनेर त भनिरहनु नपर्ला, किनभने यो इटालिन परिकारको स्वाद नलिने अब सायदै भेटिएलान् । खासगरी शहरी क्षेत्रमा ।

अब तपाईंलाई लाग्न सक्छ, के यहाँको मेनुमा पिज्जा मात्र होला तर पिज्जासँगै अन्य थुप्रै प्रकारको खाजाका परिकारहरुपनि पाउँछ । नर्मल परिकार मःम, चाउमिन, तन्दुरी परिकार, चाइनिज, इटालियन, फ्राइ चिकेन, क्रिस्पी चिकेन स्याण्डबीच, कफी, पेय पदार्थ, फ्रेस ग्रीन सलाद जस्ता केही परिकार छन्, जो पिज्जा ओलिभको विशेष परिकार हुन् ।

आफ्नै रेष्टुरेण्ट खोल्ने योजना छ ‘सेफ मंगल’
सुर्खेतको वीरेन्द्रनगर ६ का मंगल सुनार उमेरले ३३ वर्ष भए तर उनले होटेल लाईनमा २० वर्ष बिताइ सकेका छन् । उनले केहि वर्ष पहिले भारतमा काम गर्दा भारतीय ५० हजारसम्म तलब पाउथे । १३ वर्षको उमेर हुँदा भारत पसेका उनी शुरुमा भाँडा माझ्ने काम गरे । बिस्तारै हेल्पर हुदै सेकेण्ड सेफ भएर काम गरे ।

उनले भारतको अहमदाबादमा १७ वर्ष बिताए । १७ वर्षमा उनले भारतका १३ वटा होटेलमा काम गरे, चाइना गएर १ वर्ष चाइनिज परिकार बनाउने काम पाए र त्यसपछि सुर्खेतको डिएफसी हुँदै अहिले उनी पिज्जा ओलीभमा सेफ काम गर्छन् । विभिन्न देशबाट सिकेको काम अहिले परिवार संगै बसेर आफ्नै ठाउँमा गर्न पाउँदा निकै खुशी भएको मंगलको अनुभव छ ।

तपाईको प्रतिक्रिया