हाम्रो बेला चौपाँचे हुन्थ्यो, चार लिने पाँच दिन

सृजना बुढाथोकी/सुर्खेत
मेरो जन्म १९९८ बैशाख २७ गते सुर्खेत जिल्लामा रहेको गोठीकाँडाको वरपिपलमा भएको हो । मेरो बाजेहरु प्युठानबाट यहाँ आउनुभएको हो रे, तर म जन्मेको २ वर्षमै हजुरबुवाको निधन भएको रहेछ, त्यसैले मैले उहाँलाई देख्न पाइन् ।

२००७ साल जब म ९ वर्षको भए बल्ल वर्णमाला, चण्डी पढ्ने र पाटीमा लेख्न सिक्दै आफ्नो शिक्षाको शुरुवात गरेको हुँ । मेरो वालापन गोठीकाँडामै बित्यो । माटोको घर, खरले छाएको, टायलले छाएका हुन्थे । टन्न गाईवस्तु, खेतीपाती अनि घरधन्दामै परिवारहरु रुमलिने त्यो समयमा पढ्को लागि विद्यालय थिएनन् ।

८-९ कक्षा पढेका कोहि गाउँमा आए भने मास्टर भनेर आफ्ना बालबच्चालाई पढाउन केहि सिकाउन लगाइन्थ्यो । प्रशस्त जग्गा, गाईवस्तु थिए अनि परिवारका सबैजना खेतीपातीमै व्यस्त हुन्थे । म चाहि मेरा दौतरीसंग कबड्डी, डण्डीबियो खेल्थे अनि आमाबुवाले भने अनुसार कामपनि सघाउथे ।

वर्षमा एकपटक म बुवाको साथमा नेपालगञ्ज जान्थे । त्यतिबेला न बाटोघाटोको सुविधा न गाडिको । साधन थियो त मात्रै घोडा खच्चड त्यो नि सामान बोक्नका लागि, अनि बुवासंगै हिडेर हामी चार पाँच दिन लगाएर नेपालगञ्ज सामान किन्न जान्थिम् ।

त्यसरी सामान किन्न जानेलाई ‘हाट’ भनिन्थ्यो । हामीले वर्षमा एकपटक हाट गएर वर्षभरी पुग्ने नुन, मट्टितेल, लत्ताकपडाहरु, साबुन किनेर ल्याउने गर्थिम् । अझ त्यतिबेला त रिठ्ठाले नुहाउने कपडा धुने गर्थिम् हामी । मैले केहि समय गोठीकाँडाकै एउटा विद्यालयमा कक्षा ८ सम्म पढे अनि ९ कक्षा पढ्न नेपालगञ्ज गएँ । त्यहाँ पढेर ९ कक्षा पास भएपनि एसएलसी भने पास हुन सकिन र फेरि घर फर्किए । त्यसपछि म २०१६ सालमा शिक्षक बने ।

किनकि मैले कक्षा ९ पास गरिसकेको थिएँ । त्यो समयमा ९ कक्षा पास भनेको धेरै थियो । मैले शिक्षण पेशा शुरु गर्दा सुर्खेतको मेहेलीमा रहेको एउटा विद्यालयबाट ६० रुपैयाँ तलब पाउने गरि गरेको थिएँ । घरदेखि टाढा गएर शिक्षक बनेको थिएँ तर त्यतिबेला त म गाउँको मुखियाको घरमा बस्ने गर्थे ।

मैले पढाउने विद्यार्थीहरुको अभिभावकहरुले पनि खानाको लागि अन्नपात दिने गर्थे ।  शिक्षकलाइ भगवान सरह मान्ने गर्थे ऊ बेलामा । विद्यार्थीहरु पनि कति मेहेनती हुन्थे गुरु भनेर सम्मान गर्थे । हप्काएपनि डराउँथे, पढाईमा ध्यान दिने, जे भनेको मान्ने हुन्थे । अझ त्यो समयमा त १ कक्षा देखि ५ सम्म एकैजनाले पढाउनु पथ्र्यो ।

मैले करिब त्यहाँ करिब ९ महिना पढाए अनि म सिम्ता गएँ २०१७ सालमा पञ्चायति व्यवस्था थियो, त्यो समय । त्यसपछि केहि वर्ष त्यहाँ पढाएर म बजेडीचौरमा पनि पढाएँ र २०५८ सालमा सुर्खेतको डाडाँस्कुलबाट पेन्सनमा आए । मेरो पेन्सन पाक्दा मेरो २३ सय रुपैयाँ तलब थियो ।

मलाई २०४० सालमा स्वर्गीय राजा वीरेन्द्र शाहले सेवा पदकबाट सम्मान पनि गर्नुभएको थियो । गोठीकाँडामा रहेको मेरो परिवार वर्षमा २ महिना वीरेन्द्रनगर झर्ने अनि बाँकी १० महिना माथिनै बस्थिम् । किनकी त्यतिबेला वीरेन्द्रनगरमा आउना साथ औलो लाग्थ्यो । हरेक वर्ष मंसिरको दोस्रो हप्ता वीरेन्द्रनगर झर्थिम् अनि फागुनको अन्तिम हप्ता गोठीकाँडा गैहाल्थिम् नत्र औलो लागिहाल्थ्यो । वीरेन्द्रनगरमा त्यतिबेला धान मात्रै खेति हुन्थ्यो ।

बाँकी मकै, गहु, जौं, तरकारीहरु सबै गोठीकाँडामै हुन्थ्यो । धेरै समय औलोको डरले नबस्ने हुनाले पनि एक खेति धान मात्रै वीरेन्द्रनगरको खेतमा गरिन्थ्यो । २ महिना बसेर गोठीकाँडामै फर्किदा भने गाईवस्तु वीरेन्द्रनगरमै छोडुवा छोडेर जाने चलन थियो । अनि २०२३ सालमा वीरेन्द्रनगरमै बस्नका लागि झरेको थिईम् ।

त्यतिबेला १०औ१५ वटा घरको एउटा गाउँ हुन्थ्यो । धेरै घर थिएनन् प्रशस्त जग्गा थिए खेतिपातीका लागि । मलाई मेरो बालापन हुँदाको अझै याद आउँछ कति खुशी हुन्थिम् सानोसानो कुरामा । केहि ठूला आशा अपेक्षा हँुदैन थिए । भोग लाग्दा रोटी, दहिदूध खान पाए पुग्थ्यो ।

गाउँघरमा एैंचोपैंचो सरसापट चल्थ्यो । म सानो हुँदा चौपाँचे हुन्थ्यो त्यो भनेको चार भाग लिने अनि पाँच भाग फिर्ता गर्ने । अनि टक्कामूरी भन्थे अन्नपातहरु १ रुपैयाँको २० पाथी । हामी त आमासंग ढिक्कीमा धान कुट्न जान्थिम् । मिलहरु थिएनन् कुट्ने भनेको ढिकी, मुसलले थियो अनि दलनका लागि जाँतो हुन्थ्यो ।

पछि मैले २०२३ सालमा वीरेन्द्रनगर झरेपछि विवाह गरे । विवाह पनि आपूmले रोजेर गर्ने भन्ने हुँदैन थियो । बाबुआमाले एक अर्काको घरमा तीन चार पटकनै सोध्ने, छान्ने, घरमुलीले केटाकेटी मन पराएपछि मात्रै विहे हुन्थ्यो । उस्तै परे केटाकेटीले एकअर्कालाई देखेका पनि हुँदैन थिए । यहि रिति परम्परामा मेरो नि विहे भयो मेरा आमाबुवाको रोजाईमा । अहिले मेरो साथमा मेरो श्रीमती, मेरा ३ छोरा बुहारी अनि नातिनातिना छन् ।

तपाईको प्रतिक्रिया