सुर्खेतमा प्रहरी स्कुलको अटेरी : अनुमति नलिएरै कक्षा ६ सम्मको पढाई

पुनम वि.सी.
सुर्खेत, ३१ साउन
दुःखी गरिबलगायत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई मासिक १ सय रुपैयाँ शुल्कमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले देशभरका अन्य जिल्लाहरुमाझैं सुर्खेतमा पनि करिव ४ वर्षअघि समता स्कूल स्थापना गरिएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ मा सञ्चालन गर्ने गरी स्वीकृति पाएको विद्यालयले वडा नं ६ भित्रमा भनेअनुसारको भवन नपाएपछि वीरेन्द्रनगर ४ को एक निजी घर भाडामा लिएर सञ्चालन गर्दा विद्यार्थीको संख्या उल्लेख्य देखियो ।

वडा नं. ६ मा दर्ता भई वडा नंं ४ मा सञ्चालन गर्नु नियमविपरित हुने भन्दै निजी विद्यालयका सञ्चालक, तिनका संगठनले समता स्कूलले गैरकानूनी ढंगले विद्यालय सञ्चालन गरेको भन्दै चर्को विरोध गरेपछि उक्त विद्यालय अन्ततः बन्द हुने अवस्थामा पुग्यो ।

नेपाल प्रहरीको मातहतमा वीरेन्द्रनगर–७ इत्राममा सञ्चालनमा ल्याइएको प्रहरी स्कुललेपनि कक्षा चारसम्मको मात्र अनुमति लिएर कक्षा ६ सम्म बलजप्mती पढाउँदै गर्दा न त कुनै निजी विद्यालयले त्यसको विरोध गर्नसके न प्याब्सन एनप्याब्सनले नै ।

सामुदायिक वा संस्थागत विद्यालय सञ्चालनका लागि अनुमति दिने, नियमन तथा नियन्त्रण गर्ने एक मात्र आधिकारिक निकाय भनेकै सम्बन्धित स्थानीय तह हो जसले विद्यालय र त्यसमा कक्षा सञ्चालनको अनुमति दिने गर्दछ । कक्षा सञ्चालनको अनुमति दिने वीरेन्द्रनगर नगरपालिकाले कक्षा चार कक्षासम्म मात्र अनुमति दिएपनि प्रहरी स्कूलले नगरपालिकाको अनुमति बेगर आप्mनो मनपरी ढंगले ६ कक्षासम्म चलारहेको हो ।

अनुमतिबिनै कक्षा सञ्चालन गर्दा त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि विद्यालयले नै खेलवाड गरिरहेको शैक्षिक गतिविधिमा संलग्न व्यक्तिहरुको आरोप छ । संस्थागत विद्यालयले प्रत्येक वर्ष क्रमागत रुपमा कक्षा थप्न पाउने व्यवस्था छ ।

शैक्षिक गतिविधिका लागि पर्याप्त सुविधा तथा श्रोतसाधन भएका विद्यालयहरुलाई नगरपालिकाले सो बमोजिम हरेक वर्ष कक्षा थप्ने अनुमति दिन्छन । तर वीरेन्द्रनगरमा नाम चलेको प्रहरी स्कुललेनै नियमविपरित कक्षा सञ्चालन गर्दा समेत नियामक निकाय वीरेन्द्रनगर नगरपालिकाले उसलाई न नियमन गर्नसकेको छ न त नियन्त्रण नै ।

अनुमति नपाई सञ्चालन गरिएका कक्षामा वर्षभरी अध्ययन गर्ने तर अध्ययनको वैधानिकता नभएपछि विद्यार्थीको सो वर्ष यत्तिकै खेर जानसक्ने शिक्षा क्षेत्रका जानकार बताउँछन् । किनपनि भने अर्को कक्षा चढ्नका लागि लागि उनीहरुसँग कुनै औपचारिक कागजपत्र नै हुँदैन । अवैधानिक रुपमा सञ्चालनमा रहेका कक्षाले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य नै अन्यौल पार्ने ।वीरेन्द्रनगरस्थित एक संस्थागत विद्यालयमा अध्यापन गराईरहेका शिक्षकले टिप्पणी गरे ।

केहि समय पहिले, कक्षा सञ्चालनको अनुमति नभएका विद्यालयले भने अध्ययन–अध्यापन आफ्नो विद्यालयमा गराएर अर्को विद्यालयबाट परीक्षा दिन लगाउने गरेका थिए । ‘आपूmले पढाएपनि विवरण भने अन्य विद्यालयबाट भरिन्थ्यो । विद्यार्थीहरु एउटामा पढेर अर्को विद्यालयबाट पास हुन्थे ।’ उनले भने, ‘तर अहिले अवस्था त्यो छैन । अन्तिममा कुनै विद्यालयले मानेन भने विद्यार्थीको त्यो वर्ष त खेरै गयो नि ।’

यस विषयमा नगरपालिका समेत मौन बसेको उनको आरोप छ । समयमा नै सुल्झिनसक्ने विषयलाई नगरले ध्यान नदिएको उनी बताउँछन् । प्रहरी स्कुल र वीरेन्द्रनगर ७ मा रहेको सामुदायिक विद्यालय पद्मलिला विद्यालयसँग मर्जर गरिएको थियो ।

मर्जरका समयमा पद्मलिला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १२ कक्षासम्म नै पढाउने भन्ने सहमति भएको थियो । विद्यालय गाभ्दा प्रहरी स्कुलले अघिल्लो विद्यालयको भौतिक संरचना समेत प्रयोग गर्न पाउने सम्झौता गरिएको नेपाल प्रहरी स्कुलका प्रध्यानाध्यापक सुनिल देवकोटा बताउँछन् ।

वीरेन्द्रनगर नगरपालिकाको स्वामित्वमा रहेको उक्त भौतिक संरचनासहित मर्जर भएको अघिल्लो विद्यालय पाँच कक्षासम्म पढाई हुने गरेको आधारमा प्रहरी स्कुलले हाल ६ कक्षा सञ्चालन गरेको देवकोटाको तर्क छ । २०७७ मा विद्यालय मर्जर हुँदा प्रहरी स्कुलसँग चार कक्षासम्म सञ्चालन अनुमति थियो । मर्जर अघिको पद्मलिला विद्यालयले भने पाँच कक्षा सञ्चालन गरिरहेको थियो ।

सो समयमा श्रीकृष्ण संस्कृत मावि, वीरेन्द्रनगर नगरपालिका र नेपाल प्रहरी आवासीय महाविद्यालयको त्रिपक्षीय सम्झौताबाट विद्यालय मर्जर पश्चात जग्गा र भौतिक संरचना प्रहरी स्कुलले प्रयोग गरेको हो । कक्षा सञ्चालन अनुमति सन्र्दभमा उनले भने, ‘यस विषयमा हामीले प्रदेशमा समेत जानकारी गराएका छौँ । विभागीय पत्राचार पनि गरिरहेका छौँ, समन्वय समेत गरिरहेका छौँ । तर हालको मितिसम्म पनि अनुमति प्राप्त भएको छैन ।’

चालु शैक्षिक सत्रमा पनि कक्षा सञ्चालनको अनुमति प्राप्त नभए वा नगर शिक्षाले अनुमति नदिए विद्यार्थीको भविष्यका लागि अभिभावकलाई जानकारी गराएर कक्षा सञ्चालन बन्द गरिने देवकोटाको भनाई छ । ‘नेपाल प्रहरी स्कुल अन्य निजी विद्यालयभन्दा फरक ढंगले स्थापना भएको विद्यालय हो, मर्जरका समयमा अघिल्ला विद्यालयका बच्चाहरु पढाउने भन्ने थियो, त्यो विषयमा पनि पढाउन तयार छौँ ।’ देवकोटा भन्छन, ‘अथवा नगरपालिकाले राखेका छात्रवृत्तिका विषयमा छ भने पनि त्यो पालना गछौँ । तर हामीलाई र अन्य निजी विद्यालयलाई एकै रुपमा नगरले हेरिनुहुन्न भन्ने हाम्रो धारणा हो ।’

अटेरी विद्यालय
नेपाल प्रहरी स्कुललाई वीरेन्द्रनगर नगरपालिकाले अनुमति बिना सञ्चालनमा ल्याइएका कक्षा बन्द गर्न निर्देशन दिएको छ । अनुमति बिना कक्षा सञ्चालन गरेको भन्दै नगरपालिकाले नेपाल प्रहरी स्कुललाई कक्षा सञ्चालन रोक्न निर्देशन दिएको नगर शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले जनाए ।

‘नेपाल प्रहरी स्कुललाई अनुमति नलिई सञ्चालन गरेको कक्षा बन्द गर्न भनेका छौँ ।’ उनले भने, ‘विद्यालय अनुगमनका क्रममै हामीले उहाँहरुको अनुगमन पुस्तिकामा नै अनुमति बिना सञ्चालनमा रहेका कक्षा रोक्न निर्देशन दिएका छौँ ।’

यस विषयमा सम्बन्धित विद्यालय नै जिम्मेवार रहनुपर्ने बताउँदै शर्माले भने, ‘हामीले विद्यालयलाई नियम अनुसार चल्नुस् भनेका छौँ । अरु बाँकी उहाँहरुले नै निर्णय गर्नुहुनेछ । तर अनुमति विना कक्षा तथा विद्यालय सञ्चालन गर्न मिल्दैन ।’ अवैधानिक कक्षामा अध्ययनरत विद्यार्थीको भविष्यको सवालमा भने विद्यालय व्यवस्थापक पक्ष, यसका सञ्चालकलगायत विद्यालय परिवार नै जिम्मेवार रहने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया