कथा : राजनीतिक मोह

यामलाल घिमिरे/शिक्षक
सुबोध स्थानीय सहरमा सानोतिनो पत्रकारिता गर्ने गर्थ् यो । ऊ पत्रिका पेसासँगै समाजसेवामा प्रवेश गरेको हो । पत्रिका चलाउनुबाहेक मानव सेवा पनि उसको कर्म क्षेत्र बनेको थियो । गाउँका केही धार्मिक स्वभावका मानिसले दुखीको सेवा गरेको उसले सानैदेखि देख्दै आएको थियो । यसै प्रेरणाबाट उसको मनमा पनि समाज सेवी बन्ने धारणा पलाएको हो । उसले असहाय, दुखीको दुख पीडामा मद्दत गर्ने गर्थ्यो । कुनै मानिस बिरामी परेको थाहा पायो भने सकेको सहयोग गर्ने उसको स्वभाव बनिसकेको थियो ।

पत्रकार भइसकेपछि त मानव सेवाका लागि उसले गतिलो साधन नै पायो । तिनताका त समाजमा कोही अशक्त मानिस देख्यो कि पत्रिकाका माध्यमबाट सहयोग जुटाउँथ्यो । कुनै गरिब वा भोका, नाङ्गा मानिस देख्यो भने पत्रिकामा उनीहरुको बेलिविस्तार छापेर दाताहरुबिच सहयोगको याचना गर्थ्यो । मनकारी मानिसले उसैमार्फत सहयोग पनि पठाउँथे । उसले साँच्चै नै परेको बेला दुखी पीडितको सेवा पनि गरिरहन्थो ।

केही मृगौला पीडित मानिसको मृगौला प्रत्यारोपणका लागि पनि उसले दाताबाट रकम सङ्कलन गरी उसका परिवारलाई सहयोग गरेको थियो । एक पटक गाउँमा हैजा फैलिएर केटाकेटी, युवा, बुढापाकासमेत थला परे, केही मरे । उसले पत्रिकामा यो घटनालाई मुख्य समाचार बनायो । राजधानीका पत्रिकाको समेत ऊ सूचना स्रोत बन्यो । राजधानीका ठुला पत्रिकाले पनि उसैको पत्रिकाको हवाला दिँदै समाचार लेख्न थाले ।

सुबोध भने आफ्नो समाचार र सेवाले देशभर चर्चा पाएको देखेपछि खुसी भयो । आफूले पत्रिका पेसा छानेकोमा गर्व गर्न थाल्यो । हैजाका विरामीको उपचारका लागि पनि राजधानीबाट डाक्टरको टोली आयो । टोलीले स्थानीय स्वास्थ्यकर्मीलाई भेट्यो अनि सुबोधसँग पनि सम्पर्क गर्यो । यता विरामी र सर्वसाधारणले सुबोधप्रति कृतज्ञता जनाए । त्यसबेला विरामीलाई डाक्टरले औषधी त दिए तर कमजोर आर्थिक अवस्थाका विरामीहरुलाई खाना पनि आवश्यक थियो ।

उसले पोषणका लागि दाताहरुसँग आर्थिक सहयोगको आव्हान गर्यो । त्यसबाट पनि मनग्य रकम सङ्कलन भयो । उसले आवश्यक परेका पीडित असहायहरुलाई सहयोग पनि दियो । सुबोधले हैजा फैलनुको कारणमध्ये स्थानीय सरकार पनि बेलैमा चनाखो हुन नसकेको गुनासो छाप्यो । स्थानीय सरकारले स्वास्थ्य संस्थालाई औषधी उपलब्ध नगराएको र लापरवाही गर्ने स्वास्थ्य कर्मीलाई सजग नबनाएको, जनचेतना बढाउने कार्यक्रम फितलो भएको जस्ता टिप्पणी गर्यो ।

त्यस विषयमा पनि सुबोधको गाउँवस्तीदेखि केन्द्रसम्म खरो लेख्ने पत्रकारका रुपमा धेरै प्रशंसा भयो । उसले पत्रिकाका माध्यमबाट सधैँ जनस्वास्थ्यका बारेमा केही न केही सचेतनामूलक लेख प्रकाशन गरिरहन्थ्यो । सरकारबाट त्यस वर्षको स्वास्थ्य शिक्षा पत्रकारिता वर्ष पुरस्कारबाट पनि उसलाई सम्मान गरियो । सुबोधको सामाजिक मूल्य झन् थपिँदै गयो । २०७१ सालमा देशभर धेरै वर्षा भयो । त्यस वर्ष देशका अधिक ठाउँमा जताततै बाढी पैरो गयो । धेरै जनधनको क्षति भयो । कैयौँ मानिस बेघरबार भए । केहीले थातवास गुमाए ।

केही मानिस घाइते भए र केही भने घरजग्गासहित नै पुरिएर बेपत्ता भए । त्यो विपत्तिमा पनि सुबोधले धेरैको सहयोगका लागि कैयौं दातासँग हात थाप्यो । सयौं दाताले मन फुकाएर सहयोग गरे । मानिसले सहयोग गर्ने अवसर नपाएर मात्र हो, अझैं कहाँ मानवता मरेको रहेछ र ? सुबोध थप हौसियो । उसलाई दाताले घरमै आएर सहयोग राशि दिन थाले । विदेशमा हुनेले पनि इ–सेवा वा इ–बैङ्किङबाट पैसा पठाए । सहयोगको ओइरो नै लाग्यो । उसले त्यो रकमलाई मनमर्जी वितरण गर्यो ।

कैयौंले राहत पाए । सुबोधलाई धेरैले आफ्नै जन्म दिने पिता समान मान्न थाले । नमानुन् पनि किन ? उसले भोकालाई खाना दियो, नाङ्गालाई नानाको प्रबन्ध गर्यो । रोगीलाई अस्पत्ताल पुगेर उपचारका लागि पैसाको व्यवस्था गर्यो । कतिले मृगौला फेर्न पाए । उसको लोकप्रियता झनै बढ्यो । देशमा २०७२ सालमा फेरि भूकम्प धेरै जनधनको क्षति गर्यो । मानिसहरुले आहातमा राहत मागेका थिए । केही मानिसबाहेक कुनै जनप्रतिनिधि पनि जनताको पीडामा सान्त्वना दिन आएनन् ।

सुबोध भने रातोदिन चन्दा सङ्कलन गर्ने, आवश्यक परेकालाई रकम वितरण गर्ने, घरवास नभएकाहरुलाई त्रिपाल व्यवस्था गर्ने लगायतका थुप्रै कार्यमा खटिइरह्यो । सरकारका प्रतिनिधि भने केही पाउरोटी, केही बोरा चिउरा, दालमोठ लिएर राहत वितरण गर्ने निहुँमा आसेपासे टिम लिएर हेलिकप्टरमा सयर गर्न थाले । उनीहरुका लागि विपत् अवसर बनेर आए जस्ता भयो । तर सुवोधको निस्वार्थ सेवा देखेर गाउँघरका सबै मानिस गर्व गर्थे । उसलाई गरिबका भगवान नै भन्थे । सुबोध अन्यायमा परेकाहरुका पीडितका लागि न्याय बनेर उपस्थित हुन्थ्यो ।


वैदेशिक रोजगारीमा ठगिएका युवा होउन् वा बेचिएका चेलीको व्यथा होओस् उसले उनीहरुको आवाज बुलन्द गर्थ्यो । तराईमा कुनै विपत् आयो भने आफ्नो टिमसहित त्यही पुग्थ्यो । सडक दुर्घटना होओस् वा आगलागीको घटना होस् उसले सहयो गर्न आफ्नो उपस्थिति जनाउँथ्यो । विदेशमा रहेका नेपालीका पीडालाई लिएर पत्रिकामा मुद्धा उठाउने र दाता अनि सरकारबाट सहयोग जुटाउने काममा पनि उसको ठुलो भूमिका रहन्थ्यो ।

एक पटक तान्जानियको जेलमा झुठो आरोपमा कैदी बिताइरहेका गुरुङ थरका युवालाई मुक्त गराउन सहयोग रकम उठाएर छुटाएको घटना निकै प्रशंसनीय थियो । सुबोधलाई नजिकबाट चिन्ने केही मानिसहरु बिचौलिया भन्थे । उसले गरेको सहयोग आफ्नो कमाइबाट हो र ? के ऊसँग गरिब दुखीलाई बाँड्ने सम्पत्ति छ ? पक्का छैन। उसले सहयोग गरेको भन्ने बहाना मात्र हो । उसले दुनिया ठग्ने सजिलो बाटो रोजेको छ । उसले साँच्चै गरिबदुखी र पीडितको पीडामाथि व्यापार गर्यो । दाताको कोमल मनमाथि खेलबाड गर्यो ।

एक प्रकारको इमोसनल ब्ल्याकमेलिङ गरेको हो । उसले लाख रुपैयाँ सङ्कलन गर्यो भने आधाजति आफूले राखेर बाँकी पीडितलाई बाँड्छ भन्थे । उसलाई दाताको परोपकारी भावनामा ठेस पुर्यायो भन्ने आरोप लगाउँथे । उनीहरु उसलाई एक किसिमको पेसेवर ठग हो भन्ने गर्थे । उसले सतहमा हेर्दा सेवा गरे जस्तो देखिने तर भित्री रुपमा व्यापारमा तल्लिन छ भन्ने दोष लगाउँथे । दुख पीडामा परेका मानिस जसले सहयोग गर्छ उसैसँग सहयोग लिने इच्छा राख्छन् ।

उनीहरुलाई उनका नाउँमा कसले कति सहयोग पठायो सबै पारदर्शी हुँदैन। उसले यही सहयोग राशिबाट मोज उडायो । नत्र उसले सामान्य पत्रिका चलाएर ८–१० वर्षमै चितवन र पोखरा जस्ता महङ्गा सहरमा चार चार तलाका घर कसरी ठड् यायो ? ऊ जस्ता कैयौं पत्रकार पैदल हिँड्छन् । ऊ महङ्गो कार कसरी चढ्न सक्छ ? यस्तै विषयमा औंला ठड्याउँथे । सुबोध कहिले काहीँ आफन्तहरुसँग भोजभतेरमा पनि सहभागी हुन्थ्यो ।

तिमीले त नेताहरुले गर्न नसकेको काम गर्यौ नि भनेर उसलाई साथीभाइले फुर्क्याउँथे । ऊ मख्ख पर्थ्यो । तिमी जस्तो मान्छे यो देशको मन्त्री–प्रधानमन्त्री भइदिएको भए यो देश कति सुन्दर हुन्थ्यो होला है । यो सुन्दा उसका मनमा कता कता राजनीति क्षेत्रमा सफल भइयो भने त राम्रै हुने थियो भन्ने सोच पलाउन थाल्यो । उसभित्र राजनीतिबाट नाम र दाम पनि कमाइने अनि शक्तिमा पनि सजिलै पुगिने भन्ने विचार विकसित हुँदै गयो । उसले बिस्तारै राजनीतिमा प्रवेश गर्ने योजना बनाउन थाल्यो ।

यस विषयमा आफन्तसँग चर्चा चलाउँदै गयो । सबैले उसलाई हौसला दिँदै गए । सुबोधले आजसम्म कमाएको प्रतिष्ठालाई राजनीतिबाट लाभ लिने विचार गर्यो । उसको देशमा नाम चलेका कुनै पनि राजनीतिक दलसँग निकटता थिएन । अब उसले नयाँ शिराबाट राजनीतिमा हाम फाल्ने विचार बनायो । त्यस वर्ष वैशाख महिनामा संसदीय निर्वाचन परेको थियो । सुबोध जस्ता युवाहरु आफ्नो लोकप्रियताको राजनीतिक लाभ उठाउने दाउमा सोझिए ।

उसले पनि समाज सेवाबाट कमाएको नाम र इमानलाई एक पटक भोटसँग साट्ने योजना बनायो । देशमा राजनीतिक अस्थिरता थियो । नाम चलेका राजनीतिक दलहरुबाट पनि जनता सन्तुष्ट थिएनन् । हरेक युवामा राजनीतिप्रति वितृष्णा थियो । कुनै दलले पनि जनतामा उत्पन्न तीव्र असन्तोषलाई सम्बोधन गर्न सकेको थिएन । कुनै पनि दलसँग विश्वास लाग्दो युवालाई नेतृत्वका लागि अघि सार्ने हिम्मत देखिँदैनथ्यो । सम्भावना बोकेका युवाहरुलाई बुढा र विचाहीन नेतृत्वले थिचेर राख्थे ।

हरेक दलमा वृद्धले मात्र पटक पटक राजनीतिक दलको नेतृत्त्व गरिरहने हुँदा युवाहरु ज्यादै आक्रोशित थिए । शिक्षित नवयुवाहरु देशमा रोजगारीको अवसर नदेखेपछि बैंक वा साहुसँग चर्को ब्याज काडेर अरब÷खाडीको चर्को घाममा पसिना बगाउन बाध्य थिए । कसैले यो परिपाटीमा सुधार ल्याउन सकेन । चुनावअघि सबै जसो दलले जनतालाई अनेक आश्वासनका पेटारा बाँढ्ने अनि पाँच वर्ष सत्तामा रजगज गर्नेबाहेक केही गर्न सकेनन् । सुबोधले यही परिस्थिका बिच आफ्नो राजनीतिक सफलता देखिरहेको छ ।

उसकी ठुलीआमाले सुबोधलाई सम्झाउँदै भनेकी थिइन्, ’एक क्षेत्रमा सफल मानिस अरु क्षेत्रमा पनि सफल नै हुन्छ भन्ने हुँदैन । यसभन्दा पहिला पनि अन्य क्षेत्रमा नाम कमाएका सेलिब्रेटीहरु राजनीतिक प्लेटफर्ममा पसेर रित्तो हात फर्किएका हुन्, यसमा तिमीले सोच्नुपर्छ ।’ उनका ती चोटिला दृष्टान्त सुबोधका लागि फिका देखिए । ठुलीआमाले लोकतन्त्रमा व्यक्ति हावी हुन सक्दैन, दलीय जनाधार चाहिन्छ भनेको सुबोधको कानमा बिझ्न थाल्यो । तर पनि ऊ भने राजनीतिमा छलाङ मारेर जीवनमा नयाँ यात्रा आरम्भ गर्ने दाउमा छ । यसपटक उसको अर्जुन दृष्टी चुनावमै केन्द्रित छ । (लेखक : श्रीकृष्ण संस्कृत माविमा कार्यरत हुनुहुन्छ ।)


Leave a Reply

Your email address will not be published.


ताजा समाचार