क्याम्पस पढ्दा बसेको माया

धेरै व्यक्तिहरुका सम्बन्ध पढ्दै गर्दा हुन्छन । विद्यालय तहमा पढ्दा होस्, या क्याम्पस तहमा पढ्दा सम्बन्धहरु गाँसिन पुग्छन । पढ्दै गर्दा चिनजान हुन्छ । साथी बन्छन । नजिक हुँदै जाँदा प्रेमी प्रेमिका बन्छन् । अनि बिवाह भएर जीवन साथी हुन पुग्छन ।

यस्तै भयो सुर्खेतका घनश्याम केसी र बिमला रोकायको जीवनमा पनि । शुरुमा चिनजान भयो । चिनजानपछि नजिकिदै गए । अनि माया बस्यो । त्यसपछि बिवाह भयो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

ट्युसन पढ्दा चिनजान
घनश्याम एसएलसी दिने बेला ट्युसन पढ्न वीरेन्द्रनगर आए । घनश्यामले ट्युसन पढ्ने कक्षामा बिमला पनि ट्युसन पढ्न आएकी रहेछिन । अनि उनीहरुको भेट त्यतिबेला भएको हो । भेट भएको बेला कुराकानी नभएपनि एकअर्काको नजर भने जुधेको थियो । दुबै जना एक अर्कामा आकर्षित भएका थिए ।

अनि ट्युसन पढ्न गएको बेला सधै जस्तो भेट हुन थाल्यो । एकदिन गणितको एउटा हिसाब बिमलाले जानिनन् । अनि घनश्यामले सिकाइदिन खोजे । अनि त्यतीबेला बोलाचाली भयो । बोलाचाली शुरु भएपछि उनीहरु सँगै ट्युसन पढ्न जानेसँगै आउने गर्थे । कुराकानी हुन्थ्यो, तर साथीको रुपमा । प्रेमको कुरा नभएपनि भित्री मनमा भने प्रेमका मुनाहरु पलाउँदै थिए । अनि ट्युसन सकिएपछि भने उनीहरुबीचमा केही समय भेट भएन ।

दाईहरुको कारण अझै सम्बन्ध नजिकियो
एसएलसी पास गरेपछि घनश्याम क्याम्पस पढ्न वीरेन्द्रनगर नै आए । शिक्षा क्याम्पसमा उनले पढ्न शुरु गरे । वीरेन्द्रनगरमा बसेर पढ्ने गरेका घनश्यामको दाईले पुस्तक पसल गरेका थिए । यता बिमला पनि तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा पढन थालिन । दुबैजनाले पढ्ने क्याम्पस फरक फरक भएको हुँदा खासै भेटघाट हुन्थेन । तर बिमला र घनश्यामको दाईहरु भने साथी थिए ।

दाईहरुको सम्बन्ध राम्रो थियो । एकदिन घनश्यामको दाईको पुस्तक पसलमा बिमला किताब किन्न आइन । किताब किन्न आएको बेला घनश्याम र बिमलाबीचमा कुराकानी भयो । कँहा पढ्न लागेको ? के विषय पढ्न लागेको दुबैजनाको केहिछिन वार्तालाप भयो । धेरैपछि भेट भएपछि दुबैजना खुशी पनि थिए । अनि फेरी दुबैजना पहिलेकै जस्तो भेटघाट हुन थाल्यो । साथीको रुपमा कुराकानी बढ्दै गयो । दुबैजना बाहिर भन्न नसकेपनि भित्री रुपमा मन पराएका थिए ।

फुपूूको संयोजनले माया बढ्दै गयो
उमेरपनि बढ्दै गयो । दुबैजना नजिक हुँदै गएका थिए । उनीहरुबीचको हेलमेल देखेर बिमलाको फुपूुले दुबैजनालाई बिवाह गराइदिने सोच बनाएकी रहेछिन । बिमलाको फुपूुको घर बोटेचौरमा थियो । एकदिन घनश्याम र बिमलालाई घरमै बोलाइन । अनि दुबैजना एउटै कक्षामा पढ्ने, अनि जोडी मिल्ने भएकाले बिवाह गर्न सुझाव दिइन ।

घनश्यामको घर जाने बाटो पनि बिमलाको फुपूको घर नजिकबाट भएको हुँदा उनीहरुको सम्बन्धलाई नजिक बनाउन बिमलाको फुपूले धेरै सहयोग गरिन । अनि उनीहरु दुबैजना झनै आकर्षित र एकअर्काको कुरामा ध्यान दिन थाले ।

भेटघाट र माया बढ्दै गयोे
जब उनीहरुको कुराकानी दिनदिनै बढ्दै गयो । दाईहरु पनि साथी अनि बिमलाको फुपूको संयोजनले उनीहरुबीचको भेटघाट बाक्लिदै गयो । माया पनि बढ्दै गयो । माया बढ्दै गएपनि उनीहरुले एकअर्कालाई प्रेमको बारेमा केही भनेका थिएनन् । तर मनोभावना भने बुझेका थिए । उनीहरुको मनमा भने एकअर्का बसिसकेका थिए ।

बिमलाको फुपूले पनि केटा राम्रो रहेको भन्दै बिमलालाई बिवाह गर्न सुझाव दिइरहन्थिन । घनश्यामले पनि बिमलालाई प्रत्येक दिन भेट्न जान्थे भने बिमला पनि घनश्यामलाई भेट्न साह्रै मन पराउँथिन । उनीहरु एकअर्कालाई धेरै याद गर्थे ।

प्रेम प्रस्ताव
उनीहरुबीचमा धेरै माया बसिसकेको थियो । तर दुबैजनाले बाहिरी रुपमा केही भनेका थिएनन । एकदिन उनीहरु घुम्न गएका थिए । अनि घनश्यामले प्रेम प्रस्ताव राखे । आपूmले पहिलेदेखि नै माया गरेको तर भन्न नसकेको बताए । बिमलाले पनि आपूmले पनि धेरै मन पराएको र जहिले पनि याद गरिरहने बताएपछि दुबैजना आधिकारिक रुपमा प्रेमी प्रेमिका बने ।

त्यतिबेला उनीहरु क्याम्पस पढ्दै थिए । अनि उनीहरुको प्रेम सम्बन्धको बारेमा घरपरिवारमा सबैलाई थाहा थियो । तर बिमलाका भिनाजुलाई मात्र थाहा थियो । उनी विदेशमा थिए, विदेशबाट फर्किएपछि उनले पनि थाहा पाएपछि बिमलालाई गाली गरेका थिए । जो पायो त्यहिसंग प्रेम गर्ने भनेर झपारे । बिमला धेरै रोइन । अनि घनश्यामसँग बिमलाको भिनाजुले भेटेपछि उनी पनि घनश्यामप्रति पोजेटिभ भए ।

अनि बिवाह
चार बर्षसम्म प्रेम सम्बन्ध राखेका उनीहरुले २०६४ सालमा बिवाह गरे । उनीहरुले भागी बिवाह गरेका थिए । तथापि घरपरिवारले भने उनीहरुको बिवाहलाई सहजै स्वीकार गरेका थिए । बिवाह भएर घरमा जाँदा बिमलालाई केही गाह्रो लागेको थियो । बिरानो मानिसहरु, बिरानो ठाउँ । तर उमेरले परिपक्व उनी छिट्टै घुलमिल हुन सकिन । घनश्यामको मायाले गर्दा उनी विस्तारै घुलमिल हुँदै गइन ।

संघर्ष
उनीहरुले खासै अभाव झेल्नु नपरेपनि बिवाहपछि आफ्नो भविष्य बनाउन भने धेरै संघर्ष गर्नुपर्यो । घनश्याम गाउँमा पढाउन गए । उनी पढाउने शिलशिलामा सिम्तामा बस्ने गर्थे । बिमला भने वीरेन्द्रनगरमै बसेर पढिन । कहिलेकाँही घनश्याम वीरेन्द्रनगर आउँथे । भर्खर बिवाह गरेका जोडीसँगै बस्न पाएका थिएनन ।

आफ्नो पढाई पूरा गर्नुपर्ने अनि जिम्मेवारी पूरा गर्नुपर्ने उनीहरुको काँधमा थियो । पढाउँदै पढ्दै गरेका घनश्याम र आफ्नो जिम्मेवारी पूरा गर्दै पढेकी बिमलाले धेरै मेहेनत र संघर्ष गर्नुपर्यो । यसैगरी नै उनीहरु दबुैजना व्याचलर पूरा गरे । अनि घनश्यामले पढाउन छोडेर वीरेन्द्रनगरमा विभिन्न संघसंस्थामा काम गर्न थाले । उनीहरुका छोराछोरी पनि जन्मिए ।

छोराछोरी हुर्काउनुपर्ने, आफ्नो काम अनि पढाई पूरा गर्नुपर्ने यही चुनौतीबाट उनीहरु अगाडि बढे । आफ्नो उच्च शिक्षा पनि पूरा गरे । अहिले बिमला व्यवसायिक बनिन । भने घनश्याम गैर सरकारी महासंघको जिल्ला सदस्य, जिल्ला सहसचिव हुँदै जिल्ला अध्यक्ष भए । उनी गैर सरकारी महासंघ कर्णाली प्रदेशको इन्चार्ज तथा केन्द्रीय सदस्य छन । जीवन भनेकै संघर्ष हो भन्ने बुझेका यो जोडीले संघर्षलाई अगाडी बढाए । संघर्षले मानिसलाई सफल बनाउदो रहेछ उनीहरु भन्छन ।

बाल्यकाल
बुवा नीलबहादुर खत्री र आमा चन्द्रावती खत्रीको कोखबाट २०४३ साल फागुन ११ गते सुर्खेतको सीम्ता गाउँपालिका वडा नम्बर २ सिर्पामा घनश्याम केसीको जन्म भयो । उनी घरको कान्छो छारो । उनका ४ भाईबहिनी रहेका छन । उनको सानो कक्षा गाउँमै पढे । सरस्वती प्रावि सिर्पामा ३ कक्षासम्म पढेका उनले ४ कक्षादेखि भने जीवन ज्योति मावि काफलकोटमा पढे ।

त्यहि माविबाट २०६१ सालमा एसएलसी पास गरे । अनि आएड पढ्न शिक्षा क्याम्पस सुर्खेतमा आए । उनले २०६५ सालमा आएड पास गरे । बिएड भने २०६९ सालमा पास गरे । मध्यपश्चि विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा मास्टर्स गरेका छन । सबैसँग मिल्ने इमान्दार स्वभावका थिए । विभिन्न अतिरिक्त क्रियाकलापमा भने उनले भाग लिन्थे ।

यता, बुवा बलजित रोकाय र आमा सशिली रोकायको कोखबाट २०४४ चैत १७ गते सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ थक्लेनीमा जन्म भएको हो । उनका पाँच भाईबहिनी छन । उनी घरको कान्छी छोरी हुन । उनको बाल्यकाल पनि गाउँमै वित्यो उनले सानो कक्षा नेरा प्रावि थक्लेनीमा ५ कक्षा सम्म पढिन ।

६ कक्षा गुर्भाकोट सहारेमा पढेकी उनले एसएलसी भने श्रीकृष्ण संस्कृत माविबाट २०६२ सालमा पास गरिन । त्यसपछि तत्कालिक बहुमुखी क्याम्पसबाट २०६४ सालमा प्लस टु पास गरिन । अनि मध्यपश्चिम विश्वविद्यालय २०६८ सालमा व्याचलर गरेकी उनले २०७५ सालमा लेखा विषयमा मास्टर्स गरेकी छन । बिमला सानैदेखि सहयोगी स्वभावकी छन ।

प्रेम अनुभव
उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ । अहिलेसम्म झगडाभन्दा धेरै माया भएको छ । उनीहरुको विचारमा दुबैको कुरा बुझ्ने सुख दुःखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बीचमा विश्वासको वातावरण हुनुपर्छ । यो जोडी फुर्सदको समयमा विभिन्न ठाउँहरुमा पनि घुम्न जाने, रमाईलो गर्ने गर्दछन ।

उनीहरु भन्छन शंकाले सम्बन्ध विगार्छ । अन्य जोडिहरुलाइ पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हासिल हुने सुझाव दिन्छन । यो जोडी जुनसुकै काम गर्दा पनि सल्लाहमा गर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया