ब्राण्ड स्टोरी : फुर्सदमा बुनेको ढकिया

पुनम वि.सी.
सुर्खेत, २७ साउन ।
कुश आफैमा नेपाली समाजमा प्रयोग हँुदै आएको वनस्पति हो । हिन्दू धार्मिक रुपमा नेपाली समाजले यसलाई परापूर्वकालदेखि नै प्रयोग गर्दै आएको छ । धार्मिक विधि अनुसार कुशलाई प्रयोग गरिदै आईएको छ भने यसलाई मानवका लागि स्वस्थवर्धक वनस्पतिका रुपमा पनि मानिन्छ ।

कुशले बनेको गुन्द्री तथा चकटीमो नियमित प्रयोग गर्दा उच्च रक्तचापको स्वास्थ्य समस्या भएका विरामीलाई फाइदा पुग्ने विश्वास समेत छ । यसले रोगका विषाणुहरुलाई नष्ट गर्न समेत मद्दत गर्ने जनविश्वास् रहिआएको छ ।

वीरेन्द्रनगर–१०, पातालगंङ्गास्थित थारु वस्तिका महिलाहरु भने हिजोआज यसै कुशलाई प्रयोग गरेर आयआर्जन गर्न थालेका छन् । खोला छेउछाउ तथा सिमसार क्षेत्रमा कुश प्रशस्तै मात्रामा पाइन्छ । प्रत्येक वर्ष यो कुश यत्तिकै खेरपनि गईरहेको छ । तर पातालगंङ्गा निवासी महिलाहरु भने कुशको प्रयोगले विभिन्न हस्तकलाका सामाग्री निर्माण गर्दै आर्थिक आयआर्जनमा जुटेका छन् ।

यहाँका थारु समुदायका करिव १३ जना महिलासंग ढकिया बुनाई सम्वन्धि हस्तकलाको सीप छ । प्रायः गृहणी रहेका ती महिलाहरु फुर्सदको समयमा ढकिया बुन्छन् । कुशले बनाइएको ढकिया आर्कषक देखिन्छ, आम्दानी पनि बढाउँछ ।

थारु समुदायले कुशबाट ढकियालगायतका घरायसी साामग्री बनाउन थालेको सदियौँदेखि नै हो । तर वर्तमान समयमा भने यो सीप लोप हुँदै गएको छ । बजारमा प्लाष्टिक तथा अन्य उत्पादनतर्फ ग्राहकको आर्कषण बढ्न थालेपछि कुशका हस्तकलाका सामाग्रीको प्रयोग घट्दै जानथाल्यो । नयाँ पुस्ताले यसलाई अनुशरण गरेनन् ।

तर अहिलेको बजार पुनः प्राकृतिक सामाग्रीको प्रयोगतर्फ फर्कदै छ । थारु समुदायका यी महिलामा समेत पुरानो सीपलाई परिमार्जन गर्दै हस्तकलाका आर्कषक सामाग्री उत्पादन गर्ने सीप छ, अहिले यसै सीपले उनीहरुलाई आर्थिक आम्दानीको बाटोमा जोड्दै गरेको देखिन्छ ।

फोटो क्याप्सनः वीरेन्द्रनगर–१० स्थित थारु समुदायका महिलाद्वारा निर्मित हस्तकलाका सामाग्री ।

‘हामीले पहिलेपनि ढकिया बनाएकै हौँ । धेरै पहिला कुशले बनाएका ढकिया अहिलेपनि छन् । आपूmले मात्रै प्रयोग गर्यौँ । बनाउँदै बेचेपछि त पैसा कमाइदो रहेछ’, थारु समुदायकी मानकुमारी चौधरी भन्छिन् ।

मानकुमारी उमेरले अहिले ५० वर्षकी भईन् । युवा अवस्थामै उनीसंग ढकिया बुन्ने सीप थियो । घरका लागि ढकिया बुन्थिन् । फुर्सदमा बुनेको ढकियाले आम्दानी गर्न सकिने उनले कहिल्यै सोचिनन् ।
उनले भनिन्, ‘घरमै बसेर बुन्दै पैसा कमाइने रहेछ । पहिला हामीले बुनेका नराम्रा देखिन्थे । अहिले हेर्दा पनि राम्रा लाग्ने बुन्न सकिन्छ ।’

मानकुमारी मात्र होइन समुदायकी बालकुमारी, सपनालगायतका महिलाहरु फुर्सदको समयमा गाउँमै रहेको पातालगंङ्गा थारु होमस्टे आउँछन् । महिलाबीच गाउँभरका खबर पनि साटिन्छन्, ढकिया पनि तयार हुन्छ ।

नुन–तेलको जोहो
हस्तकलाको सामाग्रीका आफ्नै ग्राहक हुन्छन्, आफ्नै बजार छ । यस्ता सामाग्रीहरु बिक्रिवितरणका लागि खासगरी पर्यटकीय क्षेत्रलाई विशेष मानिन्छ । पातालगंङ्गास्थित थारु समुदायका महिलाले उत्पादन गरेको हस्तकलाका सामाग्रीको बजार अवस्था पनि उस्तै छ । केहि आम्दानी छ, जसले घरको केहि खर्च धानेको छ । मानकुमारीले भनिन्, ‘घरमा नुन–तेल किन्न पुग्छ । धेरै बिक्रि भए धेरै बनाउन पनि सकिन्छ ।’

समुदायका ११ जना महिला अहिले नियमित कुशबाट बनेका सामाग्री निर्माण गरिरहेका छन् । उनीहरुको मात्र उत्पादनले नियमित रुपमा बजार पाएमा मासिक रुपमा १५ हजार रुपैयाँसम्म प्रति व्यक्ति आम्दानी गर्न सकिने पातालगंङ्गा थारु होमस्टेका अध्यक्ष दिल चौधरी बताउँछन् । ‘अब हामी नियमित रुपमा उत्पादन गर्न सक्छौँ । हाम्रा सामाग्री गुणस्तरीय छन् । यसका लागि ठूलो बजारको खोजी पनि चलिरहेको छ’, उनले भने ।

प्रशस्तै कच्चा पदार्थ
ढकियाका लागि मुख्य कच्चा पदार्थ कुश नै हो । तराई तथा पहाड सबै क्षेत्रमा कुश सजिलै उपलब्ध हुन्छ । खोला छेउछाउमा वर्षेनी कुश यसै खेर गईरहेको छ । यसलाई प्रयोगमा ल्याउन सके आम्दानीको राम्रो स्रोत हुनसक्ने पातालगंङ्गा थारु होमस्टेका अध्यक्ष दिल चौधरी बताउँछन् ।

‘कच्चा पदार्थको समस्या नै छैन । पछि पछि यसको पनि व्यवसायिक खेति होला । यो अझे धेरै वर्ष पछिको कुरा हो । अहिलेलाई खेर गईरहेको कुशलाई मात्र प्रयोगमा ल्याउन सके आम्दानीको राम्रो स्रोत बन्छ’, उनले भने ।

थारु समुदायले उत्पादन गरिरहेको कुशका हस्तकलाका सामाग्री आवश्यक भए सम्पर्क गर्न उनले अनुरोध गरे । समुदायका ती उत्पादनहरु होटल–रेष्टुरेण्ट, घरायसी तथा कार्यालयको प्रयोजनका लागि समेत प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया