कर्णालीमा कोरोना सक्रिय संक्रमितको संख्या बढ्यो

सुर्खेत, २६ साउन ।
कर्णालीमा कोभिड–१९ संक्रमण फैलन थालेको छ । चार हप्ताको तथ्यांक हेर्दा कर्णालीमा संक्रमितहरुको संख्यामा वृद्वि भएको देखिन्छ । साउन ३ गते कर्णालीमा संक्रमण पुष्टि हुनेको संख्या शून्य थियो । असार २६ गतेदेखि नै संक्रमितहरुको संख्यामा वृद्वि भएको थिएन । असार २६ र २९ गते तथा साउन २ गते एक–एक जनामा मात्र संक्रमण पुष्टि भएको देखिन्छ । साउन १० गते भने चार जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी १७ गते १२ जना र २४ गते २५ जनामा संक्रमण पुष्टि भएको कर्णालीको स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक छ ।

सक्रिय संक्रमितको लहरलाई अध्ययन गर्दा कर्णालीमा दिनप्रतिदिन संक्रमण पुष्टि हुनेहरुको संख्या बढ्दो छ । मंगलबारसम्ममा कर्णालीमा कुल एक सय ९९ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

मंगलबारसम्म कर्णालीका ७ वटा जिल्लामा संक्रमण पुष्टि भएका नागरिक होम आईसोलेशनमा बसेका छन् । मुगुमा ५२ जना, जुम्लामा दुई जना, कालिकोटमा ४६ जना, दैलेखमा तीन जना, रुकुम पश्चिममा ३६ जना सल्यानमा ६ जना र सुर्खेतमा ५४ जना होम आईसोलेशनमा रहेको निर्देशनालयले जनाएको छ ।

सक्रिय संक्रमितहरुका लहर हेर्दा असार ६ गतेसम्म कर्णालीमा ६ जना सक्रिय संक्रमित थिए । सो दिन मात्र एक जनामा संक्रमण पुष्टि भएको थियो । साउनको सुरुवाति दिनमा उकालो लागेको सक्रिय संक्रमितको लहर केहि दिन स्थिर रह्यो ।

योसंगे साउनको मध्यसाताको सुरुवातिसंगै सो लहर दिनानुदिन बढ्दो अवस्थामा देखिन्छ । साउन २४ गतेसम्म कर्णालीमा सक्रिय संक्रमितको संख्या एक सय ९९ जना पुगेको छ ।  हालसम्म कर्णालीमा एक लाख ३० हजार तीन सय २ जनामा पीसप्आर परीक्षण भएको छ भने ६७ हजार तीन सय दुई जनामा एञ्टिजेन विधिद्वारा परीक्षण गरिएको छ ।

खोपमा छैन रुचि
कोभिड–१९ संक्रमणविरुद्वको खोपमा नागरिक आर्कषण घट्न थालेको छ । यसले गर्दा पनि कर्णालीका नागरिकको स्वास्थ्य जोखिम कायमै रहेको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसी बताउँछन् ।

प्रदेशमा ६४ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाएको निर्देशनालयको तथ्यांक छ । दोस्रो मात्राको खोप लगाउनेको संख्यामा केहि कमी आएर ६१ प्रतिशत पुगेको छ । तर तेस्रो मात्राको बुस्टर डोज लगाउनेको संख्यामा भने कर्णाली प्रदेशमा २४ प्रतिशत मात्र छ ।

नागरिकको खोप संलग्नतामा कमी आएपछि यसले स्वासथ्य जोखिम बढाउन सक्ने केसीले बताए । उनले भने, ‘यहाँ कर्णालीमा अधिकांश खोप नलगाएकामा संक्रमण पििष्ट भईरहेको छ । उहाँहरु नियमित खोप लगाउन आउनुहुन्छ । संक्रमण भईहालेको समयमा भने यसले स्वास्थ्य निकै शिथिल बनाउछ ।’

वुष्टर डोज लगाउनेको प्रतिशत रुकुम पश्चिममा धेरै छ । पहिलो खोप लगाएकामध्येका ३५ प्रतिशत नागरिकले यहाँ बुस्टर डोज लगाएका छन् । यसैगरी सबैभन्दा न्यून मात्रामा हुम्लामा १३ प्रतिशत नागरिकले मात्र वुष्टर लगाएको के.सीले बताए ।

जिल्लागत रुपमा हेर्दा डोल्पामा १४ प्रतिशत, मुगुमा १८, जुम्लामा २०, कालिकोटमा १७, दैलेखमा २४, जाजरकोटमा १८, सल्यानमा २७ र सुर्खेतमा २९ प्रतिशत नागरिकले मात्र तेस्रो मात्राको वुष्टर खोप लगाएका छन् ।

खोप लगाए न्यून जोखिम
निर्देशनालय तथा मातहतका कार्यालयले नियमित खोप अभियान सञ्चालन गरिरहेका छन् । सहजै रुपमा नागरिकले खोप लगाउन सक्ने व्यवस्था गरिएको छ । तर खोप लगाउनेहरुको संख्यामा वृद्वि नभएकोमा केसीले चिन्ता व्यक्त गरे ।

उनले भने, ‘संक्रमण समयमा खोप नलगाएकाको मृत्यु हुने सम्भावना बढेर जान्छ । साथै खोपको अर्को मात्रा लगाउने समय भएको तर नलगाएको अवस्थामा पनि संक्रमण भएमा स्वास्थ्य जोखिम उत्तिकै रहन्छ ।’

नेपालका अन्य प्रदेशमा कोभिड–१९ संक्रमणका कारण नागरिकको ज्यान समेत गएको बताउँदै उनले भने, ‘अहिलेको अवस्थामा कर्णालीमा त ज्यान नै गएको छैन तर अन्य प्रदेशको हेर्नेहो भने कोभिड संक्रमणले मृत्यु भएकामध्ये ७५ प्रतिशत नागरिक खोप नलगाएका हुन् ।’ नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन उनले अनुरोध गरे । कर्णालीका हालसम्म कोभिडका कारण तीन सय ९१ जनाको मृत्यू भईसकेको निर्देशनालयको तथ्यांक छ ।

५७ आईसियु र ३७ भेन्टिलेटरको क्षमता
हालसम्म कर्णालीमा कुल ७३ वटा आईशोलेसन केन्द्रको व्यवस्था गरिएको छ । जहाँ एक हजार आठ सय दुई जना कोभिड– संक्रमित विरामी राख्न सकिने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । संख्यात्मक रुपमा दैलेखमा सबैभन्दाधेरै आईशोलेसन केन्द्रको स्थापना भएका छन् ।

दैलेखमा कुल ११ वटा आईशोलेसन केन्द्रहरु छन् भने कालिकोटमा १० वटा स्थापना भएका छन् । डोल्पा, जुम्ला, जाजरकोट, रुकुम पश्चिममा आठ–आठ वटा आईशोलेसन केन्द्रको स्थापना छ । सल्यानमा सात वटा, मुगु र हुम्लामा चार–चार वटा तथा सुर्खेत, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेहलकुना अस्पताल र चौरजहारी अस्पतालमा एक वटा आईशोलेसन केन्द्र छ ।

यसैगरी कोभिड–१९ का जटिल उपचारको खाँचो रहने विरामीका लागि प्रदेशभर ५७ वटा आईसियु कक्षको व्यवस्था गरिएको छ । साथै प्रदेशभर ३७ वटा भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

तपाईको प्रतिक्रिया