सम्पादकीय : नाममा के छ र ! ?

नाममा के छ ? चर्चित साहित्यकार शेक्सपियरको भनाईलाई आधार मान्ने हो भने नाममा केहिपनि छैन । गुलाफलाई जुन नामले पुकारे पनि सुगन्धित वासना दिने विशेषता उसले छाड्ने हैन् त्यसैगरी ढुंगालाई पूmल नाम दिएर अर्कालाई हिर्काउँदैमा ढुंगाले चोट नदिने पनि होइन । खैर ! यी त भए साहित्यका कुरा । तर वास्तविकतामा भने जे छ नाममै छ । नाममा पहिचान मात्र हैन मान्छेको स्वाभिमान, आत्मसम्मान, प्रतिष्ठा र गौरव जोडिएको छ ।

त्यसैले मान्छेले कर्म जस्तोसुकै गरेपनि नाम सुकर्मीअनुसारको राखिन्छ । हिन्दूधार्मिक परम्परालाई नै मान्ने हो भनेपनि न्वारन गर्दा ‘क’बाट नाम आउँदा किन ‘कृष्ण’ नै राखिन्छ ? कंश किन राखिंदैन ? ‘र’ बाट शुरु हुनेको नाम ‘राम’ नै किन हुन्छ ? रावण किन हुँदैन ? धृष्तराष्ट्रपछि कुन चैं बाबुआमाले छोराको नाम दुर्योधन राखेर गर्व गरेका छन् र ? किन त ? किनकी यी हामीलाई पढाइए, सुनाइए र बुझाइए अनुसार नामले सकारात्मक विम्ब बोकेको हुनुपर्छ, नामले गर्व र गौरव देखाउनुपर्छ, नामले प्रतिष्ठा र स्वाभिमान अनि आत्मसम्मान झल्काउनुपर्छ तब न नामको सार रहन्छ, अर्थ रहन्छ ।

आखिर नाममा के छ त ? भन्दै गर्दा गत हप्ता नेपालभर नामकै तरंग उठ्यो । चियापसलदेखि संसदसम्म नामकै विषयमा चर्चा चल्यो र नामकै कारण देखाउँदै गृहमन्त्रालयले मातहतका अड्डाहरुलाई परिपत्र गर्नुपर्यो । कारण के त भन्दाखेरी, पञ्चायतकाल र सो लगत्तै वितरण गरिएका कतिपय व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख गरिएको त्यहि नाम ।

नागरिकता जस्तो सम्वेदनशील प्रमाणपत्रमा पौराणिककालका खलपात्रका प्रतिनिधित्व गर्ने कंश, रावण, दुर्योधन, हिडिम्बा, सुपर्णखा आदि इत्यादि यस्तैखालका नाम लेखेर जारी गरिदिएको भएपनि तै कसैका बाउआमाले नामाकरण गरेकै होलान् भनेर सोच्न मिल्थ्यो, कुनै सरकारी कर्मचारीले जारी गरिदिएको भए ठट्टै गरेको भनेर सोच्नमिल्थ्यो । तर मान्छेका नाममा कुत्ता, कुकुर, प्mयाउरे, प्mयाउरी आदि जस्ता नाम लेखेर जारी गरिएको नागरिकता कुनै त्रुटी र ठट्टाका प्रमाण हैन तत्कालीन अवस्थाका शासक प्रशासकहरुका हेपाहा प्रवृत्ति र मानसिकताको घिनलाग्दो प्रमाण हो ।

नागरिकताको प्रमाणपत्र कुनै मान्छेको नाम, वतन र तीनपुस्ते लेखिएको सरकारी चिर्कटो मात्र हैन् । यो त नेपाली हुनुको गौरव गर्ने दसी हो । नेपाली नागरिक भएर भोगचलन गर्न पाउने संवैधानिक अधिकारहरुको सुनिश्चितता गर्ने आधिकारिक प्रमाण हो । यस्तो सम्वेदनशील सरकारी प्रमाणमा कुनै अशिक्षित व्यक्तिले अञ्जानवश त्यस्ता गल्तित्रुटीसहितका विवरण भरेर आउँछ भने त्यसलाई सम्झाई बुझाई सच्याई दिनुपर्ने ठाउँमा तत्कालीन प्रशासकहरुले आप्mनो रवाफ देखाउने मनाशयले दुःखी गरिबलाई हाँसोको पात्र बनाउने र मान्छेको मनोवल गिराउने उद्देश्यले नागरिकताजस्तो सम्वेदनशील प्रमाणपत्रमा अनावश्यक छेड्खानी गरेको हो भन्न कुनै अप्ठेरो छैन् ।

नाममा के छ र ? भन्नेहरुले ती व्यक्तिहरुसंग गएर सोधे हुन्छ जस्ले ३५ वर्षसम्म कुकुर कामीको श्रीमति र छोराछोरी भएर समाजमा अपहेलित हुनुपर्यो, जसले सरकारी पहिचान पत्रमा कुकुर भन्ने मान्छे म हुँ भन्दै आप्mनो सनाखत आफै गर्नुपर्यो । नामकै कारण कम्तामा मानसिक तनाव, यातना र विभेद भोग्न परेन होला उनीहरुले । आमसञ्चारमाध्यमहरुमा यस विषयमा समाचार प्रकाशन भएपछि ढिलैभएपनि गृह मन्त्रालयले त्यस्ता अगतिला नागरिकताका प्रमाणपत्र सच्याउने अवसर दिएको छ, दिनैपनि पथ्र्यो ।

उप्रान्त मान्छेको पहिचान मात्र हैन स्वाभिमान र आत्मसम्मानको परिचायक बन्ने सरकारी प्रमाणपत्रमा यस्ता गम्भीर त्रुटी हुन नदिन गृह प्रशासनले आप्mना संयन्त्रलाई चनाखो बनाउन जरुरी हुन्छ ताकि अरु कुनै कविरामहरुले अरु ३५ वर्ष कुकुर भएर नभई नेपाली नागरिक भएर शिर ठाडो बनाएर आप्mनो जिन्दगी जिउन पाऊन् ।

तपाईको प्रतिक्रिया