राउटे समुदायकाे माैलिक सीप हराउँदै

दैलेख, २६ साउन ।
कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउने राउटे लोपोन्मुख आदीबासीमा पर्छन् । राउटे समुदाय एकै ठाउँमा बस्दैनन् । उनीहरू जंगल, पहाडको खोंच तथा नदी किनारमा बसाइ सरिरहन्छन् । आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाएको राउटे समुदायमा विभेद छैन । राउटेमा कल्याल, रास्कोटी र सोमबंशी गरी तीन जाति छन् ।

काठका भाडाकुँडा र सामग्री बनाउनु राउटेको मुख्य सीप हो । जंगलमा काठका भाँडा बनाएर खाद्यान्नसँग साँटेर राउटेले आफ्नौ दैनिक जीवन गुर्जादै आएका छन् । हाल दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघर चौरमा बसोबास गरिरहेका उनीहरूको काठका भाँडाकुडा बनाउने सीप र पेशा भने संकटमा पर्न थालेको छ । पहिले राष्ट्रिय वनमा निस्फिक्री राउटेले कु–काठ काट्न पाउँथे। काठका भाँडाकुडा बनाउँथे । तर, पछिल्लो समय राष्ट्रिय वन समुदायमा हस्तान्तरण भएपछि राउटेले काठ काट्न पाउँदैनन् ।

त्यसैले राउटेको पेशा नै संकटमा पर्न थालेको हो। काठको अभाव, बिक्री नहुने समस्या र बजारमा प्रतिस्पर्धाका कारण राउटेले बनाउने काठका भाँडाकुडाले स्थान लिन नसक्दा राउटेको सीप नै संकटमा पर्न थालेको हो । अहिले राउटेको जीविकोपार्जनको मुख्य स्रोत सामाजिक सुरक्षा भत्ता र सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सहयोग मात्रै छ । राउटेका महामुखिया महिनबहादुर शाहीले पहिले जस्तो आफूहरूले काठका भाँडाकुडा बनाउन छाडेको बताए ।

राउटे युवा प्रकाश शाहीले आफूले सामान बनाएर गाउँमा गए पनि पहिलेजस्तै सामान बिक्री हुन छाडेको दुखेसो पोखे । ‘पहिले गाउँमा पुग्नेबित्तिकै हामीले बनाएका काठका भाँडाकुडा राखिहाल्थे, अन्न पनि भनेजति दिन्थे, अहिले त मान्छेलै लिनै छोडे’ उनले भने । एकसय ४४ जना जनसंख्या रहेको यो समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । अन्नपूर्ण पोष्टबाट साभार

तपाईको प्रतिक्रिया