सुर्खेतमा गठबन्धनको पल्ला भारी, एमालेलाई यामलालले तार्लान त पारी ?

शेरबहादुर थापा
सुर्खेत, २६ साउन ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा दुई ओटा निर्वाचन क्षेत्र रहेका छन् । १२ संघीय प्रतिनिधिसभा सिट रहेको कर्णाली प्रदेशमा दैलेख र सुर्खेतमा दुई दुई ओटा निर्वाचन क्षेत्र रहेका छन् । जनसंख्याको हिसाबले पनि यी दुइ जिल्ला कर्णालीमा ठूला मानिन्छन् । गएको स्थानीय तहको निर्वाचनमा सुर्खेतमा एमालेले चार पालिकामा कार्यपालिका बहुमतसहित जीत हात पार्दा २०७४ सालमा पहिलो पार्टी बनेको नेपाली काँग्रेस दोश्रो दल बन्न पुगेको छ ।

२०७४ सालमा शुन्य रहेको नेकपा माओवादीले चौकुने गाउँपालिकामा जीत हात पर्दा एमालेले चिङ्गाड, भेरीगंगा, सिम्ता, वीरेन्द्रनगरमा जीतेको छ भने लेकबेशी नगरपालिकामा एमालेले उपप्रमुखमा जीत हात पारेको छ । काँग्रेसले बराहताल, पञ्चपुरी, गुर्भाकोट नगरपालिका जितेको छ । यस्तै लेकबेशी नगरपालिकामा मेयर पदमा जित हात पारेको छ ।

यहाँ गएको स्थानीय तहको निर्वाचनमा मेयर वा अध्यक्षले पाएको कुल मतको आधारमा हेर्दा सुर्खेतमा गठबन्धन कायम रहेको खण्डमा एमालेलाई जीत निकाल्न फलामको च्यूरा चपाउनु सरह नै छ । निर्वाचन क्षेत्र नम्बर एकमा काँग्रेस एक्लैले ३७ हजार ७९६ मत पाएको छ भने यहाँ माओवादीका उम्मेदवारले १४३७ मत पाएका छन् ।

प्राप्त मतको आधारमा हिसाब गर्ने हो भने पनि यहाँ गठबन्धन नै अगाडी देखिएको छ । एमालेले यो निर्वाचन क्षेत्रमा ३६ हजार ३४३ मत पाएको छ । एमाले यहाँ गठबन्धनको भन्दा २८९० मत कम छ । यद्यपी यो मतमा वीरेन्द्रनगरको वडा नं. १५ र १६को मत जोडएको छैन ।

यो निर्वाचन क्षेत्र नेपाली काँग्रेसका प्रभावशाली नेता उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र हो । उनलाई यहाँ जसरी पनि जित्नै पर्ने बाध्यता छ भने एमालेका नेता ध्रुवकुमार शाही पनि कमजोर नभएका कारण उनले पनि चुनाव जिताउन कुनै कसर बाँकी नराख्ने देखिएको छ ।

निर्वाचन क्षेत्र नम्बर एकमा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका र चिङ्गाड गाउँपालिकाका साथै वीरेन्द्रनगरका वडा नं. १५ र १६ पर्दछन् । निर्वाचन क्षेत्र नम्बर दुइमा भने त्रिपक्षीय भीडन्त हुने देखिएको छ । यो क्षेत्रमा माओवादी पनि बलियो देखिएको छ भने राप्रपाले समेत दश हजार भन्दा बढि मत ल्याएको छ ।

यहाँ एमालेले २८ हजार १२५ मत पाएको छ भने काँग्रेसले २५ हजार ६६६ मत र नेकपा माओवादी केन्द्रले ११ हजार ७७ मत पाएको छ । यो निर्वाचन क्षेत्रको चौकुने गाउँपालिका बाहेक अन्यत्र स्थानीय तहको निर्वाचनमा गठबन्धन बन्न सकेको थिएन । गठबन्धनकै बलमा नेकपा माओवादीले चिङ्गाडमा जीत हात पारेको थियो ।

यद्यपी स्थानीय तहको निर्वाचनमा प्राप्त मत कै आधारमा जीत हारको आंकलन गर्न नसकिने पर्यटन व्यवसायी चिन्तामणि शर्मा बताउँछन् । ‘स्थानीय तहको निर्वाचन भन्दा फरक नतिजा आउने देखिन्छ । स्थानीय तहको निर्वाचनको मत परिणामलाई केहि आधार त मान्न सकिएला तर त्यसैको आधारमा हारजीत हुन्छ भनेर भन्न सकिदैन ।’

उनी भन्छन्, ‘पहिलेको तुलनामा एमालेले राम्रो नतिजा ल्याएका कारण सहि उम्मेदवार चयन गर्न सके यामलालको नेतृत्वको एमालेले चुनावी महासागरमा एमालेलाई पारी तार्न सकिने सम्भावना बढदै गइरहेको छ ।’

काँग्रेस विवाद कायमै
सुर्खेतमा गठबन्धन भएपनि संस्थापन खेमालाई संस्थापन इतर काँग्रेस खेमाप्रति भरोसा लागिसकेको छैन । काँग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नै दलका नेताका कारण चुनाव हारिएको भन्दै ६ सय भन्दा बढि संस्थापन इतरका कार्यकर्तालाई पत्र काटिसकेको छ ।

स्थानीय तहको निर्वाचनमा एक स्थानमा पनि आफ्नो विचार समूहबाट उम्मेदवारी नदिएको संस्थापन इतर समूहले संस्थापन समूहले एकलौटी पेलेको भनेर सार्वजनिक रुपमा नै गुनासो गर्दै आइरहेको छ ।

कसको भागमा के पर्ला ?
सुर्खेतमा यदि सत्तारुढ गठबन्धन कसिलो भएको खण्डमा नेकपा माओवादीले दुइ ओटा प्रदेश निर्वाचन क्षेत्रमा दाबी गर्नेछ भने एक प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा एसले दाबी गर्नेछ । माओवादीले निर्वाचन क्षेत्र नम्बर एकको ‘क’ र दुइको ‘ख’ मा दाबी गरेको छ । एकबाट कृष्ण जिसी जितेन्द्र तथा ख बाट हालका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट चुनाव लडने तयारीमा छन् ।

यस्तै समाजवादीले भने वीरेन्द्रनगर भ्याली पाउने सम्भावना छ । यहाँ समाजवादीका केन्द्रिय सदस्य शिव प्रसाद उपाध्यायलाई चुनाव लडाउने आन्तरिक तयारी थालेको छ । त्यस्तै निर्वाचन क्षेत्र न‌ २ काे ख पाएकाे खण्डमा समाजवादीका जिल्ला अध्यक्ष माेहन बडुवाललाइ लडाउने तयारी छ । वाँकी संघीय निर्वाचन क्षेत्रमा काँग्रेसकै उम्मेदवार हुने देखिएका छन् भने निर्वाचन क्षेत्र नम्बर एकको ‘ख’मा काँग्रेसका उम्मेदवारले टिकट पाउने देखिएको छ ।

यद्यपी सत्तारुढ गठबन्धनलाई माथि उल्लेख गरिए जसरी भागवण्डा मिलाउन भने सहज छैन । काँग्रेसका टोपबहादुर रावत, कमलराज रेग्मी, देवकुमार सुवेदी जस्ता प्रभावशाली नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा माओवादीलाई सिट छोडन सहजै मान्ने अवस्था छैन । यस्तै, काँग्रेसका जिल्ला सभापति खड्क पोखरेल समेत आफ्नो क्षेत्रमा आफैं चुनाव लडने तयारीमा रहेको काँग्रेस स्रोत बताउँछ । यता, संघमा भने काँग्रेसका नेताहरु पूर्णबहादुर खड्का र हृदयराम थानीको विकल्प हालसम्म नदेखिएको काँग्रेस वृत्तमा चर्चा छ ।

एमाले उत्साही
यता, नेकपा एमाले स्थानीय तहको निर्वाचनमा आएको मत परिणामबाट उत्साहित देखिएको छ । प्रदेश भरि नै चुनावको हार चाखेको एमालेले सुर्खेतमा यामलाल कंडेलको कुशल कमाण्डमा चुनाव जितेको निष्कर्ष समेत निकालेको छ ।

‘निर्वाचनमा देश गइसकेको छ । अदालतबाट परमादेशबाट चलेको सरकारले अर्थतन्त्र तहस नहस गराएकोे छ । देशमा बेथितिको चाङ छन् । जनताले ऋण पाइरहेका छैनन् । आफ्नो जग्गा धितो रखेर उपचार गर्न समेत जनताले पाउन सकेका छैनन् ।’ एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटाले भने, ‘दुइ चार जनाले मन्त्रीको झण्डा हल्लाएर सरकार चल्दैन । एक वर्षमा यो हालतमा देश पुग्यो भने अरु पाँच वर्ष यिनीहरुको हातमा देश बुझाउँदा कस्तो समस्या आउला भनेर नेपाली जनता चनाखो भइसकेका छन् ।’

उनले सत्तारुढ दलहरुले गठबन्धन गरेर, काँग्रेसकै चुनाव चिन्ह लिएर आएपनि एमालेलाई समस्या नभएको बताए । ‘हामी चुनावमा भिडन सक्छौं । पाँच दल भन्दा दशै दल आएपनि जनताको भरोसा र विश्वासको वातावरणले हामी चुनावमा अत्याधिक मतका साथ विजयी बन्छौं ।’ उनले भने, ‘सुर्खेत मात्रै होइन, देशले फेरि केपि ओलीलाई प्रधानमन्त्रीको रुपमा हेर्न खोजेको छ । आगामी चुनावपछि एमाले अध्यक्षकै प्रधानमन्त्रीत्वमा देश अघि बढछ ।’

तपाईको प्रतिक्रिया