नाम सञ्च्याउन प्रशासन पुगे कविराम

पुनम वि.सी.
सुर्खेत, २५ साउन ।
कुकुर कामी नामबाट नेपाली नागरिकताको प्रमाणपत्र बुझेका दैलेखका कविराम कामीका लागि मंगलबार विशेष दिन भयोे । तत्कालिन मेहेलतोली गाउँ पञ्चायत–६ स्थायी ठेगाना रहेका कविरामको नागरिकतामा लेखिएको ‘कुकुर कामी’ नाम फेर्नका लागि हातमा चाहिनेजति कागजपत्र र मुहारमा विजयी मुस्कानसहित उनी जिल्ला प्रशासन कार्यालय पुगेका हुन ।

२०४६ साल वैशाख ७ गते वंशजका आधारमा नागरिकता पाएका कविराम आप्mनो वास्तविक नाम लेखाउन ३३ वर्षपछि दैलेखको जिल्ला प्रशासन कार्यालयको परिसरमा टेक्न पुगेका छन् । २८ वर्षको उमेरमा पहिलो पटक नागरिकता लिंदा प्रधानपञ्चको सिफारिशका आधारमा नागरिकता टोलीले उनको नाम नै कुकुर कामी लेखेर नागरिकता हातमा थमाइदिएको थियो ।

सामान्य लेखपढ गर्न नजान्ने कविरामलाई त्यो बेलामा आप्mनो नागरिकतामा आपूmलाई कुकुर बनाइएको पढ्न जानेनन्, थाहा पाएनन् । केहि समयपछि गाउँका पढेलेखेका केहि व्यक्तिले नाममा कुकुर लेखेको बताएपछि उनले नागरिकताको टोलीलाई सच्याईदिन आग्रह समेत गरे । तर एकपटक जारी भइसकेको नागरिकताको नाम सच्याउन अनेकन कानूनी अड्चन र झण्झट रहेको कारण देखाउँदै उनको नागरिकता सच्याउन कसैले मानेन।

अपमानजनक नाम बोकेर कविरामले ३३ वर्ष बिताए । मंगलबार भने नाम सच्याउनका लागि उनले निवेदन पेश गरेका छन् । हाल उनको उमेर ६१ वर्ष भईसकेको छ । भगवतिमाई गाउँपालिका–३ स्थित वडाको सिफारिससहित कविराम र उनका सहयोगी मंगलबार प्रशासन पुग्दा दलित अधिकारकर्मीहरु अम्मर सुनार, हिक्मत नेपालीलगायतको टोलीपनि संगै थियो ।

फोटो क्याप्सनः नागरिकता सच्याउन दैलेखको जिल्ला प्रशासन पुगेका कविराम कामी । (तस्विर सौजन्यः हिक्मत नेपाली, दैलेख)

कविरामको जस्तै अपमानजनक शब्द प्रयोग गरी जारी भएका अन्य नागरिकतामा सम्वन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन गहृ मन्त्रालयले परिपत्र जारी गर्यो ।

नागरिकतामा अपमानजनक शब्द प्रयोग भएको विषयमा सञ्चार माध्ययममा सूचना तथा समाचार प्रकाशित भयपछि गृहमन्त्रालयले नाम सच्याउन चाहनेका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएको होे । सोहि अनुसार कविराम मंगलबार नाम सच्याउन निवेदन सहित जिल्ला प्रशासन पुगेका थिए ।

अपमानजनक नाम–थर भएकालाई सच्याउन प्रशासनको अनुरोध
कविराम मात्र नागरिकतामा अपमानजनक नाम भएका व्यक्ति होइनन् । दैलेख लगायतका अन्य जिल्लाहरुमा पनि अरु व्यक्तिको समेत नागरिकतामा यसैगरी अपमानजनक नाम लेखिएको छ । फ्याउरो कामी, कुकुर्नी खड्कालगायतका नाम रहेका नागरिकहरु जिल्लामा छन् ।

‘कविराम मात्र होयन दैलेखमा अन्य नागरिकको नागरिकतामा समेत अपमानजनक नाम उल्लेख रहेको भन्ने खवर पाएका छौँ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने, उहाँहरुलाई खोजी गरी नाम सच्याउन प्रक्रिया अघि बढाउने योजना छ। मंगलबार जिल्ला प्रशासनको कार्यालय पुगेका कविरामको नाम सच्याउन प्रक्रिया अअघि बढेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकार दिए ।

कविरामको मात्र नभई कविरामका नामबाट जारी भएका उनका छोराछोरीको नागरिकतामा उल्लेख भएको नाम पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यसका साथै जिल्लामा अरु कसैका नागरिकतामा अपमानजनक नाम÷थर समावेश भए, सच्याउनका लागि निवेदन दिन समेत प्रमुख जिल्ला अधिकारी प्याकुरेलले अनुरोध गरेका छन् ।

‘विगतका दिनहरुमा अपमानजनक शब्द प्रयोग गरी हिनताबोध हुनेगरी नागरिकता जारी भएको भए आवश्यक प्रक्रियासहित सच्याउनका लागि आउन अनुरोध गर्दछौँ ।’ उनले भने,..सम्बन्धित प्रमाणपत्रहरु र वडा कार्यालयको सिफारिस आवश्यक पर्छ ।

के के सच्याउन सकिन्छ ?
नागरिकले आफ्नो प्रमाणपत्रमा रहेका उमेर, ना वा जात सच्याउनका लागि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनुपर्ने हुन्छ । तर यसको पनि समयावधि छ । उमेर, नाम र जात सच्याउने नियमावली–२०१७ का अनुसार नागरिकले प्रमाणपत्र पाएको ६ महिनाभित्र उमेर, नाम वा जात सच्याउन आवेदन दिनुपर्ने हुन्छ । आवेदनका साथमा निवेदकको यथार्थ नाम, जात र उमेर खुल्ने कागजपत्रहरु पनि समावेश गर्नुपर्ने हुन्छ ।

खासगरी यो प्रक्रिया विद्यार्थीका शैक्षिक कागजपत्रहरुका लागि हो । नागरिकता बमोजिम नभएमा ती कागजपत्र सच्याउनका लागि निश्चित समय निर्धारण गरिएको छ । तर नागरिकताकै सवालमा भने नाम र थर सच्याउन मिल्दैन ।

नाम र थरका बीचमा आउने प्रसाद, बहादुर, कुमारलगायतका शब्दहरु सच्याउनका लागि भने केहि छुट छ । प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएर ती शब्दहरु सच्याउन सकिन्छ । तर व्यक्तिको नाम र थर नै सच्याउनका लागि नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय नै आवश्यक रहने जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछाने बताउँछन् ।

तपाईको प्रतिक्रिया