टोलटोलमा पुगेर तिरो संकलन र सिफारिस दिँदै

दिपेन्द्र शर्मा
जाजरकोट, २२ साउन ।
जाजरकोट नलगाड नगरपालिका वडा नं. ४ का वडाध्यक्षले नयाँ कामको थालनी गरेका छन् । वडाले जनताको घरदैलो र टोलटोलमै पुगेर मालपोत र सम्पत्ति कर संकलन गरिएको छ ।

जनतालाई दैलोमा सेवा दिने उदेश्यले टोलटोल र घरदैलोमै गएर सेवा दिन थालिएको अध्यक्ष बद्री पन्तले बताए । जनप्रतिनिधी जनताको सेवक हुन, उनले भने, “त्यसैले जनतालाई सुविधा हुने काम गर्नु जनप्रतिनिधिको दायित्व र कर्तव्य भएकोले दैलोमै पुगेर सेवा दिन थालिएको हो ।”

यही साउन ५ गतेदेखि घरदैलोमै गएर मालपोत तथा सम्पत्ति कर राजस्व संकलन गर्ने अभियान थालिएको हो । वडा नम्वर ४ मा रहेका पौने चार सय घरधुरी मध्ये पाँच दिनमा डेढ सय घरपरिवारलाई उक्त सेवा दिइएको वडा सचिव सुरेन्द्र रावलले बताए ।

अहिलेसम्म औल, खाल्चौर, वाउसेखोला, स्यालपाटालगायतमा टोलमा पुगेर तिरो उठाउने काम सकिएको छ । भातचिउरा, माझगाउँ, प्यारघारा, कोटीगाउँ, घुहार, पिपलचौर, लगायतका टोलहरुमा वाकी रहेका छन् ।

वडाध्यक्षले टोलटोल र घरदैलोमा पुगेर तिरो, सम्पतिकर संकलन गर्ने, नागरिकताको प्रमाण पत्रको सिफारिस गर्ने, जन्मदर्ता गर्ने जस्ता काम गर्न थालेपछि वडावासी निकै खुसी भएका छन् । घरदैलोमै सेवा पाएपछि आफ्नो समयको वचत हुनुको साथै दुख पनि नभएको गाउँलेहरु बताउँछन् । वडाध्यक्षले पन्तले वडाबासीको घरमै पुगेर उनीहरुको पीरपर्का बुझ्ने, समस्या परेकालाई तत्काल सहयोग गर्ने, राहातको लागि पहल गर्नेजस्ता काम गर्न थालेपछि पछिल्लो समय अन्य वडाहले पनि उनको कामको सिको गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया