दुःख र अभावले निखारिएका प्रेम

प्रेमबहादुर डीसी प्रमुख प्रशासकीय अधिकृत, डुंगेश्वर गाउँपालिका, दैलेख ।

जसले जीवनमा संघर्ष गर्छ, उ समाजको सफल व्यक्ति बन्छ, चुनौतिको सामना गर्दै आफ्नो पहिलो प्रथामिकता पढाईमा दिन्छ अनि अल्पकालिन आवश्यकताभन्दा दीर्घकालिन सोच राख्ने व्यक्ति नै समाजको सफल व्यक्ति बन्ने गरेको उदाहरणहरु छन् ।

यस्तै उदाहरण मध्येका एक हुन डुङ्गेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डीसी । निम्न आयस्तर भएको परिवारमा जन्मिएका डीसीले धेरै मेहेनतका साथ पढे । घरको आर्थिक समस्याका बावजुद पनि उनले आफ्नो पढाईलाई छोडेनन । जहिले पनि पढाईमा उत्कृष्ट भए । अनि प्रमुख प्रशासकीय अधिकृतसम्म बन्न सफल भए । आजको राष्ट्रसेवकमा उनै डीसीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

दुःखपूर्ण बाल्यकाल 
बुवा प्रविर डाँंगी र आमा धनकला डाँंगीको कोखबाट वि.स २०४७ साल कात्तिक ११ गते सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ मा प्रेम डीसीको जन्म भयो । उनी घरको जेठो छोरा हुन । प्रेमका चार भाइबहिनी रहेका छन । उनको बाल्यकाल दुःखःपूर्ण अवस्थामा गाउँमै बित्यो ।

कमजोर आयश्रोत भएको परिवारमा घरको उत्पादनले ६ महिनापनि खाना पुग्दैन्थ्यो । प्रेमको बुवा भारतमा गएर ज्याला मजदुरी गर्थे । जेनतेन त्यसरी नै घर चलाउँथे । तर प्रेम ४ वर्ष हुँदा भारतमा कमाउन गएका उनका बुवा केही वर्ष सम्पर्कविहीन भए ।

बुवा सम्पर्कविहीन भएर वर्षौसम्म घरमा नआएपछि उनको बाल्यकाल झनै दुःखःदायी बन्यो । उनको आमाले गिट्टी कुटेर घर खर्च टार्ने गर्थिन । आमाले धेरै दुःख गरेर प्रेम र प्रेमका भाईबहिनीहरुलाई लालन पालन गरेकी हुन ।

मामाको सहयोग
परिवारको आर्थिक अवस्था निकै नाजुक थियो । प्रेमको आमाले बिहानदेखि रातीसम्म गरेको दुःखले पनि घर खर्च टार्न समस्या थियो । यस्तो अवस्थामा उनले आफ्नो पढाई प्रारम्भ गर्नु थियो । उनको मामाले उनलाई पढाउने जिम्मेवारी लिए अनि उनले पढ्न शुरु गरे ।

प्रावि सोत्तरखोलीमा कक्षा पाँचसम्म पढेका प्रेमले ६ कक्षादेखि भने राष्ट्रिय माध्यमिक विद्यालय बडाखोलीमा पढे । त्यहि माविबाट उनले २०६२ सालमा एसएलसी पास गरे । सानो छँदा गीतसंगीतमा रुचि राख्ने उनले अतिरिक्त क्रियाकलापहरुमा भाग लिन्थे । सबैसँग मिलनसार स्वभावका थिए प्रेम ।

एसएलसी पास हुँदा उनी १८ वर्षको थिए । उनले एसएलसी पास गरेलगत्तै बिवाह पनि गरे । बिवाह पनि गरेकाले उनको जिम्मेवारी त थपिएको थियो नै । घरको जेठो छोरा भएकाले भाइबहिनीलाई पढाउने जिम्मेवारी पनि उनकै काँधमा थियो ।

कक्षामा सधंै उत्कृष्ट
यति धेरै चुनौतिका बावजुदपनि उनी कक्षामा सधै उत्कृष्ट हुन्थे । कक्षामा प्रथम भइरहने उनले एसएलसीमा समेत पहिलो श्रेणी अंक ल्याएका थिए । प्रेमका गुरुहरुले राम्रो विषय लिएर पढ्न सुझाव दिन्थे ।

गिट्टी कुटेर समेत छोराछोरीको पढाईलाई निरन्तरता बनाएकी प्रेमकी आमा समेत खुशी थिइन । जसले गर्दा प्रेमलाई अझै मेहेनत गर्न हौसला मिल्थ्यो । उनको पढाईमा र हरेक काममा लगाव देखेर गाउँका मानिसहरुले समेत विश्वास र माया गर्थे ।


शिक्षक बन्ने लक्ष्य
प्रेमले आपूm शिक्षक बन्ने लक्ष्य लिएका थिए । त्यहि अनुसार शुरुमा त अंग्रेजी विषय लिएर पढ्ने सोच बनाएका थिए । तर उनको विद्यालयका प्रधानाध्यापकको विज्ञान विषय लिएर पढ्नुपर्छ भनेर सुझाव दिए । आफ् नो गुरुको सुझाव अनुसार उनले आइएस्सी पढ्न भन्दै वीरेन्द्रनगर आए ।

वीरेन्द्रनगरको जनमाविमा प्रवेश परीक्षा दिए।परीक्षामा उत्कृष्ट अंक ल्याएपछि ५० प्रतिशत छात्रवृत्तिमा उनले पढ्ने अवसर पाउने भए । आर्थिक अभाव भएपनि उनले आइएस्सी पहिलो वर्ष जेनतेन गरेर पढे । रिजल्ट राम्रो आयो ।

पढ्दै पढाउँदै
उनी मात्रै होइन, उनका भाईबहिनीहरुलाई पनि पढाउनुपर्ने जिम्मेवारी उनको काँधमा थियो । घरबाट पैसा लिएर पढ्ने सम्भावना थिएन । किनकी घरमा कमाई गरिदिने मानिस कोही थिएन । त्यसपछि उनले आइएस्सीको दोश्रो वर्ष पढ्दै गर्दा निजी विद्यालयमा पढाउने मौका पाए ।

वीरेन्द्रनगरको एड्भान्स बोर्डिंग स्कूलमा पढाउन थाले । त्यो बोर्डिंगका शिक्षक कमलकुमार सिंहले जुराई दिएको पढाउने मौकाप्रति अहिलेपनि आभारी छन उनी, त्यो गुन बिर्सिएका छैनन । पढ्दै पढाउँदै गरेका उनले २०६६ सालमा आइएस्सी गर्न सफल भए । आइएस्सीपछि उनी निजी श्रोतमा पढाउने गरी गाउँमा गए ।

गाउँकै सरकारी विद्यालयमा डेढ वर्षसम्म पढाए । किनकी उनले घर खर्च र भाइबहिनी पनि पढाउनु थियो । त्यसपछि भने उनले पढाउन छोडेर उनी बीएससी पढ्न नेपालगञ्ज बाँके गए । महेन्द्र बहुमुखी क्याम्पसमा नाम लेखाएका उनले त्यहाँ पनि नजिी विद्यालयमा पढाउँदै पढे, भाइबहिनी पनि पढाए । अनि २०६९ सालमा बीएससी पास गरे ।

लोकसेवाको तयारी
उनको लक्ष्य भनेको शिक्षक बन्ने थियो । उनका केही साथीहरुले एकपटक लोकसेवामा परीक्षा पनि दिउँ न त भनेपछि उनले केही समय मात्र लोक सेवाको तयारी गरे । दिउँसो पढाउने र साँझ बिहान लोकसेवाको तयारी गरे । त्यतिबेला लोकसेवा आयोगले खरिदार पदमा विज्ञान गणितपनि राख्यो । त्यसले उनलाई अझै सहज भयो ।

अनि उनले खरिदार पदमा परीक्षा दिए । पहिलो पटकमा नै नाम निकाल्न सफल भए । उनले २०६९ सालमा खरिदार पदमा नाम निकालेर जिल्ला हुलाक कार्यालय बाँकेमा पोष्टिङ भए । उनले त्यहाँ ६ वर्ष काम गरे । अनि साँझ बिहान ट्युसन पनि पढाउँथे । किनकी उनको काँधमा घरको सबै आर्थिक जिम्मेवारी थियो ।

त्यसपछि नायव सुब्बामा बुटवलबाट नाम निकाले । अनि उच्च अदालत बाँकेमा पोष्टिङ भए । २ वर्षपछि २०७८ सालमा उनले शाखा अधिकृतमा नाम निकालेर अहिले डुङ्गेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका छन् ।

जीवनमा संघर्ष
प्रेमले सानैदेखि जीवनमा धेरै संघर्ष र अभाव झेल्नुपर्यो । उनको घरको आर्थिक अवस्था कमाजोर भएका कारण उनी अभावमा बाँच्नुपर्यो । शिक्षाको प्रारम्भदेखि नै उनले आर्थिक अभावको सामाना गर्नुपर्यो । अर्कोतर्फ घरको जेठो छोरा भएकाले सबै जिम्मेवारी उनको काँधमा थियो ।

आमाले गिट्टी कुटेर जुटाएको आर्थिक श्रोतले घर खर्च आफ्नो अनि भाइबहिनीको पढाई गर्न गाह्रो थियो । यस्तो अवस्थामा पनि पढाईमा ध्यान दिइरहे प्रेमले । तथापि कक्षामा सधै प्रथम भइरहे । अनि प्रविणता प्रमाणपत्र तह पढ्दादेखि नै उनले आफ्नो पढाई पूरा गर्नुपर्नेसहित भाइबहिनीको पढाई पूरा गराउनुपर्ने गरी आर्थिक जोहो गर्नुपर्यो । यहि संघर्षले उनलाई सफलताको बाटोमा लियो ।

उनी अहिले एउटा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतसम्म पुग्न सकेका छन । चुनौतिलाई सामना गरेर आफ्नो लक्ष्य पछ्याउने मानिस कहिले असफल हुँदैन, उनी भन्छन । प्रेमले निजामति क्षेत्रमा रहेका विकृतीहरुलाई हटाउँदै उपसचिव र सहसचिवसम्म नाम निकाल्ने योजना बनाएका छन ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार