पदम रोकाया : शब्दमार्फत कर्णाली चिनाउने स्रष्टा

रेवतीरमण न्यौपाने, सुर्खेत

राज्यले कर्णालीप्रति हेर्ने नजर अझै परिवर्तन हुन सकेको छैन । धेरैलाई कर्णाली भन्ने बित्तिकै रोग,भोग र गरिबीको प्रायको रुपमा बुझ्ने गर्छन् । तर,कर्णालीमा भएका सम्भावनाहरुको प्रचारप्रसारका लागि नजर पुग्न सकेको छैन । अथाह सम्भावना बोकेको कर्णाली कला,संस्कृतिमा समेत उत्तिकै धनी छ ।

आफ्नै भाषा परिवेशमा गाईने यस क्षेत्रका गीतसंगीतहरु पछिल्लो समय लोकप्रिय बन्दै गएका छन् ।कर्णालीका गीतसंगीतलाई यहाँसम्म पु¥याउन यसै क्षेत्रमा जन्मिएका सयौँ कलाकारहरुको देन छ । तर,उनीहरुको भूमिकाको सरकारले अहिलेसम्म कदर गर्न सकेको छैन । कर्णालीमा जन्मिएर गीतसंगीत क्षेत्रमा अघि बढ्न निकै कठिनाइ छ ।

कर्णालीका दश जिल्लामध्ये एक हो,जुम्ला । वर्षौंदेखि कर्णालीका अन्य जिल्लाका तुलनामा जुम्लाको काठमाडौंमा धेरै चर्चा हुँदै आएको छ । जुम्लामा जन्मिएर नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धनमा लागेका गायक तथा संगीकार हुन्– पदम रोकाया ।

लामो संघर्षपछि राष्ट्रिय कलाकारका रूपमा स्थापित भइसकेका रोकाया कर्णाली विकासमा मात्र नभई कर्णालीका कला, संस्कृति र स्रष्टाहरूसमेत ओझेलमा रहेको बताउँछन् । झण्डै डेढ दशक लामो सांगीतिक जीवनमा डेढ सयभन्दा बढी गीतमा स्वर र करिब सात सयभन्दा बढी गीतमा शब्द÷संगीत दिएका रोकाया कर्णालीका संगीतकर्मीलाई स्थापित हुन अहिलेपनि बाधा छ ।

रोकाया आफू पनि आफ्नै शब्द/संगीत र स्वरको गीत ‘जुम्ला कालिकोट’ बजारमा ल्याएपछि चर्चामा आएका स्रष्टा हुन् । त्यसबाहेक ‘माया गर्ने जीवन साथी,’ ‘तिमीदेखि टाढा’, ‘जिन्दगीमा तिमी थियौ’, भन्ने गीतले उनलाई थप चिनाए । यस्तै ‘तिम्ले घृणा गरे पनि’, ‘मेरी मायालु’, ‘बस मैना घरमा’, ‘कर्णालीको दुर्दशा’, ‘निष्ठुरी र परि’ लगायत गीत उनका चर्चित गीतहरु हु् । यी गीत श्रोतामाझ लोकप्रिय समेत छन् ।

उनले आफूमात्र नभई नेपाली गीतसंगीतको विकास, विस्तार र प्रवद्र्धनका लागि नवप्रतिभालाई पनि प्रोत्साहित गर्दै आएका छन् । सोहीक्रममा उनी कर्णाली कलाकार समाजको अध्यक्ष हुँदै यहाँसम्म आइपुगेका हुन् । रोकायाले कर्णालीको कला संस्कृतिको प्रवद्र्धनमार्फत् पर्यटन प्रवद्र्धनमा पनि जोड दिँदै आएका छन् । उनका गीतसंगीतमा कुनै न कुनै हिसाबमा कर्णाली जोडिएकै हुन्छ ।

उनले नेतृत्व गरेको कर्णाली कलाकार समाजको अगुवाइमा सिञ्जा महोत्सव २०६९, कालिकोट महोत्सव २०७१, कर्णाली सांस्कृतिक उत्सव २०७१, दोस्रो कालिकोट महोत्सव २०७३, कर्णाली सांस्कृतिक कार्यक्रम २०७४ र प्रथम सिञ्जा पर्यटन महोत्सव २०७६ भएका थिए ।

राष्ट्रिय पुरस्कार २०७५ द्वारा समेत सम्मानित रोकाया म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल म्युजिक अवार्ड २०१८, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५, बक्स म्युजिक भिडियो अवार्ड २०१८, कर्णाली सांस्कृतिक सम्मान २०७६, कनकासुन्दरी गाउँपालिका २०७६, रारा साहित्य प्रतिष्ठान स्रष्टा सम्मान २०७६ लगायतबाट पनि सम्मानित भइसकेका छन् । २०६९ सालमा उनको सम्मानमा पदम रोकाया एकल साँझसमेत आयोजना भएको थियो । उनले विगत लामो समयदेखि काठमाडौंका विभिन्न विद्यालय र संगीत प्रतिष्ठानमा पनि गीतसंगीत सिकाउँदै आएका छन् । उनी संगीतका गुरु समेत हुन् ।

रोकायाका अनुसार पछिल्लो समय गीत रेकर्डिङ निकै खर्चिलो बन्दै गएकाले नवप्रतिभाका लागि चुनौती बनेको छ । अडियोको जमाना परिवर्तन भएर अडियो–भिडियोले प्रवेश पाएसँगै रेकर्डिङ खर्चिलो बन्न पुगेको हो । विगतमा सामान्यतया ६० देखि ७० हजार रुपैयाँमा एउटा गीतको अडियो तयार हुने गरेकोमा अहिले भिडियोसमेत गर्नुपर्ने भएको डेढ लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्ने उनले बताए ।

त्यतिमात्रै नभई पछिल्लो समय नेपाली मौलिक गीतसंगीतमाथि पश्चिमी शैलीका संगीतको हाबी हुन थालेकाले गीतको मर्म र भावना मर्दै गएको प्रति उनले दुःख व्यक्त गरे । उनी भन्छन्,–‘एउटा गीतका लागि मिल्दो स्वर, शब्द, लय र संगीत हुनुपर्छ तर अब गीतका लागि केही नचाहिने अवस्था आएको छ, जसले पनि गाउने, जस्तो पनि गीत हुने, स्वर, शब्द, संगीत, लयको कुनै मापदण्ड छैन ।

तपाईको प्रतिक्रिया