साथीमार्फत भेट, अनि बस्यो प्रेम

टेकराज केसी

सुर्खेत २० साउन ।

धेरै व्यक्तिहरुका सम्बन्धहरु साथीको माध्यमबाट हुने गर्दछन । साथीको निम्तामा एउटा काममा गएको बेला त्यो जीवनभर सम्झन लायक क्षण बनिदिन्छ । जसलाई पहिलो भेटमा देखेर मन पराइन्छ, त्यही मानिससँग जीवनसाथी बन्न पुगिन्छ । यस्तै भयो सुर्खेतका सुकदेव अधिकारी र कालिकोटकी शर्मिला उपाध्यायको जीवनमा पनि । साथीको निम्तोमा कार्यक्रममा गए सुकदेव । त्यहि कार्यक्रममा शर्मिलासँग भेट भयो । साथी बने, आमाले प्रस्ताव गरिदिनुभयो, अनि माया बस्दै गयो । त्यसपछि विवाह भयो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको सारांश ः

साथीमार्फत चिनजान

सुकदेव अधिकारी कलाकार हुन । २०७४ साल माघ महिनामा सुकदेव एउटा सांस्कृतिक कार्यक्रमको लागि कालिकाकोटको रास्कोट पुगेका थिए । कार्यक्रममा गएको बेला उनले शर्मिला उपाध्यायलाई देखे । त्यतिबेला उनी जिल्ला अस्पताल कालिकोटमा कार्यरत थिइन । उनीपनि त्यहि साँस्कृतिक कार्यक्रम हेर्न पुगेकी थिइन ।

कार्यक्रम आयोजना गरेर सुकदेवलाई बोलाएका तिलकप्रसाद उपाध्याय शर्मिलाको भिनाजु पर्ने रहेछन । उनकै भिनाजुको माध्यमबाट सुकदेव र शर्मिलाबीच चिनजान भयो । तिलकको साली पर्ने भएकाले सुकदेवले पनि साली भन्छु भनेर परिचयमा नै भनेका थिए । अनि उनीहरुको परिचय त्यतिबेला नै भएको थियो ।

पहिला त शर्मिलाले सुकदेवलाई सर भनेर भन्थिन । शुरुको परिचय हुनुको दिनमा शर्मिलाले नै सुकदेवको गायन
प्रस्तुति राम्रो लाग्यो भन्दै बोलाएकी थिइन । पहिलो भेटमा कुराकानी हुँदा सामान्य अरु दर्शक स्रोतालाई भेटेजस्तै र थप एकजना प्रशसंक भेटेको जस्तो स्वभाविक अनुभूति भएको थियो ।

फेसबुकले बढायो निकटता

पहिलो भेटपछि सुकदेवले सामाजिक सञ्जाल फेसबुकमा शर्मिलालाई फ्रेण्ड रिक्वेस्ट पठाए । अनि शर्मिलाले पनि
स्वीकार गरेपछि उनीहरु सामाजिक सञ्जालमा जोडिन पुगे । उनीहरुबीचमा कहिलेकाही हेलो हाइ मात्र हुन्थ्यो । शर्मिला आफ्नो पेसामा व्यस्त भएको हुँदा धेरै कुराकानी गर्न पाउँथिनन । साथीको रुपमा व्यवहार गरिरहेका उनीहरु बीचमा कहिलेकाँही सुर्खेतमा पनि भेटघाट हुन्थ्यो ।

त्यसपछि सुकदेवले आफ्नो आमासँग भेटपनि गराएका थिए । त्यसपछि उनीहरु झनै नजिकिदै गए । उनीहरुबीचमा कुराकानी बढ्दै गयो । उनको आमाले पनि शर्मिलालाई मन पराइन । सुकदेवले पनि शुरुमा नै उनलाई मन पराएका थिए । तर भन्न सकेका थिएनन । उता शर्मिलाले पनि सुकदेवलाई पनि मन पराएकै थिइन । तर उनले पनि भन्न सकेकी थिइनन् ।

आमाले राख्दिएको प्रेम प्रस्ताव

शर्मिलासँगको भेटपछि सुकदेवको आमाले शर्मिलाई आपूmलाई मन पराएको बताएपछि सुकदेवले पनि मनभित्र पोको पारेर राखेको शर्मिलाप्रतिको मायाको पोखो खुलाए आमाका अगाडि । सुकदेवकै आग्रहमा उनकी आमाले विवाहको प्रस्ताव राखिन ।

शर्मिलाले पनि सुकदेवलाई शुरुदेखि नै मन पराएको हुँदा उनले उक्त प्रस्तावलाई सहजै स्वीकार गरिन । साथीको रुपमा रहेका दुबैजना प्रेमी प्रेमीकाको रुपमा व्यवहार गर्न थाले । अनि एकअर्काबीचको कुराकानी फोनमा म्यासेन्जरमा भइरहन्थ्यो ।

भागी विवाह

उनीहरुको प्रेम लामो समय भएन । दुबैजनाले एकअर्कालाई चाँडै बुझ्ने अवसर पाए । उनीहरुबीचमा मात्रै तीन महिना मात्रै प्रेम सम्बन्ध भयो । धेरै माया लाग्न थालेपछि उनीहरु एक हुने निर्णयमा पुगे । अनि प्रेम सम्बन्ध भएको तीन महिनापछि उनीहरुले विवाह गर्ने निर्णय गरे ।

उनीहरुको प्रेमको विषयमा दुबैको घरपरिवारमा पनि थाहा थियो । तरपनि उनीहरुले २०७४ साल चैत महिनाको २१ गते भागी विवाह गरे । विवाह गरेर घरमा आउँदा शर्मिलालाई केही फरक महशुस भइरहेको थियो । बिरानो गाउँ, बिरानो ठाउँ उनलाई घरपरिवारसँग घुलमिल हुन समय लाग्थ्यो । तर सुकदेव र उनको परिवारको मायाँले उनी विस्तारै घुलमिल हुँदै गइन ।

हनिमुन जाने फुर्सद भएन

विवाहपछि उनीहरु आ आफ्नो काममा व्यस्त थिए । सुकदेव आफ्नो कर्मथलो काठमाडौं गए । शर्मिला पनि आफ्नो काममा नै व्यस्त भएको हुँदा उनीहरु हनिमुन मनाउन भनेर कतै पनि गएनन् । उनीहरुको ४ महिनामा एकपटक मात्र भेट हुन्थ्यो । हनिमुन जाने चलन भएपनि उनीहरुको व्यस्तताका कारण जान सकेनन् ।

संघर्ष

सुकदेव उमेरको हिसाबले परिपक्व थिए । शिक्षा पनि राम्रै थियो । तरपनि आर्थिक रुपमा भने परिपक्व भइसकेका
थिएनन । कलाकारिता क्षेत्रमा रहेका उनले पढाईलाई पनि सँगसँगै लिनुपर्ने थियो । शर्मिला पनि स्वास्थ्य क्षेत्रमा कार्यरत थिइन । आफ्नो पढाई पनि पूरा भएको थिएन । विवाहपछि उनीहरुले यी सबै जिम्मेवारी पूरा गर्नुपर्ने दौडमा थिए ।

एकातिर आफ्नो पढाई, अर्कोतिर घरको जिम्मेवारी, थियो भने आफ्नो पेशालाई पनि निरन्तरता दिनुपर्ने अवस्था थियो । सबै कुरालाई म्यानेज गर्न उनीहरुले धेरै मेहेनत गर्नुपर्यो । टाढा टाढा भएर बस्नुपर्ने अवस्था थियो उनीहरुमा । शर्मिलाको जागिरी जिल्ला अस्पताल कालिकोटमा थियो । बाध्यताले गर्दा उनको जागिरपनि छुट्यो । अनि दुबैजना काठमाडौं गए ।

उनीहरुले जागिरी खोजे कतै पाउन सकेनन । तर संघर्षलाई भने जारी राखे । अनि सुकदेवले पनि काठमाण्डौंका दोहोरी साँझतिर गाउन थाले । शर्मिला पनि आफ्ना लागि नयाँ जागिर खोजिन । अहिले दुबैजना खुशी छन । संघर्षबाट नै सफलतामा पुग्न सकिने उनीहरु अनुभव छ । त्यसको लागि विश्वास र माया पनि उत्तिकै आवश्यक छ ।

बाल्यकाल

बुवा यामनारायण अधिकारी र आमा जीतकुमारी अधिकारीको कोखबाट वि.स २०४६ साल जेठ महिनाको २१ गते सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्बर २ लेखगाउँमा सुकदेव अधिकारीको जन्म भयो । उनी घरको कान्छो छोरा हुन । अधिकारीका पाँच भाईबहिनी रहेका छन । उनको बाल्यकाल गाउँमै बित्यो । उनले सानो कक्षापनि गाउँमै पढे ।

उच्च शिक्षा भने मध्यपश्चिम विश्वविद्यालयबाट गरेका छन । उनको स्वभाव जिज्ञासु थियो । सानैदेखि अतिरिक्त क्रियाकलापमा रुचि राख्थे सुकदेव । यता, बुवा हरिप्रसाद उपाध्याय र आमा भद्रा उपाध्यायको कोखबाट विस
२०५३ साल जेठ १० गते कालिकोटको रास्कोट वडा नम्बर ४ सिमखानामा शर्मिला उपाध्यायको जन्म भयो । उनी घरको दोश्रो सन्तान हुन ।

उनका पाँच दिदीबहिनी र एक भाइ रहेका छन । उनको बाल्यकाल पनि गाउँमै बितेको हो । सानो कक्षा पनि गाउँमै पढेकी उनले उच्च शिक्षा हासिल गर्दै छिन । जिद्दी स्वभावकी उनी चाहेको कुरा जसरी नी पूरा गर्नुपर्ने सोच राख्छिन । तर सहयोग गर्नमा भने उनी अगाडि सर्छिन ।

प्रेम अनुभव

उनीहरुको अनुभवमा विवाहपछि माया धेरै लाग्दो रहेछ । अहिलेसम्म झगडाभन्दा धेरै माया बाँडेका छन उनीहरुले । उनीहरुको बीचारमा दुबैको कुरा बुझ्ने सुख दुःखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बीचमा विश्वासको वातावरण हुनुपर्छ । यो जोडी फुर्सदको समयमा विभिन्न ठाउँहरुमा पनि घुम्न जाने, रमाईलो गर्ने गर्दछन ।

भन्छन शंकाले सम्बन्ध विगार्छ । अन्य जोडिहरुलाई पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोग काम गरे सफलता हासिल हुने सुझाव दिन्छन । यो जोडी जुनसुकै काम गर्दा पनि सल्लाहमा गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया