मेराे पाैरख मेराे गाैरव : काम भनेकै पूजा, पूजा भनेकै काम

सावित्रा उपाध्याय

सुर्खेत १८ साउन ।

सुर्खेतको वीरेन्द्रनगर १० स्थित देउती बज्यै मन्दिरमा भाकल गर्न, पूजापाठ गर्न पुग्ने भक्तालुहरुले रामकली थापाका पसलबाट किनेका पूजासामाग्री देवीका शरणमा चढाउँछन र आफ्ना इच्छा, मनोकामना पूरा हुने वर माग्दै प्रार्थना गर्छन् ।

यसरी वर माग्नेमध्ये कति जनाका मनोकामना देउती बज्यैले पूरा गरिन त ? यसको लेखाजोखा कसैसंग हुने कुरा त भएन तर यसरी मनोकामना र प्रार्थना लिएर मन्दिर दर्शन गर्न पुग्ने भक्तालुहरुले पूजा सामाग्री खरिद गर्दा खर्चिएका पैसाले रामकलीका आधारभूत आवश्यक्ताहरु भने पूरा हुँदै आएका छन ।

वीरेन्द्रनगर नगरपालिका ११ धुलाबिटबाट हरेक दिन बिहान मन्दिरको पहिलो घण्टी बज्नुअघि नै मन्दिर पुग्ने रामकली पहिलो काम देउती बज्यैभित्र छिेरेर पहिला आफु पूजा गर्छिन अनि त्यसपछि बल्ल पसल सजाउनतिर लाग्छिन । काम र पूजा उनका लागि दुबै बराबरी नै छन् । भन्छिन, काम भनेकै पूजा हो, पूजा भनेकै काम हो ।

मन्दिरमा चढाइने फुल, धूपबत्ति र प्रसादहरु, देवीदेवताका पोष्टर, हात, घाँटी र टाउकामा लगाउनका लागि भगवानका धजा आदि इत्यादि सामाग्रीहरु रामकलीको खाटमा सजिने पसलका नियमित आइटमहरु हुन ।

मन्दिर परिसर बाहिर खाटमा पूजासामाग्री फिजारेर पसल सजाइसकेपछि मन्दिरतिर आउने दर्शनार्थीहरुको भीडमा नजर डुलाउन थाल्छिन उनी, अनि प्रतिक्षा गर्छिन आफ्नो पसलतिर तेर्सिने आँखा र सोझिने पाइलाहरुको ।

बि.सं. २०२० सालमा जन्मिएकी रामकलाकै बिहे कति वर्षको उमेरमा भयो भन्ने उनी आफैलाई हेक्का नै छैन, किनकी उनी त्यो बेला बच्चै थिइन । तर ३ छोराछोरी भएपछि, घरपरिवारको आडभरोसाका रुपमा रहेका श्रीमान गुमाएपछि भने घरको छानोधुरी अड्याउने खाँबो भनेकै रामकला भइन् ।

यो काम उनको नियमित दैनिकी बनेको अहिले ८ वर्ष पुगिसक्यो । यो अवधिमा उनले धेरै सिक्ने, देख्ने र बुभःने मौका पाइन् । सामान्य अक्षरसमेत नचिनेकी रामकलाले पैसा लिंदा र फिर्ता दिंदै गर्दामा औला भाँच्दा भाँच्दै जोड घटाउ राम्रैसंग जानीसकिन् कि पढेर जानिन्छ कि परेर भन्थे ।’ उनले भनिन्,  हो रै छ ।’

आफैपनि खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा एक्लिन परेपनि उनले आफ्ना छोराहरुका रहर इच्छा मर्न नदिन अनेकौं संघर्ष गर्नुपर्यो । आमा हुन कति गार्हो छ भन्ने कुरा बुभ्mन चाहने हो भने रामकलालाई हेरे हुन्छ, पुग्छ । किनकी श्रीमान गुमाएर एक्लीदुक्ली भएकी रामकलाले छोराहरुलाई हुर्काइबढाई गर्न आफ्ना बलबुताले भ्याएसम्म कुनै कसर बाँकी राखिनन् ।

उकालोकाटेपछि ओरालो, र रात काटेपछि दिन हुन्छ भन्ने आशमा रहेकी रामकलालाई दुःखका दिन काटेपछि सुखका दिन कसो नआउलान् र भन्ने विश्वासले हिम्मत हार्न कहिल्यै दिएन ।

तीन छोराकी धनी आमा उनी अहिले आफ्नी बूढी आमा समेतको जिम्मेवारी काँधमा लिएर त्यहि पिपिरामा कोठा भाडामा लिएर बस्दै आएकी छन् । उनका तीनै भाई छोराहरु बर्दियामा आ आफ्ना परिवारसहित बस्दै आएकोे उनले बताइन ।

आफ्नी बूढी आमालाई स्याहार सुसार गरिदिने, रोगीबिरामी हुँदा औषधीउपचार खुवाई दिने र बुढेशकालमा सेवा गर्नकै लागि पनि आफैसंग राखेको बताउँदै खर्च र गुजाराको प्रसंग निकाल्दा भनिन्, अलि अलि व्यापारबाट आइहाल्छ, अलि अलि एकलभत्ताको पैसाले गुजारा हुन्छ ।

कहिलेकाहिं छोराहरुलाई गार्होसार्हो पर्दा त्यहि पैसाबाट जोगाएको केहि रकम उनले यताबाट उता पठाउने पनि गरेकी छन् । आखिर आमाको मन् न हो, छोराछोरीले दुःख अभाव पाएको सुन्दापनि मन त कटक्कै खाँदो हो, भलै आफ्नो अवस्था जस्तोसुकै किन नहोस् । एकल महिलाको भत्ता पाउन थालेको उनले अहिले १५ वर्षजति भयो ।

तरपनि फरासिली स्वभावकी रामकलाले समाज र छरछिमेकबाट कहिल्यै होचो निचो व्यवहार सुन्न र सहन परेन । अरुसंग माग्ने र हात थाप्ने भएपो अरुले हेप्ने चेप्ने हुन । उनी भन्छिन् आने दुःखजिलो गरेर, आफ्नो मिहिनेतको कमाई खाएपछि कसले किन हेप्ने हुन र? मनको वह कसैलाई नकह भन्छन । ठीक यसैगरी मनमा पीडा र वेदनाका अनेकौं अनुभवशरुलाई गुजुल्ट्याएर राखेकी छन् उनले पनि ।

भन्छिन, मनका पीडा त मनमै हुने हो, बाँचुञ्जेल सबैसंग हाँसोठट्टा गर्ने हो, मरिलानु के छ र ? जसले अरुलाई एक्लो, दुःखी र गरीब देखेर हेलाहोचो गर्छ भोलि कुनै दिन उसले पनि यस्तै नियति व्यहोर्नपर्छ भन्नेमा उनलाई ठूलो विश्वास छ ।

तीन बीस उमेर पुग्न लाग्यो उनको, तर शारिरीक फूर्ति र जोश जाँगर जस्ताको त्यस्तै छ उनको । ८ वर्षसम्म गरेको व्यवसायबाट हालसम्मका सबै खर्च कटाएर ५० हजारजत्ति बचत गरेर राखेको उनले खुशीका साथ सुनाइन् ।

तपाईको प्रतिक्रिया