कर्णाली कोरिडोरको पहिरो हटाउन सुरु

कालीकोट,१७  साउन  ।

हिल्सा जोड्ने कर्णाली कोरिडोर बन्द भएको आठ दिनपछि पचालझरना गाउँपालिकाले सो सडक सञ्चालनको प्रयास थालेको छ । सो कोरिडोरका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । अहिले स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । पचालझरना गाउँपालिका–८, लाफा खण्डमा अघिल्लो आइतबार पहिरो आएको थियो ।

ठाउँठाउँको हिलाम्मे सडक पार गरे पनि सयौँ यातायातका साधान लाफा पहिरोमा थुनिएका थिए । कोरिडोर बन्द भएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि गाउँपालिकाले पहिरो पन्छाउन थालेको हो । गाउँपालिका अध्यक्ष देवजङ्ग शाहीले सडक अवरुद्धका समाचार प्रकाशित भएपछि स्काभेटर पठाएर पहिरो पन्छाउने काम सुरु गरेको बताए  ।

उनले बुधबारसम्म सडकको पहिरो हटाएर यातायात खुलाउने योजना रहेको जानकारी दिए  । पचालझरना गाउँपालिका–८ मा पर्ने सो क्षेत्रमा सडकमै पानीमा मूल फुट्ने भएकाले दैनिक हिलो बगिरहन्छ । त्यसैमा माथिबाट ठूलो पहिरो झरेका कारणले थप समस्या भएको छ ।

स्काभेटर चालक डम्बर तामाङले पहिरो हटाउँदै गर्दा थप पहिरो झर्ने गरेकाले काम केही ढिलो भइरहेको बताए  । पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले यो क्षेत्रमा वैकल्पिक सडक हुनुपर्ने बताए  । उनले सधैँ पहिरो गइरहने, तल पहिरो पन्छायो, माथिबाट थप आएर सडक पुर्ने हुँदा वैकल्पिक सडकको आवश्यकता भएको बताए  ।

कर्णाली करिडोरमा कालीकोट खण्ड ४२ किलोमिटर छ । त्योमध्ये छ ठाउँमा सडकको नामोनिसाना छैन । फुगाड खोलामा पुल नभएकाले पानी बढेपछि गाडी वारपारसमेत गर्न सक्दैनन् । ठाडो खोला भएकाले गाडी बगाउने खतरा हुँदा चालकले जोखिम मोल्न चाहँदैनन् । कोरिडोरमा नाला र खोलामा पुल नभएका कारणले बर्सेनि सर्वसाधारणले दुःख पाइरहेका छन् ।

स्राेत ः गाेरखापत्र

तपाईको प्रतिक्रिया