सम्पादकीय : कलंक मेटाऔं

सुर्खेत १५ साउन ।

प्राचीनकालमा मानिसहरुलाई कुनै वस्तुसरह खरिदविक्री हुने गरेका किस्सा कहानी हामीले प्रशस्तै देखे सुनेका छौं । खासगरी यौन शोषण र दासताका लागि बढिजसो महिला र बालबालिकाहरुको खरिद परोख्त हुने क्रम अहिलेपनि मानवसभ्याताकै कलंकका रुपमा रहँदै आएको छ । अहिले २१ औं शताब्दीमा पनि कुनै वस्तुभाउ सरह मान्छेको समेत खरिदविक्री हुन्छ भन्दा अनौठो र अपत्यारिलो लाग्नसक्छ ।

तर यो वास्तविकता हो । मानव बेचबिखन भनेको कुनै पनि उद्देश्यले मानिसलाई बेच्ने वा किन्ने भन्ने बुझिन्छ । कुनै पनि व्यक्तिलाई जर्बजस्ती तथा धोका दिएर शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्यलाई नै मानव बेचबिखन तथा ओसारपसार भनिन्छ ।

दूरदराजका ग्रामीण क्षेत्रका अशिक्षित वा अर्धशिक्षित युवायुवतीहरुलाई विदेशमा राम्रो काम दिलाई दिने, जीवनस्तरमा परिवर्तन आउने गुलिया सपना बाँड्दै झुक्याएर ढाँटेर वेचविखन गरिनेमा बालबालिका र महिला बढि जोखिममा छन् भने अवैधानिक ढंगले मानव अंगको विक्रीवितरण गर्नका लागि पुरुषहरुपनि पर्ने गरेका छन ।

अहिलेपनि विभिन्न प्रयोजनका मानव बेचविखन सम्बन्धित संगठित अपराध हुँदै आईरहेको छ। साथै मानव बेचविखनमा महिला तथा बालबालिका मात्रै हुने गरेकोमा ठूलो संख्या पुरुषहरु अंग प्रत्यारोपणका लागि तथा वैदेशिक रोजगारीको नाममा बेचविखन तथा मानव तस्करी भइरहेको छ। मानव अधिकारको हिसावले वैदेशिक रोजगारमा जाने महिलाको शोषण्को अवस्था भयावह छ।


भारतमा हुने बेचविखन अहिले सबै मुलुकमा हुने विशेष गरी खाडी तथा दक्षिणपूर्वी एशिया तथा द्वन्द्वग्रस्त क्षेत्रमा समेत हुने गरेको छ। एकीकृत तथ्यांक प्रणालीको अभावका कारण बेचविखनका विभिन्न स्वरुपहरुको परिमाणलाई यकिन गर्न कठिन रहेको छ । बहुसंख्यक वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरु जवरजस्ती काम गर्न बाध्य भएका वा श्रम शोषणका लागि बेचविखन भएको पाइन्छ।

वैदेशिक रोजगारीका नाममाहुने बेचविखन विभिन्न आधार र प्रमाणहरुबाट देखिएका छन । मानव बेचविखन तथा आप्रवासी सम्वन्धी ऐन कानूनको कार्यान्वयनको अवस्था सन्तोषजनक पाइँदैन। निगरानी र अनुगमन अझै प्रभावकारी हुन नसकेको पाइन्छ। नेपाल सरकारको उद्धार, स्वदेश फिर्ती जस्ता कार्यहरु अझै बढि प्रभावकारी हुन नसकेको पाइन्छ।

न्यायिक सम्बोधन भने केही उत्साहजनक नै पाईएको छ । मानव वेचविखन र गैरकानूनी ओसारपसारलाई नियन्त्रणका गर्नका लागि ग्रामीणस्तरमा व्यापक जनचेतना जगाउँदै यस्ता सम्वेदनशील विषयलाई पाठ्यक्रममै समेटनुपर्छ । नेपाल प्रहरीको संरचनाभित्रै छुटै सेल गठन गर सबै साना नाका तथा विन्दुहरुमा सीमा निगरानी केन्द्रहरु स्थापना गर्नुपर्छ ।

वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई कम्तीमा ३ महिनाको रोजगारसँग सम्बन्धित व्यवसायिक तालिम प्रस्थान पूर्व दिने व्यवस्था मिलाउनु पर्छ भने उद्धार तथा स्वदेश फिर्ती कार्यलाई द्रुत गतिमा गर्नेगरी संयन्त्र बनाउनुपर्छ । वडादेखि केन्द्रसम्मका यी संरचनाहरुको सक्रिय भूमिका र समन्वय सकेमात्र हामीले  २१ औं शताब्दीमा मानवसभ्यताको कलंकका रुपमा रहेको मानव
वेचविखनजस्तो जघन्य अपराधलाई निमूल गर्नसक्छौं ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार