कर्णालीमा विपद्को त्रास : तीन वर्षमा दुई हजारभन्दा बढि विस्थापित, अर्बौको क्षति

सुर्खेत, २ साउन ।
गत असार ३१ गते जुम्लाको भित्रिखोला जलविद्युत आयोजनाको घरमा पहिरो गयो । वर्षाका कारण हिमा गाउँपालिका–१ स्थित जलविद्युत आयोजनाको घर भासिंदा त्यहाँ रहेका प्राविधिकसहित तीनजनाले अनाहकमा ज्यान गुमाउन पर्यो । पहिरोमा पुरिंदा लघुजलविद्युतमा कार्यरत प्र ाविधिक गोरखबहादु र रावतकी श्रीमती बिमला रावत, छोराहरु धनबहादुर रावत र रघुवीर रावतको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी गत असारमै आएको बाढीका कारण डोल्पा सदरमुकाम दुनैमा २४ परिवार विस्थापित भएका छन् ।

डोल्पाको ठूलीभेरी नगरपाालिका–३ दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवारलाई विस्थापित गरायो । बाढीको वितण्डा त्यतिमा मात्र सीमित रहेन । बाढीले अरु कतिपयका घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत बगाउदा झण्डै एक करोड ५० लाख बराबरको क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

विपद्को जोखिमले कर्णालीलाई वर्षेनी यसैगरी सताउनेगर्छ । गत आर्थिक वर्ष २०७८/०७९ को जेष्ठ मसान्तसम्म मात्रै कर्णालीमा एक हजार एक सय १६ वटा विपद्का घटना भएका छन् । यी घटनाहरुमा सबैभन्दा धेरै जोखिम बाढी–पहिरो कै रहेको सरकारी विवरणले देखाउँछ । २०७६/०७७ यता कर्णालीमा कुल दुई हजार चार सय ३४ विपद्का घटना भएका छन् ।

जसमध्ये सबैभन्दा धेरै बाढीपहिरो नै छन् । कर्णालीमा २०७६/०७७ यता कुल चार सय ८७ स्थानमा पहिरोका कारण क्षति पुगेको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ । त्यसैगरी तीन सय ८७ ठाउँमा बाढीका कारण धनमालको क्षति पुगेको देखिन्छ ।

२०७६/०७७ यता विपद्मा परि तीन हजार एक सय ३० घरमा क्षति पुगेको छ । विपद्मा परी २०७६÷०७७ यता दुई हजार दुई सय ४६ चौपायामा क्षति पुगेको छ । प्राकृतिक विपदिले एक सय ८० नागरिकको मृत्यु र दुई सय ५१ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । यसैगरी विपद्का कारण दुई हजार एक सय १६ नागरिक विस्थापित भएका छन् ।

पूर्व तयारीमा प्रदेश सरकार
कर्णालीमा जोखिमका समयमा क्षति न्यूनिकरण, उद्वारलगायतका विषयमा कर्णाली प्रदेश सरकार तयारी अवस्थामा रहेका दाबी गर्छ। विपद्को समयका लागि कर्णालीमा पूर्व तयारीका रुपमा प्रदेशमा विपद् पुर्वाधार तथा प्रतिकार योजना बनिसकेको मन्त्रालयको भनाई छ ।

योजना अनुरुप विपद् जोखिम क्षेत्रको पहिचान, उद्वार पुनःस्थापनालगायतका कामहरु योजनावद्व रुपमा समावेश भएको मन्त्रालयले जनाएको छ । यसका साथै विषयगत समूहले समेत विपद्का समयका लागि आ–आफ्नो योजना निर्माण गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकाया बताउँछन् । विषयगत समूहले विपद्का समयमा आ–आफ्नो क्षेत्रमा सक्रिय हुने रोकायाको भनाई छ ।

उद्धार, स्वास्थ्य, खानेपानी, शिक्षा, संरक्षण, खाद्य सुरक्षालगायतका विषयमा विषयगत समितिहरु रहेका छन् । उनले भने, विभिन्न मन्त्रालयगत तथा सम्बन्धित विषय विज्ञ नेतृत्व रहेको यस विषयगत समूह विपद्का समयमा आ–आफ्नो क्षेत्रमा सक्रिय भएर काम गर्छन ।’ यसका साथै वीरेन्द्रनगरमा विपद्का समयका लागि भनेरै वन्दोवस्तीका सामाग्री संकलन तथा भण्डारण समेत गरिएको छ ।

२०७९ वैशाख यता गृहमन्त्रालयबाट प्राप्त वन्दोवस्तीका सामाग्री वीरेन्द्रनगरमा तयारी अवस्थामा राखिएको रोकायाले जानकारी दिए । विपद् जोखिमका क्षेत्रमा काम गर्ने अरु विभिन्न संघसंस्थाले समेत उद्धारलगायतका बन्दोवस्तीका सामाग्री तयारी अवस्थामा राखेको रोकायाको भनाई छ । यसका साथै अविरल वर्षा तथा विपद् जोखिमका समयमा मोबाइलको “एसएमएस’ मार्फत सूचना प्रवाह सेवा समेत सुचारु भएको छ ।

रोकायाले भने, “विपद् खोजिम रहेकाहरुलाई पूर्व सावधानी अपनाउन एसएमएस मार्फत सूचना प्रवाह गर्ने गरेका छौं ।” कर्णालीका जिल्लाहरुमा जिल्ला विपद् व्यवस्थापन समिति तथा कर्णालीका विषयगत समूहको नियमित बैठकमार्फत पनि समन्वय भईरहेको उनले जानकारी दिए । विपद्का समयमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत अरु सामाजिक संघससंस्थाहरुसँग छलफल तथा सहकार्य सहितको योजना भईरहेको रोकाया बताउँछन् ।

सबैभन्दा जोखिममा हुम्ला
त्रिवर्षिय तथ्यांक अनुसार २०७६/०७७ यता कर्णालीमा कुल दुई हजार चार सय ३४ वटा विपद्का घटना घटेका छन् । जसमध्ये हुम्लामा मात्र चार सय ५५ वटा विपद्का घटना घटेका छन् । विपद्का यी घटनामा ६ सय ९३ घरपरिवारमा क्षति पुगेको छ ।

जसमा ६ जनाको मृत्यु, पाँच जना घाइते, दुई बेपत्ता र ६७ जना विस्थापित भएको प्रहरीको तथ्यांक छ । यसैगरी सुर्खेत र जाजरकोटमा समेत धेरै विपद्को घटना घटेको देखिन्छ । तीन आर्थिक वर्षको अन्त्यसम्ममा जाजरकोटमा चार सय ४१ वटा विपद्का घटना घटेका छन् ।

यी घटनामा ३० जनाले ज्यान गुमाएका छन् भने ३७ जना घाइते र ९१ जना विस्थापित भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ । यसैगरी सुर्खेतमा मात्र तीन आर्थिक वर्षमा तीन सय ३८ वटा विपद्का घटना घटेका छन् । यी घटनामा १३ जनाको मृत्यु, २२ घाइते, दुई जना बेपत्ता र ६७ जना विस्थापित भएका छन् ।

जिल्लागत रुपमा हेर्दा दैलेखमा एक सय ९०, रुकुम पश्चिममा दुई सय ४, सल्यानमा दुई सय ५७, कालिकोटमा दुई सय ४४, जुम्लामा एक सय ३१, मगुमा एक सय २९, डोल्पामा ४५ वटा विपद्का घटना घटेका छन् । तीन आर्थिक वर्षमा कर्णालीमा विपद्का कारण विपद्का कारण करिव तीन अर्ब २९ करोड १२ लाख ५५ हजार रुपैयाँभन्दा बढी धनमालको क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया