जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता

हुम्ला,२ साउन ।

जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता गएको पाइएको छ । सिमकोट गाउँपालिका –४ को उच्च जोखिममा रहेको स्याम्ने गाउँको बस्ती बिस्तारका लागि आएको बजेट फिर्ता गएको हो ।

गाउँका स्थानीय बिकास महतले बस्ती विस्तारका लागि आएको बजेट फिर्ता गएको बताए । सो गाउँ स्याम्ने खोलाको किनारमा रहेको कारण पटक पटक पहिरो गइरहने भएका कारण जोखिममा छ । २०७० सालमा पहिरोले मानवीय क्षति नभए पनि भौतिक क्षति गरेको थियो । त्यसपछि गाउँवासीले बस्ती विस्तारको माग राख्दै आएकाक थिए ।

स्थानीयले जग्गा ब्यवस्था गर्न नसक्नुु र डीपीआरअनुुसार घर बनाउने बजेट पनि कम भएको कारण बस्ती बिस्तार नभई बजेट फिर्ता गएको बताए । उनले घर निर्माणका सामग्री महँगो पर्ने तर केही लगानी सेवाग्राहीले गर्न नसक्ने भएका कारण बजेट फिर्ता पठाउनुुको अर्को विकल्प नभएको बताए । स्याम्नेबासीको चाहना जग्गा खरिददेखि घर निर्माण सरकारले नै गरिदेओस् भन्ने थियो ।

कार्यक्रम परे पनि अपुुग बजेट भएकाले स्याम्नेबासीहरु बाढी पहिरोको डरमा बस्नुुपर्ने बाध्यता हट्न सकेन । सिमकोट गाउँपालिकाको कार्यालयका सबइन्जिनियर सुुवास भण्डारीले सङ्घीय सरकारको उच्च हिमाली बस्ती विस्तारका लागि आएको एक करोड पचास लाख रुपियाँको बजेट काम हुन नसकेपछि फिर्ता गएको बताए ।

उनले उक्त बस्तीका १८ घरधुरीका लागि प्रतिघर पाँच लाख ३३ हजार बजेट विनियोजित भएकोमा काम हुन नसकेपछि फिर्ता गएको बताए । बस्ती विस्तारको डीपीआरअनुुसार डीपीसीसहितको घर निर्माण हुनुुपर्ने थियो ।

स्रोत : गोरखापत्र

तपाईको प्रतिक्रिया