लघुकथा – पुरस्कार

मणिकुमार पोखरेल
अध्यक्ष
लघुकथा समाज कर्णाली प्रदेश ।

जाडोको बेला र फुर्सदिलो अवस्थाको फाइदा उठाउँदै घाममा बसेर पुस्तक पढिरहेको थिएँ । “नमस्कार सर!“ परिचित स्वर कानमा ठोक्कियो । को रहेछ ? मनमनै सोचें र टाउको उठाएर हेरें । कला क्षेत्रमा रहेर केही दिन सँगै काम गरेका साथी रहेछन् ।

“नमस्कार ! नमस्कार !! “बसौं न!आदर पूर्वक मैले भनें । “हैन सर! अलि हतारमा छौं, यहाँ सरलाई देखें, बाटो नकाटौं भन्ने लागेर सरको व्यस्ततामा अवरोध पुर्याएँ, माफ गर्नुहोला“– उनले भने । “खुसी लाग्यो “मैले भनें । अनि, उन को हुनुहुन्छ नि ? “उनको साथमा एकजना खाइलाग्दा भलाद्मीजस्ता मानिस देखेर मैले सोधेँ । उनी प्रशासन तर्फको ठुलै ओहदामा पुगेर निवृत्त भएका मानिस रहेछन् । कुरैकुरामा उनी साहित्य क्षेत्रमा प्रदान गरिने राष्ट्रिय स्तरकै पुरस्कारबाट सम्मानित साहित्यकार पनि रहेछन् ।

आफू कलाक्षेत्रमा समर्पित भएको भए पनि साहित्यप्रति रूचि भएको व्यक्ति भएको नाताले मैले उनलाई आफू सम्बद्ध संस्थामा गइदिन आग्रह गरें । उनले पनि सहर्ष स्वीकार गरें । हामी हाम्रो संस्थातिर लाग्यौं । संस्थामा केही दिन अघि प्रजातन्त्र दिवसको अवसर पारेर नृत्य प्रदर्शन गर्ने निर्णय भएको थियोे । सोही क्रममा अभ्यास चलिरहेको थियो ।


मैले उपस्थित सबै साथीहरूलाई उनको बारेमा जानकारी गराएँ । उनको स्वागतमा उठेका नृत्यनिर्देशक साथी विक्रमले तुरुन्तै आफ्नो कलाकारिता देखाउन थालिहाले । अनपेक्षित रूपमा उनले देखाएको कलाकारिताबाट उत्साहित भएर ती भलाद्मीले हुकुम प्रवांगी शैलीमा भने– “आहा ! तपाईं त गज्जबको कलाकार हुनुहुँदो रहेछ । ल ! हाम्रो संस्थाबाट प्रदान गरिने रु.पच्चीस हजारको प्रतिभा पुरस्कार मैले तपाईंलाई दिने घोषणा गरें ।“हिंड्ने बेलामा उनले मतिर हेर्ने रुचि देखाएनन् ।

विक्रमले भने निकै खुसी भएर मलाई अङ्कमाल गरे । आफ्नो संस्थाका सबैजनाले एकअर्कामा खुसी बाँड्यौं । भोलिपल्टका प्रायः सबै अखबारहरूमा आकर्षणका विषय विक्रमजी र उनै भलाद्मी व्यक्ति थिए । उत्सुकता पूर्वक अखवारमा आँखा दौडाएँ ।

अखवारहरूले उनै भलाद्मीको संरक्षकत्व रहेको अमुक संस्थाको बारेमा विस्तृत चर्चा गर्दै उनलाई महान व्यक्तिको रूपमा उभ्याएका थिए । तर अखवारहरूमा लेखिएको “संस्थाको पुरस्कार छनौट समितिमा भएको व्यापक छलफल र निर्णयपछि कला र साहित्यका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने प्रतिभा पुरस्कार कलाकार बिक्रमलाई प्रदान गर्ने घोषणा गरिएको हो “ भन्ने वाक्यांशले भने मेरो मथिङ्गललाई अझैसम्म घुमाइरहेको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार