“खसी बेचेर हप्तामा करोड आम्दानी गर्ने योजना छ”

कर्ण बहादुर बुढाथोकी/नगर प्रमुख (बनगाड कुपिण्डे नगरपालिका , सल्यान)

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचनबाट नयाँ जनप्रतिधिहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुबाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् । भने जनप्रतिनिधिहरु पनि त्यहि अनुसारका बाचा गरेर जनताबाट अनुमोदित भएका छन् । स्थानीय सरकारले आफ्नो नीति, कार्यक्रम र बजेट पनि ल्याइसकेका छन् ।

जनप्रतिनिधिहरु कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् । शिक्षा, स्वास्थ्य र रोजागरी सिर्जना गर्न कस्ता योजना बनाएका छन् त ? यीनै विषयमा केन्द्रीत रहेर सल्यानको बनगाड कुपिण्डे नगरपालिका प्रमुख कर्ण बहादुर बुढाथोकीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाई हिजो आज के काममा व्यस्त हुनुहुन्छ ?
असार महिनाको अन्तिम हुन थालेकाले पुरानाका कामहरुको समिक्षा र नयाँ योजना कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफलमा छु । भने जनतासँगको भेटघाट उहाहरुको समस्या सुन्ने काम भइरहेको छ ।

नीति, कार्यक्रम र बजेट पनि ल्याइसक्नुभएको छ, कुन क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ?
हामीले आउँदो बर्षको नीति कार्यक्रम र बजेट ल्याइसकेका छांै । हामीले पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा दिएका छौं भने त्यसपछि स्वास्थ्य र कृषि पशुपालनमा दिएर नीति कार्यक्रम र बजेट ल्याएका छांै ।

तपाईले आफ्ना प्रतिवद्धता कसरी पु्रा गर्नुहुन्छ ?
नेपालका राजनितिक दलहरुले काल्पनिक कुरा गरेर जनतालाई भ्रममा पार्ने काम गरेका छन् । खै शिक्षा, स्वास्थ्य सुधार प्लान खै ? केही गर्छु भन्नेहरुलाई पनि काम गर्ने वातावरण छैन । यस्ता त धेरै समस्याहरु छन् । तर मैले जनताको बिचमा आधारभुत विकास पुर्याउँछु भनेर प्रतिवद्धता गरेको छु ।

मैले गरेको प्रतिवद्धताहरु मेरो कार्यकालमा पुरा गर्छु । विगतको सरकारले गरेका राम्रा कामलाई आत्मसाथ गर्ने र गलत कामलाई करेक्सन गरेर हामी अगाडी बढ्छौं । मैले भनेनि जनतालाई आधारभुत विकासमा पहुँच पुग्नेगरी म काम गर्छु ।

कृषि उत्पादनमा बृद्धि, त्यसको बजारीकरण कसरी गर्नुहुन्छ ?
हाम्रो बजेटको प्राथमिकता अन्तरगत कृषि र पशुपालन पनि हो । अहिलेसम्म एउटा बाख्रा पाल्ने, निर्वाहमुखी खेती गर्ने गरिएको छ । यसमा हामी पुरै परिवर्तन गरेर व्यवसायिककरणको बाटोमा लाग्छौ । हाम्रो वनगाड कुपिण्डे नगरपालिका बाख्रापालनको लागि उपयुक्त ठाउँ हो ।

हामी व्यक्तिलाई होइन सामुहिक रुपमा किसानलाई बाख्रा दिएर व्यवसायिक बाख्रापालनलाई जोड दिएका छौं । २५ जनाको समुह बनाएर बाख्रा वितरण गरेका छौं । हामीले केही समुहलाई बाख्रापालन गरिसकेका छौं । हाम्रो पालिकाबाट हप्तामा एक ट्रक खसी पठाउने र त्यसबाट हप्तामा एक करोड आम्दानी गर्ने हाम्रो योजना छ ।

त्यसैगरी कृषि क्षेत्रमा पनि हामीले प्रत्येक वडामा पकेट क्षेत्रनै बनाएर युवाहरुलाई बेमौसमी तरकारी खेतीमा जोड दिने, खाद्य बाली उत्पादन पनि त्यही अनुसार गर्ने योजना बनाएका छौं । अब हाम्रो अहिलेसम्म बजारिकरण हुन नसक्दा किसान चिन्तित छन् । बजारिकरण पनि पालिकाबाट गरिदिने र पालिकामा एउटा कोल्ड स्टोर निर्माण गर्ने हाम्रो योजना छ । हाम्रो नगरपालिका विगतको जस्तो लथालिङ्ग भएर अब चल्दैन ।

रोजगारी सिर्जना गर्ने तपाईका योजना के हुन ?
रोजगारीको सन्दर्भमा पनि हामीले धेरै योजनाहरु निर्माण गरेका छांै । मैले अघि भनेको जस्तो स्वयंसेवक शिक्षक राखेर केहीलाई शिक्षा क्षेत्रमा रोजगारी दिन्छौं । स्वास्थ्य क्षेत्रमा पनि त्यसैगरी नै रोजगारी दिने हाम्रो तयारी छ ।

अझै भन्दा कृषि र पशुपालन क्षेत्रमा हामीले पालिकाभरका धेरै युवाहरुलाई स्वरोजगार बनाउँदै छांै । केहीलाई हामी सिपमुलक तालिम दिएर पनि दक्ष बनाएर स्वरोजगार बनाउनेगरी योजना बनाएका छौं ।

शिक्षाको गुणस्तर र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच कसरी पुरयाउँनुहु्न्छ ?
शिक्षा क्षेत्रमा संघीय प्रणाली अनुसार संचालन हुन सकेको छैन । सबै अधिकार काठमाडौंमा छ । शिक्षक दरबन्दी नदिने र गुणस्तरिय शिक्षाको कुरा गर्ने ? यस्तो अवस्थामा हामीले शिक्षामा सुधार गर्नेगरी हामीले पहिलो प्राथमिकता शिक्षालाई दिएका हौँ । संघीय शिक्षा ऐन बनाइदिनुपर्यो ।

हाम्रो पालिकामा दरबन्दी अनुसारका शिक्षक छैनन् । यसको लागि हामी स्वयंमसेवक शिक्षक राखेर दरबन्दी पुरा गरी शिक्षाको मौलिक हकलाई कार्यान्वयन गछौं । यसअघि शिक्षा क्षेत्र लथालिङ्ग अवस्थामा छ । यसमा गुणस्तर कायम गर्ने छौं । शिक्षामा हामी नीतिगत सुधार गरेर हामी अगाडी बढ्छौं ।

स्वास्थ्य क्षेत्रको कुरा गर्नुहुन्छ भने हाम्रो पालिकामा सबै नागरिक स्वास्थ्यको पहुँचमा छैनन । अस्पताल छन् । स्वास्थ्यकर्मी छैनन, यसको समाधानको लागि संघीय र प्रदेश सरकारसँग हामी समन्वय गरेर आधारभूत स्वास्थ्य सेवा जनताको पहुँचमा पुरयाउँछौ । अर्कोतर्फ पालिका स्तरिय १५ शैयाको अस्पताल बनाउनेगरी हामी लाग्छौं । यसले सबै नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने छैनन ।

तपाईको प्रतिक्रिया