“युवालाई सिप र पुँजी दिएर गरिखाने बनाउँछौं”

पुष्प वादी
नगर प्रमुख/चौरजहारी नगरपालिका, रुकुम पश्चिम

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचनबाट नयाँ जनप्रतिधिहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुबाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् । भने जनप्रतिनिधिहरु पनि त्यही अनुसारका बाचा गरेर जनताबाट अनुमोदित भएका छन् ।

स्थानीय सरकारले आफ्नो नीति, कार्यक्रम र बजेट पनि ल्याइसकेका छन् । जनप्रतिनिधिहरु कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्न कस्ता योजना बनाएका छन् त ? यीनै विषयमा केन्द्रीत रहेर रुकुमको चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाई हिजो आज के काममा व्यस्त हुनुहुन्छ ?
अहिले अब हामी बजेट निर्माण गरी बजेट पारित गरिसकेका छौं । भने त्यो बजेटलाई कसरी कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा केन्द्रीत छांै ।

नीति, कार्यक्रम र बजेट पनि ल्याइसक्नुभएको छ, कुन क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ?
पहिलो प्राथमिकता हाम्रो शिक्षा छ, अनि दोश्रोमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छांै भने तेस्रोमा कृषि, पशुपालन र रोजगारलाई प्राथमिकता दिएका छौं । किनभने मानिसको सबैभन्दा अति आवश्यक क्षेत्रभित्र यी तीन वटा विषय पर्छन । शिक्षाको गुणस्तर कायम गर्दै स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउने र युवाहरुलाई उत्पादनमा जोड्ने हाम्रो नीति छ ।

यसअघिका जनप्रतिनिधिहरुले प्रतिवद्धताअनुसारको सबै काम पुरा गर्न नसकेको गुनासो छ, तपाईले त्यस्ता जनगुनासो नआउनेगरी आफ्ना प्रतिवद्धता कसरी पु्रा गर्नुहुन्छ ?
हाम्रो पालिकामा तपाईँले भनेजस्तो गुनासो थिएन । त्यस्तो नभएको हुँदा चौरजहारीमा माओवादी अर्थात म पुष्प बादीलाई जनताले जिताएका हुन । हामीले अघिल्लो सरकारको पालामा भौतिक निर्माणलाई जोड दिएका थियौँ । अधिकांश ठाउँमा भौतिक निर्माणको काम गरिसकेका छौँ । सबै ठाउँ सडक पुर्याएका छौँ अब त्यसलाई स्तर उन्नती गर्न बाँकी छ ।

त्यसैगरी हामीले टीनको छानामुक्त विद्यालय गराईसकेका छाँै । भने ८० प्रतिशत जनताको घरमा खानेपानी अघिल्लो सरकारले पुर्याइसकेको हुँदा यसअघिको सरकारले गरेको कामबाट जनता सन्तुष्ट भएर नै हाम्रो पार्टीबाट उम्मेदवार बनेको मलाई जनताले जिताएका हुन । आगामी दिनमा पनि यी पुराना कामलाई निरन्तरता दिँदै केही नयाँ योजना थपेर हामी अगाडी बढिरहेका छौँ ।


कृषि उत्पादनमा बृद्धि, त्यसको बजारीकरण कसरी गर्नुहुन्छ ?
विशेष गरेर कृषि र पशुपालनमा आत्मनिर्भर हुनेगरी हामी लागेका छौँ । पहिलो हाम्रो चौरजहारीको उत्पादन बाहिर निर्यात हुन्थ्यो । त्यो अवस्था पछिल्लो समय कम हुँदै गएको छ । कृषिलाई रोजगारी नमान्ने प्रचलनलाई चिरेर हामी अगाडी बढीरहेका छौँ । कृषि र पशुपालन व्यवसायिक रुपमा गरेको किसानलाई प्रोत्साहन दिने कार्यक्रम पनि बनाएका छौँ ।

जस्तै भैँसीपालन गरेर दुध उत्पादन गर्ने किसानहरुको लागि प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन दिनेगरी हाम्रो योजना छ । अहिलेको सन्दर्भमा कुरा गर्ने हो भने सबैले मासु र दुधको उपभोग गर्न सकेकै छैनन् । बजारिकरणको समस्या त्यति छैन । तथापी हामीले विभिन्न हाटबजार लगाउनेदेखि चिस्यान केन्द्रहरु बनाउने योजना बनाइरहेका छौँ ।

हामीलाई बजारिकरणको समस्या यस कारण पनि छैन, हाम्रो उत्पादन बाहिर पठाउन कुनै समस्या छैन । त्यसैले पहिलो त हामी उत्पादनमा जोड दिनेगरी लाग्छौँ । धेरै युवाहरुलाई त्यसतर्फ आकर्षित गर्छौ ।

रोजगारी सिर्जना गर्ने तपाईका योजना के हुन ?
रोजगारी सिर्जना भनेको हिजो हामीले जसरी कृषि प्रधान भनेर पढ्यौ । अहिले पनि हामीले त्यसै भन्दै छौँ । तर हामीले निर्वाहमुखि मात्र गर्यौ । रोजगारी भन्दा पनि हामीले स्वरोजगार बनाउनेगरी योजना बनाएका छौँ । अफिस बस्ने मात्रै रोजगारी होइन भन्ने कुरा युवाहरुलाई सचेत बनाएर उत्पादनमा लगाउँछौ ।

त्यसको लागि रकम अभाव भएर स्वरोजगार बन्न नसकेकाहरुलाई हामी नगरपालिकाको तर्फबाट ५० प्रतिशत लगानी समेत गरिदिन्छाँै । हामीले विभिन्न बैंकहरुसँगको समन्वयमा सहुलियत दरमा ऋण उपलब्ध बनाइदिने छौँ । युवाहरुलाई विभिन्न सीपमुलक तालिमहरु सिकाएर दक्ष बनाउँदै लगानी खोजिदिएर गरिखाने बनाउने हाम्रो योजना छ ।

शिक्षाको गुणस्तर र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच कसरी पुर्याउनुहु्न्छ ?
हामीले १३ वडामा स्वास्थ्य संस्था यसअघि नै पुर्याइसकेका छौँ । भने एम्बुलेन्स सेवा पनि सञ्चालन यसअघि नै गरिसकेका छौँ । अब हामीले १४ सयभन्दा धेरै गरिब तथा विपन्न वर्गलाई स्वास्थ्य बिमा गरिदिने योजना बनाएका छौँ । शिक्षामा हामी प्रविधिमैत्री बनाउने गरी एक कोठा एक ल्यापटप, एक ल्यापटप एक प्रोजेक्ट कार्यक्रम सञ्चालन गरी प्रविधिमैत्री शिक्षा बनाउने योजना छ ।

हामीसँग शिक्षक दरबन्दीको अभाव छैन । काम गर्दै पढ्दै गर्ने संघीय सरकारको कार्यक्रममा पनि हामीले सहयोग गर्ने छौँ । मैले अघि पनि भने हामी करिब ३० प्रतिशत बजेट शिक्षा क्षेत्रको लागि छुट्याएका छौँ । पहिलो चरणमा हामीले दुइवटा माविबाट प्रविधिमैत्री शिक्षाको शुरुवात गर्नेछौँ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार