“संघर्ष गरे मात्रै सफलता मिल्छ”

गंगा सिग्देल
अध्यक्ष, गुफाताल पशु तथा कृषि सहकारी संस्था लि., पञ्चपुरी–८, सुर्खेत ।

जसले जीवनमा संघर्ष र मेहेनत गर्छ, उ समाजको सफल व्यक्ति बन्छ, यस्तै मध्येका एक हुन सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ८ मा रहेको गुफाताल पशु तथा कृषि सहकारी संस्था लि. का अध्यक्ष गंगा सिग्देल । उनले सानैदेखि दुख गरेर पढिन । ८ पास पछि बिवाह भयो ।

अझै धेरै चुनौतीको सामाना गर्नुपर्यो । तर त्यस्ता चुनौतीका बाबजुत अहिले तीन सय जनाको नेतृत्व गर्दै सहकारीको अध्यक्ष हुन सफल भएकी छन् । आजको जम्काभेटमा उनै सिग्देलसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ः

चुनौतीपूर्ण बाल्यकाल
बुवा भवानी प्रसाद सिग्देल र आमा लिलादेवी सिग्देलको कोखबाट वि.स. २०४२ साल मंसिर महिनाको ७ गते पञ्चपुरी नगरपालिका वडा नम्बर ८ दुलालथायीमा गंगा सिग्देलको जन्म भयो । उनी घरको माइली छोरी हुन । उनका ८ भाईबहिनी छन् । उनका बुवाले कृषि कर्म गर्दथे । अनि उनको बाल्यकाल गाउँमै बित्यो । सानो कक्षापनि उनले गाउँमै पढिन ।

कक्षा पाँचसम्म दुलालथायी जनजागृत माविमा पढिन । ६ कक्षादेखि भने विद्याज्योती मावि बाबियाचौरमा पढेकी उनले त्यही माविबाट २०६० सालमा एसएलसी पास गरिन । उनको बाल्यकाल चुनौतीपूर्ण थियो । निम्न परिवारमा जन्मिएकी उनले ३ कक्षासम्म त खाली खुट्टा विद्यालय जानुपथ्र्यो । साँझ बिहान घरमा घाँस, दाउँरा काटेर विद्यालय शिक्षा उनले हाँसिल गरेकी हुन । तर उनको स्वभाव सबैसँग मिलनसार थियो, भने उनले आफ्नो पढाईलाई पहिलो प्राथमिकता दिन्थिन ।

शिक्षक बन्ने लक्ष्य
उनले शिक्षक बन्ने लक्ष्य लिएर पढीरहेकी थिइन । ८ कक्षा पास गरेपछि उनको बिवाह भयो । बिवाहपछि घरको जिम्मेवारी धेरै भयो । एकातिर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने भयो । तर उनले परिवारको साथ भने राम्रो पाएकी थिइन । उनले आफ्नो लक्ष्य जुनसुकै चुनौतीमा पनि पुरा गर्ने योजना बनाइन । तर सोचेजस्तो नभएपनि केही हदसम्म उनको लक्ष्य पुरा भयो ।

सिग्देलले अहिले बालविकासमा पढाउने काम पनि गर्छिन । सँगै सामाजिक काममा पनि उनले चासो लिएर काम गर्ने गर्छिन । सामाजिक काम र आफ्नो शिक्षण पेशालाई उनले सँगसँगै अगाडी बढाइरहेकी छन् । आफ्नो सामाजिक काम, शिक्षण पेशा र आफ्नो पढाईलाई उनले सँगसँगै अगाडी बढाइन । धेरै संघर्षका बाबजुत उनले जनता उच्च मावि विद्यापुरबाट २०६६ सालमा प्लस टु पास समेत गरिन ।

विभिन्न समूहरुमा सक्रिय
गाउँमा रहेका विभिन्न महिला, आमा समुहहरुको पनि उनले नेतृत्व गरेर काम गर्न थालिन । शुरुदेखि नै उनी सामाजिक कार्यमा चासो राख्ने र पछाडी पारिएका वर्गहरुलाई अगाडी ल्याउनुपर्छ भन्ने सोच राख्थिन । गाउँमा पनि त्यही अनुसार काम गर्ने भएकाले उनलाई विभिन्न सामाजिक कामहरुमा अगाडी लगाउन थालियो ।

उनले गाउँमा विकास निर्माणका काम समेत गरिन । प्रधानमन्त्री आधुनिकरण परियोजनामा रहेर समेत विभिन्न कामहरु गरिन । कृषकहरुलाई उत्पादनमा वृद्धि गर्न सिकाउनेदेखि सिंचाई नहरहरु निर्माण गर्नेसम्मका कामहरु उनको नेतृत्वमा सम्पन्न भए ।

त्यसपछि सहकारीमा प्रवेश
उनले गाउँमै रहेको गुफाताल पशु तथा कृषि सहकारी संस्था लि. मा सदस्य बनिन । उनलाई विभिन्न समूह र परियोजनामा काम गर्दा सहकारीको आवश्यकताको बारेमा थाहा भइसकेको थियो । अनि सहकारीमा प्रवेशपछि पनि उनले विभिन्न परियोजनामा काम गरेको अनुभवको आधारमा किसानहरुलाई उत्पादन कसरी बढाउने ? व्यवसायिक कसरी बन्ने भनेर सिकाउने काम गर्थिन ।

त्यसपछि उनको सहकारीमा आवश्यकता ठानेर उनलाई त्यही सहकारीको अध्यक्ष बनाइयो । २०७४ सालबाट सहकारीको अध्यक्ष बनेपछि उनले सहकारीमार्फत शेयर सदस्यहरुलाई विभिन्न तालिमदेखि नयाँ तरिकाले सहकारी संचालन गरिन । सहकारीमा अहिले करिब ३ सय जना शेयर सदस्यहरु छन् ।

सहकारीमार्फत किसानहरुलाई व्यवसायिक कृषि र पशुपालन व्यवसाय गर्न ऋणहरु दिने र विशेषगरी बेसार खेतीलाई जोड दिएर त्यसको बजारिकरण पनि सहकारीमार्फत हुने गर्दछ । विगतमा सहकारीको बारेमा थाहा नपाएर सहकारीमा नलाग्नेहरु पनि अहिले आवद्ध हुन थालेका छन् । भने धेरै व्यक्तहरु उद्यमी हुन थालेका छन् । विभिन्न चुनौतीबाट उनी तीन सय जनाको नेतृत्व गर्दै सहकारीको अध्यक्ष भएकी छन् भने आफुले पढाउने काम पनि गर्छिन ।

जीवनमा संघर्ष
संघर्ष गर्दै गएकी उनले शिक्षक बन्ने लक्ष्य राखिन । सँगै समाजिक काम गर्न रुची राख्थिन । सानैदेखि विभिन्न चुनौतीको सामाना गर्दै आएकी उनको ८ कक्षा पासपछि बिवाह भयो । बिवाहपछि उनले घरको जिम्मेवारी पुरा गनुैपर्ने एकातिर थियो भने अर्कोतर्फ आफ्नो पढाई पुरा गर्नुपर्ने थियो । छोराछोरी हुर्केपछि अझै धेरै संघर्ष गर्नुपर्यो ।

यती धेरै जिम्मेवारीका बिचमा पनि उनले सामाजिक कार्य पनि गर्थिन । घरपरिवार र उनको श्रीमानको राम्रो साथ पाएकी उनी आफ्नो पढाई पुरा गरेर उनी सामाजिक नेतृत्व गर्न थालिन । अनि सहकारीमा प्रवेश गरिन । अहिले सहकारीको अध्यक्ष भएर काम गरिरहेकी छन् ।

भने आफ्नो बाल विकासमा पनि पढाउँछिन । जीवनमा संघर्ष गरे मात्रै सफलता मिल्छ भन्ने उनले बुझेकी छन् । उनी भन्छिन, जीवनमा सफलता प्राप्त गर्न संघर्ष गर्न आवश्यक छ । अहिले पनि सामाजिक काममा रहेकी सिग्देलको आगामी योजना समाजसेवी बन्ने रहेको छ ।

तपाईको प्रतिक्रिया