आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने : ऊर्जामन्त्री भुसाल

काठमाडौं, १३ असार ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताए ।

आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको उनको भनाइ छ । उनले सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपियाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको जानकारी दिए  ।

आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिनेछ । मैले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु । देशभरका झन्डै ५२ लाख ग्राहक मध्ये करिव २६ लाख ग्राहकले यो सुविधा पाएका छन् , उनले भने ।

आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब ७०० देखि १००० मेघावाट विद्युत नेपालको विद्युत प्रणालीमा थपिँदै जाने उनले जानकारी  दिए ।
विद्युत थपिँदा आगामी २ वर्षका सुख्खा याममा समेत नेपालको विद्युतले नै आन्तरिक माग समेत धान्ने उनले बताए ।

स्रोत  : गोरखापत्र

तपाईको प्रतिक्रिया