फेरिए कक्षा कोठाको मुहार

काठमाडौं,१३ असार ।

ल्याम्मे भुइँ , च्यातिएर धुजा–धुजा बनेको कार्पेट। छरपस्ट कागजका टुक्रा। यस्तै कक्षा कोठामा बसिरहेका हुन्थे, ठाटीकाँध गाउँपालिका–६ स्थित जनआधारभूत विद्यालयको बाल विकास केन्द्रका बालबालिका। बाल विकास केन्द्रमा ४५ जना बालबालिका पढ्न आउँछन् । उनीहरु फोहोर र अव्यवस्थित कोठामा बसेर पढ्न बाध्य थिए। अब भने बाल विकास केन्द्रका बालबालिका सफा र चिटिक्क परेको कक्षा कोठामा बसेर पढ्न पाउनेछन् ।

विद्यालयका प्रधानाध्यापक पानसरा थापाले बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट सहयोग भएपछि बालबालिकाको बसाई व्यवस्थापनसँगै पठनपाठनमा सहज भएको बताइन् । ‘बालबालिकाहरु धुलोमा बसेर पढ्न बाध्य थिए, अब त्यो समस्या हटेर गएको छ,’ उनले भनिन् ।

यो सँगै गाउँपालिकाका अन्य सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट सहयोग गरेपछि कक्षा कोठाको मुहार नै फेरिएको छ । अब ठाटीकाँध गाउँपालिकाका सामुदायिक विद्यालयका कक्षा कोठा व्यवस्थित हुनेछन्।

ठाटीकाँध गाउँपालिकाको एक वटा समुदायमा आधारित बाल विकास केन्द्रसहित २१ वटा सामुदायिक विद्यालयको बाल विकास केन्द्र र कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट दिईएको हो ।

एईआएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जिविकोपार्जन (सहकार्य) परियोजनाले बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट सहयोग गरेको हो। एक वटा समुदायमा आधारित बाल विकास केन्द्रसहित २१ वटा सामुदायिक विद्यालय लागि एक हजार एक सय मिटर कार्पेट र एक हजार पाँच सय मिटर पिफर्म उपलब्ध गराईएको परियोजना संयोजक जीवराज रेग्मीले बताए ।

गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले बसाई व्यवस्थापनका लागि सहयोग भएको सामग्रीलाई प्रयोगमा समेत ध्यान दिन विद्यालयका शिक्षकहरुलाई आग्रह गरे। गाउँपालिकामा रहेका विद्यालयको व्यवस्थित गराउन आफूहरुले प्रतिबद्ध रहेको बताउँदै विद्यालय घेरबारदेखि रंगरोगन तथा शैक्षिक गुणस्तर बृद्धिसम्मका कामलाई प्राथमिकतामा राखिएको अध्यक्ष शाहले बताए ।

उपाध्यक्ष देवीराम बडुवालले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर बृद्धिमा जोड दिनुपर्ने बताए। प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद उपाध्याय कार्पेट र पिफर्म सहयोगपछि आगामी दिनमा विद्यार्थीहरुलाई सुरक्षित र व्यवस्थित कक्षा कोठामा अध्ययन गर्न पाउने वातावरण सृजना हुने बताए ।

बाल विकास केन्द्र तथा तल्लो कक्षाका विद्यार्थी धुलोमा बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य गर्न विद्यालयहरुलाई पिफर्म र कार्पेट दिईएको सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा बताउँछन् । हामीले देखेका छौं, सामुदायिक विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीहरुलाई प्राथमिकता दिएर कक्षा कोठा व्यवस्थापन गर्ने तर तल्लो कक्षाका बालबालिकाहरु धुलोमा बसेर पढ्न बाध्य हुन्छन्,’ उनले भने ‘अब बाल विकास केन्द्र र कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिकाहरुको भुईँ बसाई व्यवस्थापन अहिलेको आवश्यकता हो ।

स्रोत :  अन्नपुर्ण

तपाईको प्रतिक्रिया