मुगु कारागार भवन प्रयोगविहीन,

मुगु, १३ असार ।

मुगुमा कारागारको भवन हुँदा पनि यहाँका थुनुवा कैदीलाई छिमेकी जिल्ला जुम्ला स्थान्तरण गर्ने गरिएको छ । भवन निर्माण कार्य सम्पन्न भइसक्दा पनि शहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हालसम्म हस्तान्तरण नगर्दा यहाँका कैदीहरूलाई जुम्ला स्थान्तरण गरिएको हो । अहिले सो भवन प्रयोगविहीन छ ।

कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन सहरी डिभिजन भवन कार्यालयलाई बुझाइसकिएको छ । तर, नयाँ भवन जिल्ला कारागार मुगुलाई हस्तान्तरण नहुँदा विभिन्न प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूलाई जुम्ला, बर्दिया, दैलेख र अन्य जिल्लाका कारागारमा चलान गर्ने गरिएको कारागार कार्यालय मुगुले जनाएको छ ।


आशीष कन्स्ट्रक्सन गाँडेखोला कम्पनीले सो भवन निर्माणका लागि तीन करोड ५० लाख ३६ हजार ६ सय २८ रकमको ठेक्का लिई सम्झौताअनुसार काम गरी सहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगुस्थित प्रतिनिधि कर्णबहादुर रावलले बताए ।

कारागार कार्यालय मुगुका प्रमुख धनराज कार्कीका अनुसार भवन निर्माण भइसकेको र यहाँका कैदीबन्दीलाई राख्न भवन डिभिजन कार्यालय जुम्लालाई बारम्वार ताकेता गर्दा पनि कुनै सुनुवाइ भएको छैन । कारागार कार्यालय मुगुले दिएको जानकारीअनुसार यहाँबाट जुम्लासम्म कैदीलाई स्थानान्तरण गर्दा एक व्यक्तिलाई ८५ हजारदेखि एक लाखसम्म रकम खर्च हुने गरेको छ ।

आर्थिक वर्ष २०७० देखि हालसम्म कारागार कार्यालय मुगुको तथ्यांकअनुसार विभिन्न प्रकृतिका एक सय १८ कैदीबन्दीलाई जुम्लालगायत अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिएको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार