जर्मनीले नेपाललाई सहयोगमा निरन्तरता दिने

काठमाडौ, १३ असार ।

जर्मनीले नेपाललाई द्विपक्षीय विकास सहयोगमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले नेपाल–जर्मनी द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने प्रस्ताव सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिएका हुन् ।

उक्त विषयबारे जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नेपालका प्रधानमन्त्री देउवालाई पठाएको पत्र राजदूत प्रिन्जले बालुवाटार पुगेर हस्तान्तरण गरेका हुन् । नेपालको दिगो आर्थिक विकास, जलवायु तथा ऊर्जा र स्वास्थ्य क्षेत्रमा सहयोग जारी राख्न जर्मनीले चाँडै छलफल गर्ने पनि राजदूत प्रिन्जले बताएका छन् ।


‘जर्मनी र नेपाल साझा मूल्यमा विशेष गरी लोकतन्त्र, मानवअधिकार र बहुपक्षीयताप्रतिको हाम्रो प्रतिवद्धता बाँधिएको छ,’ उनले ट्वीटमा भनेका छन् । प्रधानमन्त्री देउवाले पनि उक्त पत्रलाई बुझेपछि आफ्नो धारणा बाहिर ल्याएका छन् ।

‘लामो समयदेखिको विकास साझेदारका रूपमा जर्मनीले हाम्रो प्राथमिकताका क्षेत्रहरू– ऊर्जा, स्वास्थ्य र व्यापार÷लगानीलगायत नेपाललाई सहयोग गर्दै आएको छ,’ देउवाले ट्वीटमा उल्लेख गरेका छन्, ‘म चान्सलर ओलाफ स्कोल्जलाई निरन्तर सहयोगको लागि फेरि प्रतिबद्धता गरेकोमा धन्यवाद दिन्छु । किनकि हामीले वातावरण मैत्री कोभिड पछिको आर्थिक पुनरउत्थान लागू गर्दछौं ।’

स्रोत : कान्तिपुर ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार